कांग्रेस नेतृ कमला पन्तको प्रसव पीडा र खुसी : पुत्रवियोगको पीडाले बाँचुञ्जेल रुवाइरहने छ

कांग्रेस नेतृ कमला पन्तको प्रसव पीडा र खुसी : पुत्रवियोगको पीडाले बाँचुञ्जेल रुवाइरहने छ

नेपाली कांग्रेसमा प्रभावशाली छवि बनाउन सफल नेतृ हुन् कमला पन्त। यही माघ १२ गते सम्पन्न निर्वाचनबाट राष्ट्रिय सभा सदस्य चुनिएपछि त उनको चर्चा झनै चुलिएको छ।

विद्यार्थी जीवनदेखि नै राजनीतिमा होमिएकी पन्त पद्मकन्या क्याम्पसको स्ववियु सभापति हुँदै २०५१ र २०५६ सालमा गोरखाबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भइन्। 

४० वर्षदेखि निरन्तर राजनीतिमा सक्रिय पन्तको विवाह काभ्रे कांग्रेसका नेता मधु आचार्यसँग भयो। आचार्य हालै सम्पन्न १४औं महाधिवेशनबाट कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका छन्।

दुई छोरा-छोरीलाई जन्म दिएकी पन्तसँग पेटमा बच्चा बोकेर अश्रु ग्यास खाँदै आन्दोलनमा संघर्ष गरेका पल र पुत्रवियोगको पीडा मनसपटलमा आजसम्म पनि ताजै छन्। गर्भवती हुँदा भोग्नुपरेका समस्या, प्रसव पीडा र त्यसपछिको खुसी उकेरामार्फत यसरी व्यक्त गर्छिन्, कमला पन्त:

म २०२१ सालमा गोरखाको विकट गाउँ गवटारमा जन्मिएँ। त्यतिबेला गाउँको परिवेश अत्यन्तै कठिन थियो। छोरीलाई पढाउनुपर्छ भन्ने चेत थिएन। धेरै उमेरसम्म विवाह नगरी बस्यो भने घर-समाजलाई पच्दैनथ्यो। 

हाम्रो संयुक्त परिवार थियो। मेरी आमाले ९ जना छोराछोरीलाई जन्म दिनुभयो। दुई जना सानैमा बिते भने चार जना दाजुभाइ र तीन जना दिदीबहिनी अहिले पनि छौं।

त्यतिबेला छोरीलाई पढाउने घर औंलामा गन्न सकिन्थ्यो। गाउँमा पढे-लेखेका महिला भनेकै म र मेरी दिदी मात्रै हो। हामी पढ्ने कक्षामा म र दिदीबाहेक कोही महिला थिएनन्।

हाम्रो घरमा शिक्षक कृष्णप्रसाद कट्टेल बस्नुहुन्थ्यो। उहाँलाई हामीले गुरुबा भन्थ्यौँ। उहाँसँग नै हामीले अक्षर चिनेका हौँ। मेरो बुबाको छोराछोरी दुवैलाई पढाउनुपर्छ भन्ने चेतनाका कारण मैले पढ्न पाएकी हुँ। 

गाउँमै पढ्दासम्म छोरीको विवाह गरिहाल्नुपर्छ भनेर घर तथा समाजबाट भनिरहन्थे। हुर्केकी छोरीलाई धेरै माइतमा राख्नु हुँदैन भन्ने मान्यता थियो। मैले त्यस्ता कुरामा खासै ध्यान दिइनँ र पढाइमा नै लागिरहें। गाउँमा एसएलसी पास गरेपछि पढ्नका लागि भनेर काठमाडौँ आएँ। 

०००
२०३९ सालमा काठमाडौं आएर पद्मकन्या क्याम्पसमा भर्ना भएँ। क्याम्पस आएदेखि नै म कांग्रेसको विद्यार्थी नेता भएर काम गर्न थालेँ। पारिवारमा पनि राजनीतिक माहोलमा हुर्केको भएर होला मेरो पनि त्यतैतिर मन गयो। 

सुरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सदस्य भएर काम गरेँ। २०४२ सालमा स्ववियुको अर्को चुनाव भयो। त्यो बेला म सह-सचिव भएँ। २०४५ सालमा म सभापति भएँ। पढ्नमा ठिकै विद्यार्थी म झण्डा बोकेर हिँड्दा-हिँड्नै चर्चित भइसकेको थिएँ। झण्डा बोकेर हिँडे पनि मैले मास्टर्स सकेँ।

म साथीभाइसँग असाध्यै मिल्थेँ। आफ्नो जिम्मेवारी पनि समयमै पूरा गर्थेँ। त्यसै कारण मलाई सबैले मान्थे। बिहान पढ्न निस्केको मान्छे राति ८/९ बजे मात्रै कोठा पुग्थेँ। त्यतिबेला पञ्चायतकाल थियो। विभिन्न काम लिएर मन्त्रीहरुकहाँ पुग्थेँ। काम पूरा गरेर मात्र फर्किन्थेँ। 

०००
राजनीतिक काम र पढाइलाई निरन्तरता दिँदा नै मेरो विवाहको कुरा नचलेको होइन। काठमाडौंबाट घर जाँदा अब विवाह गर्नुपर्छ भनेर आमा-बुबाले भन्नुहुन्थ्यो। उमेर पनि पुगिसकेको थियो मेरो। 

विवाहको कुरा निस्केपछि विभिन्न बहाना बनाएर काठमाडौँ फर्किहाल्थेँ। स्ववियु सभापति भइसकेपछि कामको जिम्मेवारी पनि बढ्दै गयो र विवाहतिर खासै ध्यान पनि गएन। 

२०४६ सालको आन्दोलनमा सहभागी भइयो। धेरै कामहरु बिग्रियो। पार्टीमा लागेपछि रगत-पसिना बगाएर, विवाह गर्नै बिर्सेर देशका लागि नि:स्वार्थ भावनाले काम गर्ने मान्छे कमै हुन्छन् जस्तो लाग्छ मलाई।

२०५१ सालमा मैले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा चुनाव जितेँ। चुनाव जितेको क्षेत्रमा म कहिल्यै गएको थिइनँ। २०५२ सालबाट माओवादी द्वन्द्व सुरु भयो। त्यतिबेला टार्गेट पनि गरियो मलाई। मर्न परे पनि मर्छु भनेर आफ्नो क्षेत्रमा धेरै मिहिनेत गरेँ। 

०००
२०४८ सालमा बुटवलमा नेपाल विद्यार्थी संघको राष्ट्रिय अधिवेशन भएको थियो। सभापतिको लागि चुनाव लड्ने तयारीका साथ म पनि बुटवल गएको थिएँ।

त्यो अधिवेशनमा विदेश क्षेत्रबाट अधिवेशन प्रतिनिधि भएर काभ्रेका मधु आचार्य पनि आउनुभएको रहेछ। उहाँले मलाई चिन्नुभएको रहेछ। 

पछि मेरो घाँटीको हड्डी डिसलोकेड भएर हस्पिटल भर्ना भएँ। त्यो बेला पनि मधु आचार्य भेट्न आउनुभएको थियो। कहिलेकाहीँ पद्मकन्यामा पनि आउनुहुन्थ्यो रे। उहाँ काभ्रे क्षेत्र नम्बर १ को क्षेत्रीय सभापति हुनुहुन्थ्यो त्यतिबेला। उहाँले मलाई चिने पनि मलाई भने उहाँबारे खासै जानकारी थिएन। हस्पिटलमै उहाँसँग मेरो चिनजान भयो।

उपचारपछि म घर फर्किएँ। म काठमाडौंमा दाजु-भाउजुसँग बस्थेँ। मना भन्ने एक जना दिदी हुनुहुन्थ्यो। उहाँले मधु आचार्यको विवाहको प्रस्ताव दाजु-भाउजुसम्म पुर्याउनु भएछ। २०४८ सालमा नै आमा बितेकाले भाउजुले नै मेरो जिम्मेवारी बहन गर्नुभएको थियो। 

