एमसिसीबारे माओवादी नेताहरूले दोहोरो चरित्र देखाउँदा समस्या : एमाले उपमहासचिव ज्ञवाली

एमसिसीबारे माओवादी नेताहरूले दोहोरो चरित्र देखाउँदा समस्या : एमाले उपमहासचिव ज्ञवाली

बुटवल : एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राज्यका तीन अङ्ग अस्तव्यस्त भएको बताएका छन्। पत्रकार भेटघाट कार्यक्रममा उनले अहिलेको सरकार सरकार जस्तो नभएको टिप्पणी समेत गरे।

सरकारले जनतालाई न्यूनतम सुविधा समेत दिन नसकेको भन्दै उनले आलोचना गरेका थिए। 'कोभिड महामारी छ। २४ लाख डोज खोप हरायो तर सरकार मौन छ,' उनले भने' कात्तिकमा धान बाली क्षति भो। तर सरकारले राहत दिन सकेनन्।

उनले अर्थतन्त्र अझ धराशायी हुन थालेको भन्दै तरलताको अभाव, भुक्तानी सन्तुलनमा फरक रहेको र अर्थतन्त्रका सूचक राम्रो नभएको बताएका थिए।

उनले सरकार  सार्थक कूटनीतिक पहलमा चुकेको भन्दै जयसिंह धामीको मृत्यु र नेपालको सिमानामा भारत सरकारले सडक बनाउदा समेत सरकार मौन रहेको भन्दै आलोचना गरे। उनले गठबन्धनका नेता एमसिसी सम्झौता गिजोल्न लागेको प्रतिक्रिया दिएका थिए।

' आफैले ५  महिना भित्र पास गर्ने भनेर पत्र लेख्ने तर अहिले संशोधन गरेर मात्र पास हुन्छ भन्ने दोहोरो चरित्र देखायो सरकारले' उनको प्रतिक्रिया छ।

 एमसिसि सम्झौता गर्दा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नै प्रधानमन्त्री रहेको बताउँदै उनले एमसिसीबारे मुख्यतः माओवादी नेताहरूले दोहोरो चरित्र देखाउँदा त्यो बेला पास नभएको बताए।

'अहिले एमसिसी पास गर्ने गठबन्धनको जिम्मेवारी हो। बहुमत उहाँहरूसँग छ। सरकारले के चाहेको छ जनतालाई स्पष्ट पार्नुपर्छ। देशतिर फर्केर एउटा भन्ने अनि अमेरिकातिर फर्केर एउटा भन्ने गर्नुहुँदैन। संसद्मा छलफल गर्न पर्छ। सदनमा ल्याउन ढोका बन्द गर्नु हुँदैन। सभामुखले बाटो छेक्न मिल्दैन। पास फेल सदनले गर्ने छ।' उनले एमसिसी प्रस्ताव सदनमा आएपछि मात्रै एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने समेत बताए। 

माघ २३, २०७८ आइतबार १४:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।