१९ दिनपछि बल्ल बन्यो ट्रमाको सिटी मेसिन, पूर्वराष्ट्रपति र पूर्वसभामुखले सिटी स्क्यान गर्नै पाएनन्

१९ दिनपछि बल्ल बन्यो ट्रमाको सिटी मेसिन, पूर्वराष्ट्रपति र पूर्वसभामुखले सिटी स्क्यान गर्नै पाएनन्

काठमाडौं : राष्ट्रिय ट्रमा सेन्टरमा माघ ४ गतेदेखि बिग्रिएर थन्किएको सिटी स्क्यान मेसिन १९ दिनपछि बल्ल चल्न थालेको छ। 
ट्रमा सेन्टरका निमित्त निर्देशक डा. प्रमोद जोशीले ११ लाख तीन हजार एक सय ९ रुपैयाँ खर्च गरेर मेसिन बनाइएको जानकारी दिए। उनले भने, ‘आइतबारबाट मेसिन चल्न थालेको छ।’

पूर्वराष्ट्रपतिले ट्रमामा सिटी गर्न पाएनन्
पूर्वराष्ट्रपति डा. रामवरण यादव देब्रे हातमा समस्या भएपछि माघ ४ गते (जनवरी १८ मा)  दिउँसो राष्ट्रिय ट्रमा सेन्टर पुगे। अस्पतालका निमित्त निर्देशक डा. जोशीको कार्यकक्षमा उनी छिरे। डा. जोशीको कार्यकक्षमा छिर्दा दिउँसोको करिब १२ बजेको थियो। ट्रमा सेन्टरका केही चिकित्सकहरुले पूर्वराष्ट्रपति यादवको हातमा भएको समस्याको विषयमा छलफल गरे।

डा. जोशीले भने, ‘२/४ जना डाक्टर साब बसेर उहाँलाई हेर्यौं।’ जहाँ हाडजोर्नी रोग विशेषज्ञ प्रा. डा. दिपक दत्त पनि थिए। 
उपचारका लागि ट्रमा पुगेका पूर्व राष्ट्रपति डा. यादवको एक्स-रे डा. जोशीले पनि हेरे। ‘उहाँलाई जाँचेर नाडीको भागको हड्डी बस्ने ठाउँमा केही मुमेन्ट गरेर पनि हेर्यौं,’डा. जोशीले भने, ‘त्यहाँ अलिकति सुन्निएको पनि थियो।’

त्यसपछि चिकित्सकको टिमले निष्कर्ष निकाल्यो, दुखाइ पनि अलि बढी नै भएको हुनाले सिटी स्क्यान गरेरै हेर्नुपर्छ। कहिलेकाहीँ उमेरको कारणले पनि हड्डी अलि कमजोर हुन्छ। एक्स-रेले नदेखिने समस्या सिटी स्क्यानबाट देखिनसक्ने सम्भावना भएकाले त्यो मौका पनि खेर नफालौं भन्ने सोच बनाएर पूर्वराष्ट्रपति यादवको हातको समस्याका लागि चिकित्सकको टिमले सिटी स्क्यान गर्ने निर्णय गर्यो।

डा. जोशीले भने, ‘उहाँको हामीले एक्स-रे गरेर हेर्दा नाडिको हड्डीमा अलिकति चोट देखिएको हुनाले सिटी स्क्यान गर्नुपर्ने सल्लाह दियौं।’ 

डा. जोशीका अनुसार ट्रमा सेन्टरमा नै रहेको सिटी स्क्यानमा सिटी गर्न पूर्वराष्ट्रपतिलाई पठाइयो। पूर्वराष्ट्रपति यादव पनि ट्रमा सेन्टरको सिटी स्क्यान गर्ने कोठा बाहिर पुगेर ‘वेटिङ रुम’मा बसे।

सिटी स्क्यान गर्ने पर्खाइमा त्यहाँ केहीबेर उनी बसे। तर केही बेर कुरेपछि मात्रै सिटी स्क्यान गर्ने मेसिन बिग्रिएको थाहा भयो।