त्यतिबेला म घाँटीको अप्रेसन गरेर रेस्टमा थिएँ। रोगी छु भनेर मैले विवाहको प्रस्ताव अस्वीकार गरिरहेको थिएँ। तर आफन्तले अब त विवाह गर्नुपर्छ भनेपछि २०५३ साल जेठमा मधु आचार्यसँग मेरो विवाह भयो।

विवाहपछि दोहोरो जिम्मेवारी निर्वाह गर्नुपर्ने भयो मैले। राजनीति र परिवार व्यवस्थापन गर्न मलाई गाह्रो नै भयो। मैले श्रीमानको सहयोगमा परिवार र राजनीति दुवैलाई बराबर रुपमा अघि बढाएँ। 

०००
विवाह भएको दुई महिनामै म गर्भवती भएँ। उमेर पनि पुगिसकेको थियो। बच्चा जन्माउने कुनै योजना त बनिसकेको थिएन। तर गर्भवती भइसकेपछि जन्म त दिनैपर्यो। 

हामी काठमाडौं बस्थ्यौँ। गर्भवतीको समयमा मैले डा. भोला रिजालसँग चेकअप गराइरहेको थिएँ। 

गर्भवती भइसकेपछि पनि मैले आफ्नो कामलाई निरन्तरता दिन भने छोडिनँ। आराम गर्ने समय नै मिलेन। 

बच्चा पेटमा हुँदा कुनै अनुभूति नै भएन। मसँग पेटमा बच्चा चलेको, खेलेको महसुस गरेर बस्ने समय पनि भएन। पेटको बच्चासँगै झण्डा बोकेर आन्दोलनमा समेत गएँ। 

गर्भवती भएपछि खाना खान मन नलाग्ने स्वभाविकै हो। खाना खाए पनि वान्ता भइहाल्थ्यो। पूरै ९ महिना बान्ता भयो। वान्ता गर्दै पार्टीको काममा हिँडिरहें।

पेटमा चार महिनाको बच्चा थियो। त्यही बेला मलाई पार्टीले चितवन २ नम्बर क्षेत्रको प्रतिनिधि बनाएर पठायो। त्यहाँका सबै वडा र गाउँमा जानुपर्ने थियो।

त्यहाँको बाटो कच्ची थियो। हिँड्ने क्रममा मेरो पेट अचानक दुख्यो। डा. रिजाललाई फोन गरेर पेट दुखेको कुरा सुनाएँ। उहाँले तुरुन्तै जहाजमा काठमाडौं फर्किनूस् भन्नुभयो। हस् त भनें तर म फर्किनँ। 

आफ्नो पार्टीले दिएको जिम्मेवारी पूरा गर्न बाँकी नै छ। पेट दुख्दादुख्दै पनि मैले आफ्नो जिम्मेवारी पूरा गरेँ। २०५३ सालमा चितवनमा भएका सबै आन्दोलन सकिएपछि मात्रै म काठमाडौं फर्किएँ।

०००
पेटमा सात महिनाको बच्चा हुँदा मेरो बुबाको निधन भयो। त्यतिबेला म गोरखा गएँ।

बुबा बितेको ९ दिन भएको थियो। बुबा बितेको पीडा त छँदै थियो, बच्चा पेटमा हुँदा सहनुपर्ने अर्को पीडा पनि छ। त्यो बेला पनि स्वास्थ्य चौकी उद्घाटनका लागि पुगें। सामाजिक काम, बोलाएपछि नजाने कुरा पनि भएन। त्यो आफ्नो जिम्मेवारी पनि भयो। 

बच्चा पेटमा हुँदा म विदेश भ्रमणमा पनि गएँ। फिनल्याण्ड, पाकिस्तान, बंगलादेश, चीन जस्ता धेरै देश पुगेँ। यात्रा चाहिँ मैले डाक्टरको सल्लाहअनुसार नै गरेकी थिएँ।  

