डा. प्रकृतिका अनौठा अनुभव : किशोर रौं उखेल्न लगाउने, युवती ऐना हेरेको-हेर्‍यै गर्ने

डा. प्रकृतिका अनौठा अनुभव : किशोर रौं उखेल्न लगाउने, युवती ऐना हेरेको-हेर्‍यै गर्ने

छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. प्रकृति ज्ञवालीकहाँ कहिलेकाहीँ यस्ता बिरामी पनि पुग्छन् जसलाई आफू निकै नराम्रो छु भन्ने भ्रम हुन्छ।

जो व्यक्ति कुरुप छु भन्ने भ्रम पालेर सुन्दरता निखार्न भौंतारिन्छ, यस्तो भ्रममा पर्ने मानसिक समस्यालाई मनोचिकित्सकीय भाषामा बडी डिस्मर्फिक डिसअर्डर भनिन्छ।

एउटा यस्तै बिरामीको उपचार गर्दा भोगेको अनुभव सुनाइन् डा. प्रकृतिले। 

केही वर्ष पहिले करिब १६ वर्षका किशोर डा. प्रकृतिकहाँ पुगे। ती किशोरको विशेष शारीरिक समस्या केही थिएन। उनले सुन्दरताको बाधक आफ्नै शरीरका रौं हुन् भन्ने ठानेछन्। सोचेछन्- शरीरका सबै रौं फाल्न पाइयो भने त सुन्दर बन्न सकिन्छ।

डा. प्रकृतिलाई भेटेपछि ती किशोरले भने- मेरो पूरै शरीर (होल बडी) को रौं निकाल्नुपर्यो। दाह्री-जुँगा पनि आउँदैछ, यो पनि निकाल्नुपर्यो डाक्टरसाब! 

जबकी, उनको शरीरमा रौं खासै थिएन। भर्खर जुँगाको रेखी बस्दै थिए।

डा. प्रकृतिले समस्या अनुमान गरिन्, पक्कै यिनलाई बडी डिसमर्फिक डिसअर्डर भन्ने मानसिक समस्या भएको हुनुपर्छ। 

त्यसपछि डा. प्रकृतिले किशोरलाई शरीरका रौं निकाल्न नपर्ने सुझाव तथा परामर्श दिइन्। रौं निकालेपछि भविष्यमा आइपर्ने बारेमा परामर्श दिइन्। परामर्शपछि किशोर फर्के। त्यसपछि उनी पुनः डा. प्रकृतिलाई भेट्न आएनन्।

ऐना हेरेको हेर्यै युवती
आफू कुरुप छु भन्ने भ्रममा रहेकी एक युवती उपचारपछि समेत सन्तुष्ट हुन नसकेको प्रसंग पनि सुनाइन् डा. प्रकृतिले।

करिब २० वर्षकी युवती अनुहारमा खतको समस्या लिएर डा. प्रकृतिकहाँ पुगिन्। उनको अनुहारमा खासै नदेखिने २/३ वटा खत थिए। ती युवती एकछिन पनि ऐना छोड्दिनथिन्। जतिबेला पनि ऐना हातमा बोकेर हेरेको हेर्यै गर्थिन्।

खत हटाउन पुगेकी ती युवतीको लेजर थेरापी विधिबाट डा. प्रकृतिले खतको उपचार गरिदिइन्। उपचारपछि उनको खत देखिने समस्या पहिलेको भन्दा निकै कम भयो। तर उनी सुन्तुष्ट भने हुन सकिनन्। एकपछि अर्को गर्दै अनुहारमा समस्या देखाउँदै गइन्। 

वास्तविकतामा उनले देखाएका समस्या ठूलदा थिएनन्। सामान्यतः अरुले हेर्दा नदेखिने भए पनि अनुहारमा कहिले दाग छ, कहिले खत छ, कहिले पोतो छ भन्दै कुरुप छु भन्ने भ्रमले उनी तनावमा थिइन्। आफ्नो सुन्दरताप्रति सन्तुष्ट थिइनन्।

