घ्युसँग नुन साट्ने बुटवलको ज्ञानोदय रात्रि मावि : पाहुना आउँदा विद्यालय जाँदैनन् विद्यार्थी

घ्युसँग नुन साट्ने बुटवलको ज्ञानोदय रात्रि मावि : पाहुना आउँदा विद्यालय जाँदैनन् विद्यार्थी

बुटवल : बुटवल उपमहानगरपालिकाले हालै 'सिंगो बुटवल, एक विद्यालय' को अवधारणा सार्वजनिक गरेको छ। विद्यालयहरूमा समान गुणस्तर कायम गराउने उद्देश्यले यो अवधारणा ल्याइएको हो।

विद्यार्थीलाई समान शिक्षाको गुणस्तर दिने योजना अघि बढाइरहँदा बुटवलको हाटबजारस्थित ज्ञानोदय रात्रि माध्यमिक विद्यालय भने अस्तित्व जोगाउन सङ्घर्षरत छ।

स्थानीय तहको कम प्राथमिकता र पर्याप्त प्रचार-प्रसार हुन नसक्दा इतिहास बोकेको यो विद्यालय ‘जबरजस्ती’ चलेको छ।

रात्रिकालीन पढाइ हुने यो विद्यालयमा अहिले विद्यार्थी सङ्ख्या न्यून हुँदै गइरहेको छ। कक्षा ५ देखि १० सम्म अध्ययन हुने यो विद्यालयमा चालु शैक्षिक सत्रमा जम्मा ९७ जना विद्यार्थी छन्। ती पनि नियमित विद्यालय आउँदैनन्।

पढ्ने इच्छा हुँदाहुँदै पनि दिउँसोमा पढ्न नपाउने विद्यार्थीका लागि भन्दै वि.सं. २०२१ सालमा स्थापना भएको विद्यालयमा अहिले विद्यार्थी सङ्ख्या न्यून हुँदै गएको विद्यालयका प्राचार्य गुरु पौडेलले बताए।

दिउँसो ४ बजेदेखि ८ बजेसम्म सञ्चालन हुने विद्यालयमा ९७ जना विद्यार्थीलाई अध्ययन गराउन माविमा ४ जना र निमावि तहमा ४ गरी ८ जना शिक्षक छन्। शिक्षक सबै सरकारी दरबन्दीका हुन्।

पढेर बीचमै कक्षा छाडेका, घरमा काम गर्ने कामदार, हाटबजारमा तरकारी बिक्री गर्ने, दिउँसो विभिन्न उद्योगमा काम गर्ने श्रमिकहरू नै विद्यालयका विद्यार्थी हुन्।

‘दिनभरि श्रम गरेर पढ्नेहरू धेरै हुनुहुन्छ। घरायसी काम गर्ने कामदार पनि भएकाले कतिपयले घरमा पाहुना आउँदा समेत विद्यालयमा पठाउनुहुन्न। त्यसैले विद्यार्थीहरू विद्यालयमा नियमित हुँदैनन्,’ प्राचार्य पौडेलले भने।

कक्षा ६, ७ र ८ मा कम्प्युटर विषय अध्ययन गराउँदै आएको विद्यालयले कक्षा ९ र १० मा ऐच्छिक अन्तर्गत शिक्षा विषय पढाउँदै आएको छ। तर अहिले विद्यालयमा कम्प्युटर शिक्षक नहुँदा अध्ययन नै प्रभावित भएको प्राचार्यले बताए।

१२ वर्षदेखि ४० कटेकाहरूले समेत अध्ययन गर्ने विद्यालयमा छात्रावास राख्न सके विद्यार्थीको कक्षा नियमित हुने प्राचार्य पौडेल बताउँछन्।

‘विद्यालयमा एउटा बस र आवासीय बनाउन सके विद्यार्थीको सङ्ख्या बढ्ने थियो। त्यससँगै प्राविधिक शिक्षा पनि विद्यालयमा ल्याउनुपर्छ भनेर स्थानीय तहलाई अनुरोध गरेका छौँ,’ उनले भने।

ज्ञानोदय दिवा माध्यमिक विद्यालयको भवन रात्रि विद्यालयले समेत प्रयोग गर्दै आइरहेको छ। दिवा र रात्रिका लागि साझा भवन हुँदा पनि कार्यक्रमहरू गर्न समेत अप्ठ्यारो भएको उनले बताए। त्यस बाहेक रात्रिमा नियमित लाइनको समस्या हुँदा पनि विद्यालयमा समस्या भएको उनको भनाइ छ।

ज्ञानोदय दिवा र रात्रि माध्यमिक विद्यालय नाम रहेको विद्यालयमा दिवा र रात्रि हेर्ने व्यवस्थापन समिति, प्राचार्य, शिक्षक, प्रशासन फरक/फरक छ। भवन मात्रै एउटै प्रयोग भएको छ।

रात्रिकालीन विद्यालयको अवधारणा

व्यापारिक नगरी बुटवल बटौलीका नामले चिनिन्थ्यो । घ्युसँग नुन साट्ने व्यापार दिनभरजसो हुन्थ्यो। दैनिक हुने कामकाज बाहेक पढ्नका लागि विद्यालय थिएनन्। भएका दिउँसो मात्र चल्थे।