बच्चा जन्मने समयभन्दा एक महिनाअघि म चीन गएकी थिएँ। चीनको एउटा नगरपालिकाले हामीलाई खाना खान निम्तो गरेको थियो। अरु सबै खाना खाना बसिरहेका थिए। म चाहिँ अलिकति खाएपछि वान्ता गर्न जान्थेँ।

त्यो अवस्थामा साथीहरुलाई मेरो स्वास्थ्यप्रति चिन्ता थियो। त्यहाँ मलाई साथीहरुले बच्चालाई राम्रो हुन्छ भनेर डिप फ्राई गरेको बिच्छी खुवाएका थिए। मलाई यो मात्र सम्झना छ। गर्भवती हुँदा के खाने, कसरी ख्याल राख्ने कुराको त मतलबै भएन। 

०००
मैले प्राकृतिक रुपमा बच्चा जन्माउन सकिनँ। वैशाखमा कमलादीको ओम अस्पतालमा अप्रेसन गरेर बच्चा निकालियो। 

पहिलो बच्चाको रुपमा मैले छोरीलाई जन्म दिएँ। छोरीलाई छातीमा टाँस्दा आमा हुँदाको अनुभूति साँच्चिकै आनन्ददायी थियो। 

छोरी भइसकेपछि धेरै जिम्मेवारीहरु आए। त्यो बेला आराम भन्ने कुरै भएन। छोरी जन्मेको १५ दिनको दिन नै म पार्टीको कामको लागि संसद्मा उपस्थित भएकी थिएँ। 

हामी डेमोक्र्याटहरु अरुलाई काम लगाएर खान सक्दैनौँ। आफ्नो काम आफैँ गर्नुपर्छ भन्ने मान्यता बोकेर हिँडेकालाई दु:ख हुने त भइनै हाल्यो।

छोरीको हेरचाह आफन्तहरुले नै धेरै गर्नुभयो। श्रीमानको पनि साथ र सहयोगले अगाडि बढ्दै गएँ। २०५६ सालमा पनि मैले गोरखाबाट नै निर्वाचन जितेँ। 

०००
छोरी ७ वर्षकी भएपछि म फेरि गर्भवती भएँ। पूर्वराजा ज्ञानेन्द्रले कु गर्दा म गर्भवती थिएँ। छोरा पेटमा हुँदा पुलिस कस्टडीमा धेरै नै समय बिताएँ। आन्दोलनको समयमा छिन-छिनमा कस्टडीमा पुर्याउँथे।

म आफैं पनि सांसद छु। संसद् विघटन भयो। संसद् पुनर्बहालीको लागि आन्दोलन गरिएको थियो। ७० वर्ष संघर्ष गरेर ल्याएको प्रजातन्त्र कु हुन दिने कुरा पनि भएन। त्यो बेला प्रजातन्त्रका लागि संघर्ष गरिएको थियो। 

आन्दोलनका लागि विभिन्न ठाउँमा जानुपर्ने हुन्थ्यो। हल्चोक, खाद्य संस्थान आदि ठाउँमा। 

खाद्य संस्थानमा आन्दोलनमा जाँदाको घटना- श्रीमानको चिनेका मान्छे रहेछन् र मैले बच्चालाई असर नहोस् भनेर एउटा खाली कोठा खोल्न लगाएकी थिएँ, आरामका लागि भनेर। कोठा खोल्नासाथ गन्हाएका जुत्ताहरु बहिर खोलेर ४/५ जना पुरुष भित्र पसे। त्यो जुत्ताको गन्धले पेटमा रहेको बच्चालाई कति असर गर्यो होला? अहिले पनि मलाई त्यो गन्ध आइरहन्छ। 

आन्दोलनमा अश्रु ग्याँस त कति छोडिए कति। त्यो ग्याँस पनि मेरो पेटमा हुर्किंदै गरेको बच्चाले कति खायो भनिसाध्य छैन। पार्टीलाई गाह्रो भएको अवस्थामा मैले सहयोग गर्नुपर्छ भन्ने भावनाले मलाई आराम गरेर बस्ने मन पनि भएन। 