ती युवतीलाई बडी डिस्मर्फिक डिसअर्डर मानसिक समस्या भएको डा. प्रकृतिले सहजै अनुमान लगाइन्। त्यसपछि उनलाई मनोपरामर्श समेत दिइन्। केही महिनापछि भने उनले डा. प्रकृतिलाई भेट्न छाडिन्।

पुरुष बिरामी केटी डाक्टर पो रहिछ भन्दै भाग्थे
कुरुप छु भन्ने भ्रमको प्रसंगपछि डा. प्रकृतिले सन् २०१४ मा चीनबाट स्नातकोत्तर तहको छाला तथा यौन रोग विषय अध्ययन गरेर फर्किएपछि हेटौंडा जिल्ला अस्पतालमा काम गर्दाको प्रसंग सुनाइन्। हेटौंडामा काम गर्दाको त्यो क्षण डा. प्रकृति लागि अविस्मरणीय बनेको छ।

डा. प्रकृति हेटौंडा अस्पतालमा काम गर्दा यौनजन्य समस्या लिएर पुग्ने अधिकांश पुरुष बिरामी नै हुन्थे। जिल्ला अस्पतालमा यौनजन्य रोगको समस्या लिएर पुग्ने पुरुष बिरामी त महिला डाक्टर छ भनेर थाहा पाउने वित्तिकै स्वाथ्य जाँच नै नगराई भाग्थे। 

डा. प्रकृतिले सुनाइन्, ‘कति पुरुष बिरामी ढोकाबाट यसो पर्दा खोलेर चियाउँदै हेर्नुहुन्थ्यो अनि केटी डाक्टर पो रहिछ भनेर भाग्नुहुन्थ्यो।’

कयौं बिरामीले त नर्स भन्ठानेर डा. प्रकृतिसँग डाक्टरसाब हुनुहुन्न? भन्दै सोध्थे पनि। अनि म नै डाक्टर हो भन्ने जवाफ पाएपछि यौनाङ्गको समस्या लिएर अस्पताल पुगेका अधिकांश पुरुष बिरामी भागिहाल्थे।

उनले सुनाइन्, ‘केटी मान्छेलाई डाक्टर नै भन्दैनथे। डाक्टर हुनुहुन्न सिस्टर? भनेको धेरै सुन्नुपर्यो।’

अस्पतालमा बसिहाले पनि जाँच गर्ने क्रममा यौनाङ्ग देखाउनुहोस् भन्दा टिकट बोकेर धेरै जना पुरुष बिरामी भागेको उनलाई याद छ।

यौनाङ्गको समस्या लिएर स्वास्थ्य जाँच तथा उपचारका लागि पुगेका करिब ३० वर्षका युवालाई यौनाङ्ग देखाउन अनुरोध गर्दा फुत्त टिकट लिएर भागेको डा. प्रकृतिलाई अझै सम्झना छ।

त्यसो त डा. प्रकृतिलाई नै पनि सुरु-सुरुमा त पुरुष यौनाङ्गको जाँच गर्न असहज हुन्थ्यो। अध्ययनका क्रममा प्राध्यापकको निगरानीमा छाला तथा यौन रोगको समस्या भएका व्यक्तिको स्वास्थ्य जाँच तथा उपचार गर्नु उनका लागि नौलो थिएन। तर आफैं कमाण्ड लिएर यौनाङ्गको जाँच गर्दा भने सुरु-सुरुमा अलि हिचकिचाहट भएको डा. प्रकृतिले सुनाइन्।

चिकित्सकीय धर्म नै बिरामीको चेकजाँच तथा उपचार भएकाले उनी मनको शंकोच तथा असहजतालाई हटाउँदै स्वास्थ्य जाँच गर्थिन्। औषधि उपचार गर्थिन्। केही महिना काम गरेपछि त उनलाई यौनाङ्गको जाँच गर्न असहज लाग्न छाड्यो। 

