हिउँमा फसेका ५५ जनालाई उद्धार गर्न प्रदेश सरकारले पठायो हेलिकप्टर

हिउँमा फसेका ५५ जनालाई उद्धार गर्न प्रदेश सरकारले पठायो हेलिकप्टर

सुर्खेतः जुम्लामा हिउँमा फसेकाहरूलाई उद्धार गर्न कर्णाली प्रदेश सरकारले हेलिकप्टर पठाएको छ। जुम्लाको गाग्रा लेकको विभिन्न ठाउँमा हिउँमा ५५ जना फसेको जानकारी आएपछि आवश्यक राहत सामग्रीसहित उद्धार गर्न हेलिकप्टर पठाइएको मुख्यमन्त्री जीवनबहादुर शाहीका प्रमुख स्वकीय सचिव राजबहादुर रोकायले बताए।

उनका अनुसार पहिलो चरणमा सानो हेलिकप्टरमा आवश्यक राहत सामग्री लिएर आन्तरिक मामिला तथा कानून मन्त्रालय विपद् शाखाका कृष्ण रोकाय गएका छन्। त्यहाँको वस्तुस्थितिबारे विस्तृत विवरण आएपछि थप अर्को हेलिकप्टर पठाउने तयारी भएको छ।

उनका अनुसार जाजरकोट र जुम्लाको सीमामा रहेको गाग्रा पाटन पुगेर हिउँमा फसेकालाई उद्धार गर्नुका साथै तत्कालका लागि खाद्यान्न वितरण गरिनेछ।

पाँच फिट जति हिउँ परेको र त्यहाँ हेलिकप्टर अवतरण गर्न सक्ने अवस्था नभएपछि तत्कालका लागि खानेकुरा मात्र खसालिने छ।

स्थानीयका अनुसार तातोपानी गाउँपालिका–८ जुम्लाको टोप्लागाउँबाट एक दिनको दूरीमा रहेको गाग्रा पाटनको गाग्रा, एडिओढार, खोटीसल्ला र ध्वनि ठाउँमा गरी ५५ जना हिउँमा फसेका छन्। उनीहरू सेताे चिनी संकलन गर्न त्यहाँ गएका थिए।

यस्तै हिउँमा पसेका दुई जनाको मृत्यु भएको छ।

माघ २३, २०७८ आइतबार १५:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।