निमित्त निर्देशक जोशीलाई पनि पूर्वराष्ट्रपतिले सिटी स्क्यान गर्न नपाएपछि मात्रै सिटी बिग्रिएको थाहा भयो। लगत्तै रेडियोलोजी विभाग प्रमुखसँग सिटी मेसिन बिग्रिएको विषयमा निमित्त निर्देशक डा. जोशीले सिटी बिग्रिएको विषयमा बुझ्दा पूर्वराष्ट्रपति पुग्नु केहीबेर अघि मात्रै बिग्रिएको र प्राविधिक बोलाएर सिटी बनाउने काम भइरहेको जानकारी पाए।

ट्रमा सेन्टरमा सिटी बिग्रिएको थाहा पाएपछि पूर्वराष्ट्रपति यादवले वीर अस्पताल पुगेर हातको सिटी स्क्यान गरेका थिए। वीर अस्पतालको सिटी स्क्यान रेकर्ड  अनुसार पूर्वराष्ट्रपति यादवले जनवरी १८ को दिउँसो १२:५५ मा  देब्रे हातको सिटस्क्यान गरेको देखिन्छ। डा. यादवको उमेर ८० वर्ष उल्लेख छ।

पूर्वराष्ट्रपतिले ट्रमा सेन्टरमा नै सिटी गरेको डा. दत्तले बताएका थिए। तर, उनले वीरमा सिटी गरेको पाइएको हो।

पूर्वराष्ट्रपतिले सिटी स्क्यान गर्न नपाएपछि मेसिन बिग्रिएकोबारे थाहा पाएको डा.जोशीले जानकारी दिए। उनले भने, ‘माघ ४ गते सिटी स्क्यान मेशिन बिग्रियो भन्ने कुरा दिउँसो जानकारीमा आयो।’ 

डा. जोशीका अनुसार सिटी बिग्रिएको थाहा पाएपछि त्यही दिन तुरुन्तै प्राविधिकलाई बोलाएर सिटी मेसिन बनाइयो। 

सिटी स्क्यानको फ्युज बिग्रिएको र मेसिनमा भएका तीन वटै कार्बन खिइसकेको थाहा पाएको उनले बताए। दुईदेखि तीन वर्षमा कार्बन ब्रस फेर्नुपर्ने भए पनि मेसिन ल्याएदेखि एक पटक पनि नफेरेको पाइएको उनले बताए। डा. जोशीले भने, ‘मेसिन ल्याएदेखि अहिलेसम्म पुरानै कार्बन ब्रसले चलाइरहेको अवस्था रहेछ।’ 

त्यही दिन फ्युज फेरेपछि राति करिब साढे ११ बजेसम्म सिटी स्क्यान चलेपछि पुनः बिग्रियो। डा. जोशीले भने, ‘फ्युज पनि बिग्रिएको हुनाले फ्युज पनि उहाँहरु (प्राविधिक)ले चेन्ज गर्नुभयो।’

पूर्वसभामुखले पनि ट्रमामा सिटी गर्न पाएनन्
पूर्वराष्ट्रपति यादव पुगेको भोलिपल्ट (५ गते, जनवरी १९) मा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ सिटी स्क्यानका लागि ट्रमा सेन्टर पुगेका थिए। तर ट्रमा सेन्टरमा उनले पनि सिटी स्क्यान गर्न पाएनन्। ट्रमा सेन्टरमा सिटी गर्न नपाएपछि नेम्वाङले वीर अस्पताल पुगेर टाउकाको सिटी स्क्यान गराए।

वीर अस्पतालको सिटी स्क्यान रेकर्ड अनुसार नेम्बाङले जनवरी १९ को बिहान ११:५० मा मस्तिष्क र पिनासको सिटी स्क्यान गराए। रेकर्ड अनुसार नेम्वाङको उमेर ६९ वर्षीय नेम्वाङले मस्तिष्क र पिनासको सिटी स्क्यान गराएका हुन्।

यस विषयमा डा. नेम्वाङसँग जानकारी लिँदा उपचार ट्रमा सेन्टर र वीर अस्पताल दुवैका चिकित्सकले गरे पनि सिटी स्क्यान भने वीर अस्पतालमा गरेको जानकारी दिए।