डा. प्रकृतिले हेटौंडामा काम गर्दा सिफिलिस (भिरिङ्गी) जस्तो यौन रोगको समस्या लिएर अस्पताल पुग्ने बिरामीको चाप निक्कै धेरै देखेको सुनाइन्। सिफिलिस असुरक्षित यौन सम्पर्कका कारण यौनाङ्ग लगायतमा देखिने घाउ-खटिरा हो। 

हेटौंडामा काम गर्दा आफूले यौन रोगको विषयमा जनचेतना जगाउने काममा भूमिका खेलेको सम्झँदा खुसी लाग्ने गरेको उनी बताउँछिन्।

बुबा-आमाको जता सरुवा उतै अध्ययन 
प्रकृतिका आमा-बुबा नै स्वास्थ्यतर्फका सरकारी कर्मचारी हुन्। आमाले मेट्रोन तह र बुबाले सिनियर ल्याब टेक्नोलोजिस्टका रुपमा सरकारी जागिरबाट अवकाश लिएको प्रकृतिले सुनाइन्। 

उनका बुबा-आमाको अन्तरजातीय प्रेम विवाह भएको रहेछ।

बुबाको स्थायी घर गुल्मी भए पनि प्रकृति पोखरामा जन्मिएकी हुन्। उनी करिब तीन वर्षकी हुँदा बुबा-आमाको पोखराको गण्डकी अस्पतालबाट वीर अस्पताल सरुवा भयो। 

बुबा-आमाको वीर अस्पतालमा सरुवा भएपछि प्रकृतिले ललितपुरको जावलाखेलस्थित सुदेशा बोर्डिङ स्कुलमा भर्ना भएर सात कक्षासम्म अध्ययन गरिन्। 

डाक्टरी सपना
सात कक्षामा अध्ययन गरिरहँदा प्रकृतिका बुबा-आमाको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा सरुवा भयो।

उनी पनि बुबा-आमासँग बुटवल पुगेर न्यु लाइट इङ्लिस बोर्डिङ स्कुलमा आठ कक्षामा भर्ना भइन्। उनले त्यहींबाट एसएलसी उत्तीर्ण गरिन्। ११ र १२ कक्षा बुटवलकै तिलोत्तमा कलेजमा अध्ययन गरिन्।

प्रकृतिलाई डाक्टर पढाउने बुबा-आमाको इच्छा थियो। उनलाई पनि सानैदेखि डाक्टर नै बन्ने इच्छा थियो। प्रकृतिलाई बायोलोजी विषय अध्ययन गर्न बढी मन पर्थ्यो। त्यसैले ११ र १२ कक्षापछि उनले एमबिबिएस अध्ययनका लागि तयारी गरिन्।

११/१२ पछि छोटो समयमा उनले नेपालमा नै एमबिबिएस अध्ययनका लागि छनोट परीक्षा दिइन्। तर छनोट नभएपछि उनलाई दोहोर्याएर छनोट परीक्षा दिनुभन्दा बरु विदेश गएर भए पनि चाँडै एमबिबिएस  अध्ययन गरिहाल्नुपर्छ भन्ने सोच आयो। 

उनले चीनमा एमबीबीएस अध्ययन गर्नका लागि छनोट परीक्षा दिइन्। छनोट भइन्। सन् २००२ मा चीन पुगेर सिआन च्याओतोङ युनिभर्सिटीमा  भर्ना भइन्। ६ महिना चिनियाँ भाषा अध्ययन गरिन्। प्रकृतिको सन् २००७ मा एमबिबिएस अध्ययन पूरा भयो। त्यसपछि दुई वर्ष नेपालमा नै इन्टर्नसिप गरिन्।

एमबिबिएस अध्ययनपछि उनले मेडिकल अधिकृतको रुपमा वीर अस्पतालमा करारमा काम गरिन्। उनको सुरु जागिर वीर अस्पतालको आकस्मिक कक्षमा थियो। वीरमा जागिर सुरु हुनासाथ पार्टटाइम जागिरेका रुपमा उनले मनमोहन मेमोरियल अस्पतालमा पनि काम गर्न थालिन्।

