देवलाल महर्जन जसले नि:स्वार्थ बनाइरहेछन् स्वार्थका सालिक
२०५१ साल मंसिर २१ गते रोल्पाको अँधेरी खोलामा क्षतविक्षत अवस्थामा एउटा शव भेटियो। त्यो शव थियो लैनसिंह खत्रीको।
हत्या घरेलु हतियार र भाला प्रयोगबाट भएको त्यो हत्याको जिम्मेवारी जनमोर्चाले लियो।
लैनसिंह नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए। उनी २०३३ सालमा रोल्पाको धवाङ गाउँ पञ्चायतको उपप्रधानपञ्च हुँदै २०३८ सालमा गाउँ पञ्चायतको प्रधानपञ्च भए।
कांग्रेस नेता खुमबहादुर खड्काको हितैसी रहेका लैनसिंह पार्टीका हरेका काममा सक्रिय रहन्थे।
त्यसैबीच उनी कांग्रेसले निकालेको पत्रिका पढ्दै गर्दा २०३९ मा प्रक्राउ परे। तीन वर्ष जेल बसे। प्रधानपञ्चको पद पनि खोसियो।
पञ्चायतले पत्रिका पढेकै आधारमा ज्यान मुद्दा खेपेका लैनसिंह जेलबाट छुटेपछि झनै उग्र प्रजातान्त्रिक भए। २०४२ पछि गाउँगाउँ पञ्चायतको विरोध गर्दै हिँड्न थाले। गाउँलेलाई भेला पार्ने र प्रजातन्त्रको महिमा सुनाउने उनको दैनिकी जस्तै बन्यो।
२०४६ को आन्दोलनमा पनि उनी सक्रिय भए। लैनसिंह समग्र रोल्पाको नेपाली कांग्रेसको प्रतिनिधि जस्तै थिए त्यतिबेला।
२०४६ पछि रोल्पामा जनमोर्चाको वर्चश्व बढ्दै थियो। खत्री भने प्रजातन्त्रका लागि लड्नुपर्छ, कम्युनिजमले यो देशको भलो गर्दैन भन्दै हिँड्थे। उनले जनमोर्चाको माहोल बिगार्दै नेपाली कांग्रेसको माहोल बनाउँथे।
प्रधानपञ्च समेत भइसकेका लैनसिंह राजाको चर्को स्वारमा विरोध गर्थे। जनतामा नयाँ वाद लादिरहेको मसालको पनि उनी विरोधमा कसर राख्दैनथे। त्यसैले उनी मसाल र उसको बाहिरी संगठनको तारोमा थिए।
गाउँगाउँ प्रजातन्त्रको बिगुल फुक्दै हिँड्ने क्रममा दिउँसै पनि अँध्यारो रहने रोल्पाको अँधेरी खोलमा उनको विभत्स हत्या हुन पुग्यो।
हत्यापछि उनका पाँच भाइ छोरा न्यायका लागि दैडधुपमा निस्किए। ‘हाम्री आमालाई न्याय देऊ’, उनीहरु यसै भन्थे। त्यसै क्रममा खत्रीका छोराहरु नेतादेखि प्रशासन सबैतिर धाए। कतैबाट उनीहले खोजे जस्तो न्याए पाएनन्।
उनीहरुले आफ्ना पितालाई सहिद घोषणा गर्नुपर्ने माग गरिरहेका थिए। तर राज्य लैनसिंहलाई मान्न तयार भएन। सशस्त्र युद्धमा परेर बितेको भनौं भने युद्ध सुरु नै भएको थिएन। राजनीतिक कारणले मारिएकालाई सरकारी स्तरबाटै सहिद घोषणा गरिहाल्ने परिपाटी नेपालमा बसिसकेको अवस्था पनि थिएन। पार्टीहरुले आन्तरिक रुपमा सहिदको नारा भने भजाइनै रहेका थिए।
२०५८ सालमा लैनसिंहका जेठा छोरा बेपत्ता भए। माइला छोराले गाउँ छाडे। पाँच भाइमध्ये बाँकी तीन जना पनि तितरबितर भए।
२०६२१/०६३ मा नेपालमा ठूलो राजनीतिक परिर्वतन भयो। त्यो राजनीतिक परिवर्तनले माओवादी द्वन्द्वमा मरेकालाई वीर सहिद मान्न राज्य तयार भयो।
०००
अँधेरी खोलामा जनमोर्चाको हमलामा मारिएका लैनसिंहका माइला छोरा मानबहादुर खत्री राजनीतिमा बाउको बिँडो थाम्दै थिए। गाउँबाट बाहिर रहे पनि उनी नेपाली कांग्रेसको राजनीतिमा सहभागी थिए।
उनै मानबहादुर २०५४ र २०५९ मा धवाङको गाविस अध्यक्ष बने। उनको राजनीतिक पहुँच पनि बन्यो। र, उनीहरुले भन्ने गरेको जस्तो आमालाई न्याय दिलाए।
माओवादी द्वन्द्वमा परेर बितेका सबैलाई राज्यले १० लाख रुपैयाँ दियो। द्वन्द्व सुरु हुनुपहिले नै बितेका लैनसिह खत्री पनि १७ हजार सहिदमध्ये एकमा परे।
जुन युद्धबाट लैनसिंह सहिद दरिए, त्यो युद्ध अगावै उनी यस धर्तीमा थिएनन्। उनै लैनसिंहका छोरा मानबहादुरले हाल आफ्ना पिताको नाममा गाउँमा एउटा प्रतीक्षालय बनाउँदै छन्।
‘म पनि कांग्रेसको कार्यकर्ता हुँ। रोल्पा नगरपालिकामा कांग्रेसले जितेको एक मात्र वडा नम्बर १० को म वडा अध्यक्ष हुँ,’ मानबहादुर भन्छन्, ‘मेरा बालाई जनमोर्चाका कार्यकर्ताले मारे। जनमोर्चा पनि त आखिर उही माओवादीकै एक रुप थियो। तिनै जनमोर्चा पछि माओवादी भएका हुन्। त्यसैले मेरा बा पनि सहिद हुन्। उनको सम्मानमा प्रतीक्षालय बनाउँदै छु, ‘सहिद लैनसिंह खत्री प्रतिक्षालय’। राज्यले सहिद मानेपछि योगदानको कदर गर्दै उचित सम्मान किन नगर्ने?’