नेम्वाङले भने, ‘ट्रमामा ट्रिमेन्ट गरेको। वीरका डाक्टरहरुले पनि सहयोग गर्नुभो। सिटी स्क्यान चाहिँ वीर अस्पतालमा हो।’ अनुहार तथा टाउकोमा सानो-सानो समस्या भएकाले उपचार गरेको र ठिक भएको पनि नेम्वाङले जानकारी दिए।

पूर्वराष्ट्रपति र पूर्वसभामुख दुवैले ट्रमामा सिटी स्क्यान गर्न पाएनन्। उपचारका लागि पुग्ने अन्य बिरामीले त पाएननै नै। सिटी बिग्रिएपछि पूर्वराष्ट्रपति पुगेको भोलिपल्ट फेरि प्राविधिकलाई बोलाएर मेसिनको अवस्थाका बारेमा जाँच गर्दा तीन वटै कार्बन ब्रस खिइसकेकाले नचलाउन सल्लाह दिए बमोजिम नै सिटी मेसिन नचलाएको डा. जोशीले बताए।

११ लाख खर्च
डा. जोशीका अनुसार कम्पनीसँग सम्पर्क गर्दा कार्बन ब्रस नै फेर्नुबाहेक अन्य विकल्प नभएकाले कार्बन ब्रस फेर्नका लागि प्रक्रिया अगाडि बढ्यो।

सामान आएपछि आज (आइतबार) मेसिन बनेको डा. जोशीले जानकारी दिए। डा. जोशीका अनुसार माघ ४ मा बिग्रिएको सिटी स्क्यान मेसिन माघ २३ गते आइतबार १८ दिनमा बनेको छ।

नेपालमा कम्पनीसँग कुरा गर्दा कार्बन ब्रस स्टकमा नभएकाले जर्मनबाट मगाएर कार्बन ब्रस नेपाल ल्याइएको डा. जोशी बताउँछन्।

निमित्त डा. जोशीले ११ लाख तीन हजार एक सय ९ रुपैयाँमा तीन वटा कार्बन ब्रस र फ्युज ल्याइएको जानकारी दिए। मेसिनका दुई वटा फ्युज र तीन वटा कार्बन ब्रस फेरेपछि आइतबार दिउँसोबाट सिटी मेसिन चल्न थालेको डा. जोशीले बताए। उनले भने, ‘सिटी स्क्यानका दुई वटा फ्युज र तीन वटा कार्बन ब्रस फेरियो।’

तीन पटक ट्युब फेरियो, मेसिनको आयु नै सकिएको दावी
ट्रमा सेन्टरको चार करोड २८ लाखको सो सिटी स्क्यान मेसिनन बेलाबेलामा बिग्रँदा बिरामीले दुःख पाउनुपर्ने अवस्था छ। ट्रमा सेन्टरमा भएको सो सिमेन्स कम्पनीको मेसिन १६ स्लाइसको हो। जुन भारतले ट्रमा सेन्टर स्थापना भएपछि आर्थिक वर्ष २०७१/०७२ मा अनुदानमा दिएको थियो। मेसिनले २०७४ सम्म राम्रै काम गरेपछि बिग्रन थाल्यो। तीन पटक भइसकेको छ सिटीको ट्युब फेरेको। 

यो मेसिनको ट्युब मात्रै तीन पटक बिग्रिएर फेरिएको छ। मेसिनको आयु नै सकिएको डा. जोशीको दावी छ।

ट्रमा सेन्टरमा भएको एउटा मात्रै सिटी भएको र सो सिटी पनि पुरानो भएकाले थप अर्को सिटी आवश्यक रहेको निमित्त निर्देशक डा. जोशी बताउँछन्।

उनी भन्छन्, ‘ट्रमा सेन्टर जस्तो ठाउँमा कम्तीमा एउटा सिटी स्क्यान र एउटा एमआरआई अति आवश्यक नै हो। एमआरआई यहाँ नभएको अवस्था छ।’ एमआरआई गर्नको लागि बिरामीलाई बाहिर पठाउनुपर्ने बाध्यता भएको उनले जानकारी दिए।

माघ २३, २०७८ आइतबार १७:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।