करिब डेढ वर्ष वीर अस्पतालमा काम गरेपछि भने उनी मनमोहन अस्पतालमा फुलटाइमर जागिरे भइन्। मनमोहनमा उनले करिब दुई वर्ष काम गरिन्। 

प्रकृतिलाई थप अध्ययन गर्नु छँदैथ्यो। त्यसैले आफूले अध्ययन गरेको चीनको सिआन च्याओतोङ युनिभर्सिटीमा नै स्नातकोत्तर तहको छाला तथा यौन रोग विषय अध्ययनका लागि छनोट परीक्षा दिइन्। पूर्ण छात्रवृति (फुल स्कलरसिप) मा अध्ययनका लागि उनी छनोट भइन्। त्यसपछि चीन पुगरे सन् २०१२ मा उनले एमडी छाला तथा यौन रोग (डर्माटोलोजी एण्ड भेनेरोलोजी) विषयको अध्ययन थालिन्। 

स्नातकोत्तर तहको एमडी छाला तथा यौन रोग विषयको अध्ययन गर्दा उनका गाइड (प्राध्यापक) लेजर सर्जरी विशेषज्ञ थिए।  त्यसैले छाला तथा यौन रोग (डर्माटोलोजी एण्ड भेनेरोलोजी) विषयको अध्ययन गरे पनि  उनी छाला रोग तथा सौन्दर्य विषयमा नै बढी केन्द्रित भएर अध्ययन गर्ने मौका पाइन्। डा. प्रकृति अध्ययन सकेर सन् २०१४ मा नेपाल फर्किइन्। 

डण्डिफोरले सताएपछि सुन्दरता निखार्ने विषयको छनोट
छाला रोग तथा सौन्दर्य विषय नै अध्ययनको गर्नुको कारण खुलाउँछिन् डा. प्रकृति।

उनलाई सानैदेखि अनुहारमा डण्डिफोर (पिम्पल) आउने समस्या थियो। ‘टिन एज’मा यो समस्याले प्रकृतिलाई झन् बढी सतायो। उनले सुनाइन्, ‘एमबिबिएस पढ्दा पिम्पलले एकदमै दुःख दिएको थियो। उमेरको कारणले गर्दा पनि हो।’ 

चीनमा एमबिबिएस अध्ययन गर्दा खानपान, वातावरण नमिलेको र पढाइको चापका कारण राम्रोसँग नसुतेकाले त्यो बेला डण्डिफोरको समस्याले बढी सताएको उनले सुनाइन्। 

डा. प्रकृतिले चीनमा छालाको जाँच गराइन्। औषधि उपचार गरिन्। नेपाल फर्किएर पनि उनले छालाको जाँच गराइन्। तर उनी आफैं चिकित्सक भएकाले अन्य चिकित्सकलाई खुलेर भन्न असहज मानेको उनले महसुस गरिन्। चिकित्सकहरुले पनि समस्याका बारेमा भनिदिन झिँझो मानेको उनले सुनाइन्।

उपचारका लागि औषधिमा मात्रै केन्द्रित भएको पाइन् उनले। समस्या समाधानका लागि परापर्शको पक्ष कमजोर लाग्यो। तर, आफ्नो समस्याको बारेमा उनलाई निक्कै कौतुहलता हुन्थ्यो। चिकित्सकले आफ्नो समस्याको बारेमा खुलेर भन्दिए हुन्थ्यो जस्तो लाग्थ्यो। ‘डक्टरहरु पनि फ्रेण्डली नहुने,’ उनले सुनाइन्, ‘आफूलाई कत्ति धेरै कौतुहल हुन्थ्यो। समस्याको बारेमा कौतुहल मेट्ने वातावरण नै मिलेन।’

