कर्णाली सरकार गठनमा कांग्रेसभित्र असन्तुष्टि, पद जोगाउन मूर्ति चोरलाई नियुक्त गरेको भूपेन्द्रको आरोप

कर्णाली सरकार गठनमा कांग्रेसभित्र असन्तुष्टि, पद जोगाउन मूर्ति चोरलाई नियुक्त गरेको भूपेन्द्रको आरोप

सुर्खेत : नेपाली कांग्रेस कर्णाली प्रदेश समितिको सभापतिमा पराजित भूपेन्द्र जङ्ग शाहीले मन्त्रिपरिषद् गठनमा असहमति जनाएका छन्।

उनले मूर्ति चोरको अभियोग लागेका गैरसांसद् मन्त्रीमा नियुक्त हुँदा एक जना पनि महिला मन्त्रीमा नियुक्त नहुनु गलत भएको बताए।

संविधानले ३३ प्रतिशत महिला सहभागिताको ग्यारेन्टी गरे पनि प्रदेश सरकारमा एक जना पनि महिला सहभागी नहुनु गलत भएको शाहीको तर्क छ।

सङ्घीयता विपरीत प्रदेश सरकार गठनमा केन्द्रले हस्तक्षेप गरेर निर्देशन दिएको उनले बताए। ‘प्रदेश नाम मात्रैको भयो,’शाहीले उकेरासँग भने,‘केन्द्रको निर्देशन हुने हो भने सङ्घीयताको दुरुपयोग भयो।’ 

मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो पद जोगाउन गलत नियत र छवि भएकालाई मन्त्रीमा नियुक्त गरेको भूपेन्द्रको आरोप छ।

मन्त्री नियुक्तिको विषयमा प्रदेश समितिमा छलफल समेत नगरेको एकलौटी आफू पक्षकालाई मन्त्री नियुक्ति गरेको आरोप भूपेन्द्रले लगाए।

‘अर्को पक्ष पेलिएको अवस्था छ,निरुत्साहित भएका छन् कार्यकर्ता,’उनले भने,‘पार्टी सभापति शेरबहादुर देउवा पक्षले अर्को पक्षलाई भित्तामा पुर्याउने प्रयास भएको छ।’

कर्णाली प्रदेशमा कांग्रेसका जीवन बहादुर शाही मुख्यमन्त्री छन्। प्रदेश सरकारमा कांग्रेसका यज्ञबहादुर बुढाक्षेत्री र हिमबहादुर शाही मन्त्री बनेका छन्। कांग्रेसका ६ मध्ये जीवनबहादुर मात्रै प्रत्यक्षतर्फ निर्वाचित सांसद हुन्। 

महेन्द्रबहादुर शाहीको सरकारमा पनि सहभागी यज्ञबहादुरले मन्त्रीमा दाेहाेरिने अवसर पाए। जीवन बहादुरको सरकारमा पनि उनले अवसर पाएका छन्। दिनबन्धु श्रेष्ठ यो पटक दाेहाेरिएनन्। समानुपातिकबाट सांसद बनेका झोवा विक र अमृता शाही मन्त्री बन्न सकेनन्।

माघ २४, २०७८ सोमबार १३:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।