मेरो दोस्रो बच्चा पनि थापाथलीस्थित प्रसूति गृहमा अप्रेसन गरेर झिकिएको हो। मैले छोरालाई त जन्म दिएँ तर छोरो सुस्त जन्म्यो। डाक्टरले पनि आन्दोलनमा हिँड्दा खाएका विषाक्त ग्यासले गर्दा यस्तो जन्मेको भने। 

मैले पनि त्यो बेला लापरबाही गरेँ कि भन्ने लाग्छ। छोरीको समयमा डा. रिजाललाई देखाएको थिएँ, छोराको समय भने चिनेकै आफन्तको क्लिनिकमा देखाएको थिएँ। उहाँले मलाई त्यो समयमा कुनै सुझाव दिने, राम्रोसँग चेकअप गर्ने पनि गर्नुभएन। बेलैमा मलाई सावधान गराएको भए बच्चा राम्रो जन्मन्थ्यो कि भन्ने अहिले पनि पछुतो लाग्छ। 

बाबु जन्मेपछि मेरो आधाभन्दा बढी समय घर र अस्पताल गर्दा नै बित्यो। एकदमै कमजोर भएकाले अस्पताल लगिरहनुपर्थ्यो। चार वर्षको हुँदा अलिअलि हिँड्ने भएको थियो। 

डाक्टरले पाँच वर्षको हुँदा निको हुन्छ भनेका थिए। तर त्यो चाहिँ झुटो रहेछ। उपचार गर्न भारत पनि पुर्याएँ। केही नलागेपछि नेपाल नै फर्काएर कान्ति बाल अस्पतालमा देखाइरहेका थियौँ।

एक दिन छोरालाई निक्कै ज्वरो आयो। अस्पताल लगियो। उपचार पनि धेरै गरियो तर बचाउन भने सकिएन। 

एउटी आमाका लागि आफ्नो सन्तान गुमाउनुभन्दा ठूलो पीडा के हुनसक्छ र? चित्त बुझाउनुभन्दा अर्को विकल्प पनि त छैन।

बच्चा जन्मँदाको प्रसव पीडा र खुसीका बारेमा भने म यस्तै हुन्छ भनेर बयान गर्न सक्दिनँ। पीडामा कति पटक दुखी भएँ र खुसीमा कति पटक हाँसे मलाई त याद पनि छैन।   

पीडामा पनि अगाडि त बढ्नु नै छ। पीर र पीडामा मात्रै बसेर पनि नहुने रहेछ। काम कर्तव्यहरु पनि छन्। निर्वाह गर्नैपर्यो। अहिलेसम्म पनि राजनीतिमा नै सक्रिय छु। भोलिका दिनमा पनि सक्रिय रहिरहने छु।  

०००
प्रसूति भनेको सबैभन्दा कठिन पीडा हो र जिन्दगी भनेको कठिन यात्रा। मलाई लाग्छ, जिन्दगीका सबै चरण प्रसूति पीडा नै हो।

एउटा बच्चा जन्मिँदाको पीडा सम्झने हो भने त मान्छेले दोस्रो बच्चा नै जन्माउँदैन। मान्छे पीडा विस्तारै भुल्दै जान्छ र फेरि अर्को पीडाको सामना गर्छ। असहज वातावरण बिर्संदै गएर सहज वातावरण निर्माण गर्दै जानु नै जीवन हो। 

मेरी छोरी अहिले २४ वर्षकी भइन्। पढाइको सिलसिलामा उनी अमेरिका पुगेकी छिन्। छोरा नबित्दासम्म त सबै क्षण खुसीका नै लाग्थे। अहिलेको समयसम्म आउँदा मलाई कता-कता बिझाएजस्तो लाग्छ। अनौठो लाग्छ।

लाग्छ, पुत्रवियोगको पीडाले बाँचुञ्जेल रुवाइरहने छ। तर पनि पीडा त सहनै छ। मन न हो कहिले बुझ्छ, कहिले बुझ्दैन।

यो पनि

माघ २३, २०७८ आइतबार १२:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।