हुन त उनलाई प्रसूति तथा स्त्रीरोग विषय अध्ययन गर्ने इच्छा थियो। तर आफैंलाई डण्डिफोरको समस्या भएपछि कामको चाप बढी भयो भने त मेरो अनुहारमा थप डण्डिफोर (पिम्पल्स) लगायतको समस्याले सताउँछ भन्ने उनलाई चिन्ता पर्यो। 

त्यसैले आफ्नो अनुहारमा आएको डण्डिफोरको समस्या समाधानको खोजी गर्न पनि पाइने र अध्ययनपछि अरुलाई पनि सेवा दिन सकिन्छ भन्ने उद्देश्यले उनले छाला तथा यौन रोग र सौन्दर्य विषयको अध्ययन गरेकी रहिछन्। 

यो विषय अध्ययन गर्ने उनको इच्छा त छँदै थियो। भाग्यवश डा. प्रकृतिले यही विषयमा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाइन्। 

हेटौंडामा जागिर र सुन्दरता निखार्ने थप अध्ययन 
चीनबाट छाला तथा यौन रोग विषयको अध्ययन गरेर नेपाल फर्किएपछि काठमाडौंको सोह्रखुट्टेस्थित पिपुल जेनेरल अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञका रुपमा उनले करिब ६ महिना पार्टटाइम काम गरिन्।

त्यसपछि डा. प्रकृतिले विकास थापासँग लगनगाँठो कसिन्। विकास हेटौंडाको एक निजी अस्पतालमा फिजिसियन (चिकित्सक) का रुपमा जागिरे थिए। 

डा. प्रकृति पनि श्रीमानसँग हेटौंडा पुगिन्। त्यही समयमा हेटौंडा जिल्ला अस्पतालमा करार जागिरका लागि आवेदन खुल्यो। उनले पनि आवेदन दिइन्। 

डा. प्रकृति छनोट भइन् र हेटौंडा जिल्ला अस्पतालमा करार जागिरेका रुपमा काम गर्न थालिन्। उनी क्लिनिकल टर्माटोलोजिष्टका रुपमा काम गरिरहेकी थिइन्। उनलाई सौन्दर्य (एस्थेटिक मेडिसिन) विषयमा बढी चासो थियो। त्यसैले उनले सन् २०१६ मा सौन्दर्य (एस्थेटिक मेडिसिन) मा केही महिना भारत पुगेर फेलोसिप गरिन्। जसले सौन्दर्यताको उपचार सम्बन्धी उनको ज्ञान तथा सिपको थप विकास भयो। 

उनले सुन्दरतासँग सम्बन्धित (एस्थेटीक मेडिसिन) को विषयमा दुबई, इन्डोनेशिया, थाइल्यान्डको बैंकक, भारतलगायत मुलुक पुगेर तालिम तथा अध्ययन गरेकी छन्। डा. प्रकृतिले अमेरिकको एसोसिएसन अफ फेसियल एस्थेटिक तालिम पनि लिएकी छन्।

डा. प्रकृति हेटौंडाबाट काठमाडौं फर्किइन्। र, स्वस्ती लेजर एण्ड स्किन केयर क्लिनिकमा छाला रोग तथा सौन्दर्य विशेषज्ञका रुपमा काम गर्न थालिन्। 

तालिमपछि डा. प्रकृति लेजर सर्जरी विधि अपनाएर अनुहारको सुन्दरता निखारिदिने काम गर्न थालिन्। चाउरीपना हटाउने बोटक्स, फिलर, थ्रेडलिफ्टजस्ता सुन्दरतासँग सम्बन्धित उपचार विधि अपनाएर उपचार गर्न थालिन् उनी।

यस्तो विधि अपनाई उपचार गर्दा छालाको चाउरीपना हट्ने तथा छालाको चमकता बढाउन मद्तत मिल्छ जुन उनले दैनिक गर्ने काम हो।

माघ २२, २०७८ शनिबार १७:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।