दिनभरि काम गरेर साँझ पढ्न खोज्नेहरूका लागि रात्रि विद्यालयको परिकल्पना गरियो। स्थापना सहज थिएन।  बुटवलका चन्द्रध्वज श्रेष्ठ, दुर्गालाल बजिमय, सुरेन्द्रमनी श्रेष्ठ लगायतले अधुरो शिक्षा पूरा गर्न रात्रि विद्यालयको परिकल्पना गरे उनीहरूकै सक्रियतामा ज्ञानोदय रात्रि माध्यमिक विद्यालय २०२१ सालमा स्थापना भयो।

‘ज्ञानोदय प्रौढ विद्यालय’ नामबाट स्थापना भएको विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययन हुन थाल्यो। तर रातिमा पढाइ गराउन कम चुनौती भने थिएन।

पञ्चायतको समय थियो। विद्यार्थीहरू कम हुन्थे। शिक्षकहरू पनि आंशिक रूपमा अध्यापन गर्थे। दिउँसोमा उद्योग कलकारखानामा काम गर्ने र साँझ मात्र विद्यालयमा विद्यार्थीहरू पढ्न आउँथे। उद्योग, पसलमा काम गर्ने विद्यार्थीलाई ग्रेड अनुसार छुट्टाएर अध्ययन हुने गर्थ्यो,’ विद्यालयका पूर्वअध्यक्ष पुनाराम पोखरेलले भने, ‘अभावका बीचमा सुरु भएको विद्यालयमा सुरुमा मइन्टोल र लालटिन बालेर समेत पढाइयो।’

पछि मात्र विद्यालयमा बुटवल नगर पञ्चायत, उद्योग वाणिज्य सङ्घ र जिल्ला पञ्चायत आदि संस्थाहरूले पनि आर्थिक अनुदान दिन थालेको र विद्यालय बिस्तारै तङ्ग्रँदै गएको उनले बताए।

विद्यालय खारेज

२०२८ सालमा देशमा नयाँ राष्ट्रिय शिक्षा पद्धति योजना लागू गर्ने सरकारले घोषणा गर्यो। पहिलो पटक कास्की र चितवनमा लागू भएको यो योजना दोस्रो चरणमा २०२९ सालमा रुपन्देही जिल्लामा योजना लागू भयो।

७ वर्षसम्म चलिरहेको विद्यालयले स्वीकृति पाउन सकेन। विद्यार्थीहरूको आकर्षण बढिरहेका बेला विद्यालयलाई तत्कालीन जिल्ला शिक्षा कार्यालयले बन्द गर्न परिपत्र गर्यो र विद्यालय खारेज भयो।

विद्यालयको भवनमा २०३० सालमा तानसेन, पाल्पामा रहेको शिक्षा शास्त्र इन्स्टिच्युट (हालको बुटवल बहुमुखी क्याम्पस) बुटवलमा सर्ने भएपछि त्यहीँ बस्यो।

२०३७ सालमा बुटवल नगरपालिकामा पुनः विद्यालय ब्युँताउने निर्णय भयो। तर चलाउने कसरी? त्यो बेला पनि नगर पञ्चायत र उद्योग वाणिज्य सङ्घले आर्थिक अनुदान दिने उद्घोष गरे। र, विद्यालय चलाउने निर्णय भयो।

बन्द विद्यालय चलाउन कम चुनौती थिएन। सङ्घ-संस्थामा विद्यार्थीहरूलाई रात्रिकालमा पढ्न चाहनेहरू को-को भन्दै इच्छुक माग गरियो। त्यसपछि विद्यालय पुनः सञ्चालनमा आयो।

बाढीको चपेटामा

तत्कालीन बुटवल नगर पञ्चायतका प्रधानपञ्च  बृजमान श्रेष्ठको सक्रियतामा विद्यालय ब्युँतिएपछि सञ्चालनको तयारी भयो। १ सय ५२ जना पुरुष र ४ जना महिला विद्यार्थी भर्ना हुने भए।

तयारी चल्दाचल्दै वि.सं. २०३८ सालमा असोज १३ गते बुटवलमा भिषण बाढी आयो। विद्यालयको भौतिक सम्पत्ति नष्ट भयो। कागजपत्र सबै नष्ट भए। तर त्यो बेला श्रेष्ठकै अगुवाइमा फेरि संरचना निर्माण गर्न थालियो र २०३८ साल पुस पहिलो सातादेखि रात्रि माविमा पढाइ सञ्चालन भयो।

‘विद्यालयमा बाढी पसेपछि २०२८ सम्मका रेकर्डहरू भेटिँदैनन्,’ ज्ञानोदय रात्रि माध्यमिक विद्यालयका प्राचार्य गुरु पौडेलले भने।

विद्यालय ब्युँताइएपछि चन्दाबाटै केही वर्ष चलाइएको विद्यालयका पूर्व शिक्षकहरू बताउँछन्। त्यसपछि २०४१ सालमा सम्बन्धन पाएपछि भने सरकारी सेवा सुविधा विद्यालयमा आएको प्राचार्य पौडेलले बताए। सम्बन्धन पाएपछि कक्षा ६ देखि १० सम्म विद्यालयमा अध्ययन हुन थालेको हो।

बुटवलका नगरप्रमुख शिवराज सुवेदीले भिन्न परिस्थितिको विद्यालय ज्ञानोदय रहेकाले सिप, इलमयुक्त अध्ययन गराउने र विद्यार्थीहरूलाई बढीभन्दा बढी आकर्षित गर्ने गरी अध्ययन गराउने योजना अघि बढाएको बताए।

माघ २४, २०७८ सोमबार ११:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।