प्रचण्डको 'मूर्ति चोर' प्रेम : गठबन्धनमा खेलेर बनाए प्रदेश मन्त्री
कारावास समेत भोगेका ‘कार्चेन’ भनेर चिनिने उनी आइतबार मन्त्री नियुक्त भएर सपथ खाए। हुम्लाबाट माओवादीमा सक्रिय गैर सांसद कार्चेन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जोड बलमा आइतबार मन्त्री बन्दै शपथ लिए। २०५४ सालमा माओवादीमा लाग्दै भूमिगत भएका लामा २०४९ मङ्सिरमा चीनको तिब्बतको खोचेरनाथ गुम्बाबाट करिब १२ सय वर्ष पुरानो ऐतिहासिक मूर्ति चोरेको अभियोग अदालतबाट पुष्टि भएर दुई वर्ष कैद र पाँच हजार जरिवाना भोगेका व्यक्ति हुन्।
उनी विरुद्ध २०४९ मङ्सिर १४ मा हुम्ला जिल्ला अदालतमा चोरी मुद्दा दर्ता भएको पुष्टि भइसकेको छ। उनको मुद्दाको दर्ता नम्बर ४१० हो। जिल्ला अदालतले २०५१ साल मङ्सिर २५ मा उनलाई दुई वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। उनी दुई वर्ष जेलमा बसेर २०७८ असोज ११ गते पाँच हजार रुपैयाँ जरिवाना समेत तिरेका छन्।
पछि माओवादी पार्टीमा लागेर उनी भूमिगत भए। २०६९ मा माओवादीको हेटौँडा महाधिवेशनमा केन्द्रीय सदस्य समेत भएका उनलाई प्रचण्डको जोड बलमा मन्त्री बनाउन लागेको खुलेपछि माओवादी केन्द्रको सांसदले विरोध गरेका थिए। तर मूर्ति चोरीमा सजाय पाइसकेका गैर सांसदलाई मन्त्री बनाउने निर्णयबाट प्रचण्ड पछि हटेनन्।
प्रचण्डले हिमाली समुदायको प्रतिनिधित्व भन्दै गैर सांसदलाई पनि ६ महिनाका लागि मन्त्री बनाउन पाउने संवैधानिक प्रावधानको फाइदा उठाउँदै आरोपी हैन अदालतले मूर्ति चोर प्रमाणित गरिसकेका व्यक्तिलाई मन्त्री बनाइछाडे।
गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेसले पनि चोर प्रमाणित भइसकेका व्यक्तिलाई मन्त्रीमा नियुक्त गर्ने सिफारिसमा कुनै नाइनास्ती गरेन। एकीकृत समाजवादी पनि यस विषयमा मौन बसे र आइतबार बेलुका नव नियुक्त अन्य सांसदसँगै उभिएर उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीको शपथ खाए।
उनीसँगै उभिएर कांग्रेसका यज्ञबहादुर बुढा क्षेत्री सामाजिक विकासमन्त्री र हिमबहादुर शाही आन्तरिक मामिला तथा कानुन मन्त्री, माओवादीका गणेशप्रसाद सिंह ऊर्जा तथा जलस्रोतमन्त्रीमा अनि पदमबहादुर रोकायाले भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्रीको शपथ लिए।
अनि मुख्यमन्त्री जीवनबहादुर शाही खुसी हुँदै उनलाई शुभकामना दिए।
कार्चेन सम्बन्धी समाचार
माघ २३, २०७८ आइतबार १९:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।