०००
मानबहादुरले आफ्ना बालाई सहिद घोषण गराएर आमालाई दस लाखमा न्याय दिए। अब सहिदको संख्या दिनानुदिन बढ्दै गयो। सहिदको महत्व कम भयो भन्ने ठानेर हो वा किन हो, उनी प्रतीक्षालय बनाउन लागिपरेका छन्। र, मानबहादुरका पिता लैनसिंहको सालिक बनाउँदै छन्, पाटक सुन्धराका देवलाल महर्जन।
देवलालले ढुंगा कुँदेर विभिन्न देवी-देवता र मान्छेका अनुहार बनाउन थालेको २५ वर्ष भयो।
बाटो हिँड्ने क्रममा ललितपुर, जावलाखेलस्थित कारखानामा यो पंक्तिकार छिर्दा उनी सालिक बनाइरहेका थिए।
‘कसको सालिक हो?।’ पंक्तिकारको जिज्ञासमा उनले फोटोतिर घोरिएर हेरे। एक/दुई छिनो सिसाले बनाएको ओठका रेखामाथि हाने।
‘सहिदको,’ उनले भने।
‘को सहिद?,’ मेरो प्रश्नले उनी अक्मकिए।
मेरो त पेसा न हो, मान्छेले जस्तो बनाइदेऊ भन्छन्, त्यस्तै बनाउँछु। थाहा छैन को हो। तर हुन चाहिँ सहिदको हो।
उनीसँग सहिदको हकवालाको सम्पर्क नम्बर मागेँ। उनले छोराको सहायता मागे। देवलालका छोराले सहिद लैनसिंहको सालिक बनाउँदै गरेका जानकारी दिए।
यसको विषयमा विस्तृत जानकारी त देवलालका छोरालाई पनि पत्तो रहेनछ।
उनले भने, ‘चिटिक्कका मान्छे आउँछन्। गरिबको सालिक बन्दैन। पक्कै ठूलौ मान्छेको बन्ने हो। यहाँ कति मान्छे सालिकका लागि आउँछन्। फूर्ति लाउँछन्। हामीलाई त कामसँग मतलब हो। जो भए पनि के फरक छ र? राम्रो बनाउने हो। पैसा तिर्नेलाई खुसी बनाउने हो।’
देवलालका छोराले बनाउँदै गरेको सहिदको सालिकको हकवालको सम्पर्क नम्बर दिए।
‘म देवी/देवताको मूर्ति बनाउँछु। मलाई त्यसमा मजा लाग्छ। मैले बनाएका मूर्ति देशभर छरिएका छन्,’ देवलाल सहिदको मुखमा छिनो हान्दै भन्छन्, ‘यस्ता मान्छेका पनि धेरै बनाएँ। कति बनाएँ, लेखाजोखा भने छैन।’
देवलाललाई ढुंगाका देवी-देवताले परिवार पाल्न सघाएका छन्। हजारौं भगवान बनाएका देवलालले सयौं सहिदका पनि सालिक बनाए। उनले बनाएका सालिक कुन सहिदका थिए, तिनको इतिहास के थियो वा समाजमा के काम गरेर अमर रहेका मान्छेको निर्जीव शरीर बनाउँछन्, उनी कारण र कथाहरुमा मतलब राख्दैनन्।
देवलालको सिधा बाटो, ढुंगा राम्रो गुणस्तरको पाउनुपर्यो। फर्पिङको कालो ढुंगा जस्तो ढुंगा पाउन समस्या भयो। फर्पिङबाट ढुंगा ल्याउन पाइँदैन। काठमाडौंकै मच्छेगाउँबाट ल्याउने ढुंगा पनि कुन दिन राज्यले उत्खननमा रोक लगाउने हो र आफू बेरोजगार हुनुपर्ने हो, उनलाई यही पिर छ।
‘पहिला म काठको काम गर्थें। २० वर्ष मैले मन्दिरमा अनेक चित्र कोरें। घर छेउमा नै ढुंगाको मूर्ति बनाउनेहरु थिए। हेर्दाहेर्दै कसरी कसरी काम सिकें,’ उनी भन्छन्, ‘२५ वर्ष भयो ढुंगासँग खेलेको। भगवान र मान्छेको सालिक बनाएको। ढुंगामा छिनो हानेको। अब ढुंगा पाइएन भने त म ६२ वर्षको उमेरमा कहाँ काम खोज्न जानु?’
देवलालले देवता बनाउने सिप छोरामा पनि सारेका छन्। उनका छोरा र उनको रोजगारी नै ढुंगामा कुँदिएका आकृतिहरुमा छ। र, उनीहरु कुँदिरहेछन् निःस्वार्थ, स्वार्थमा बनाइने मूर्ति र सालिकहरु।
माघ २४, २०७८ सोमबार १३:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।