गण्डकी प्रदेशसभाको चौथो वार्षिकोत्सव : केन्द्रको असहयोगले कमजोर भयो प्रदेश
पोखरा : गण्डकी प्रदेश सभा गठन भएको ४ वर्ष पूरा भएको अवसरमा शनिवार भर्चुअल माध्यमबाट अन्तरक्रिया गरियो। २०७४ माघ ७ मा प्रदेश सांसदहरूले शपथ लिएका थिए । माघ २२ मा प्रदेशसभाको पहिलो बैठक बसेको थियो।
कार्यक्रममा प्रमुख अतिथि एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सङ्घीयताको मर्म र भावनालाई बुझेर अगाडि बढ्नु पर्ने बताएका थिए। उनले गण्डकी प्रदेशले नेपालको एकीकरणका बेला समेत ठुलो योगदान पुर्याएको बताउँदै सङ्घीयताको कार्यान्वयनका क्रममा गण्डकी प्रदेशले आफूलाई अब्बल रूपमा स्थापित गर्नुपर्ने बताए।
उनले सङ्घीय सरकारको केन्द्रमुखी भावनाले अधिकार प्रत्यायोजन गर्न नचाहँदा सङ्घीयता मारमा परेको उल्लेख गरेका थिए।
‘सङ्घीय सरकार अधिकारले प्रदेशलाई अधिकारी प्रत्यायोजन गर्न नचाहँदा विकास निर्माणमा वाधा उत्पन्न भएको छ’,उनले भने, ‘प्रदेश पनि केन्द्रमुखी बनेका छन्, प्रदेशले स्थानियस्तरमा रहेको स्रोतसाधनको प्रयोग गर्दै अगाडी बढ्न सकेका छैनन्।’
केन्द्रले कानुन नबनाएका कारण प्रदेशले कानुन बनाउन नसकेको उनले बताए। उनले सङ्घीय सरकारले बजेट निर्माण गर्दा ४० प्रतिशत सङ्घ सरकारले राखेर प्रदेश र स्थानीय तहलाइ ६० प्रतिशत दिनुपर्ने बताए ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुलुकका ३ तहका सरकार स्थापनासँगै राज्यले नागरिकको नजिक पुग्ने प्रयास गरेको बताए। केन्द्रमा मात्र केन्द्रित हुनुपर्ने अवस्थाको अन्त्य गरेर प्रदेशले आफूलाई मजबुत बनाउनु पर्ने उनको भनाइ थियो। उनले प्रदेश सभामा सहभागी सबै राजनीतिक दलहरूले राजनीतिक परिवर्तनका उपलब्धि जोगाउने तर्फ लाग्नु पर्ने बताए।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभा स्थापन भएको ४ वर्षमा सबैको सहमति कायम गरेर प्रदेशको नामकरण र राजधानी घोषणा गरेको बताए। उनले विगतमा निर्माण भएका कानुनमा परिमार्जन गर्दै पाइप लाइनमा रहेका विधेयकलाई आवश्यक छलफल गरी पारित गर्ने तर्फ लाग्ने बताए।
माघ २२, २०७८ शनिबार २१:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।