हचुवामै कार्चेनलाई शहरी विकासमन्त्री बनाएर बधाई दिँदै समर्थक
सुर्खेतः छिरिङ डम्दुल लामा ‘कार्चेन’ कर्णाली प्रदेशको मन्त्री नियुक्त नहुँदै उनलाई बधाईको दिन थालिएको छ। उनलाई समर्थकहरूले सामाजिक सञ्जाल र अनलाइन पार्टलमार्फत भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्रीमा नियुक्त भएको भन्दै बधाई दिएका हुन्।
कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आइतबारसम्ममा मन्त्रिमण्डललाई पूर्णता दिनेगरी तयारी गरे पनि कार्चेनका समर्थकहरूले भने भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री नियुक्त भएको भन्दै भ्रम फैलाएका हुन्। उनलाई प्रचण्डको निर्देशनमा कर्णाली प्रदेश सरकारको मन्त्रीमा सिफारिस गरिए पनि कुन मन्त्रालय दिने भन्नेबारे अझै टुङ्गो लाग्न सकेको छैन।
२०४९ मंसिरमा कार्चेनले तिब्बतको खोचेरनाथ गुम्बाबाट करिब १२ सय वर्ष पुरानो ऐतिहासिक मूर्ति चोरेपछि २०४९ मंसिर १४ गते नै उनीविरुद्ध हुम्ला जिल्ला अदालतमा चोरीको मुद्दा दर्ता भएको थियो।
उनलाई जिल्ला अदालतले २०५१ साल मंसिर २५ गते दुई वर्ष कैद र चार हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। उनले दुई वर्षको कैद काटेर २०७८ असोज ११ गते तोकिएको जरिवाना समेत तिरिसकेका छन्।
नैतिक पतन र फौजदारी अभियोगमा जेल सजाय भोगेका गैरसांसद कार्चेन लामालाई कर्णालीको मन्त्री सिफारिस गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डदेखि पार्टीका प्रदेश इन्चार्ज शक्ति बस्नेत र अर्थमन्त्री जनार्दन शर्माले दबाब दिएको भन्दै यतिबेला माओवादीका प्रदेश सांसदहरू रुष्ट छन्।
पार्टीको प्रदेश संसदीय दलको सहमतिविपरीत केन्द्रले मन्त्रीका लागि सिफारिस गरेपछि माओवादीमा विवाद बढेको छ।
केन्द्रमा रहेका तीन जना पार्टी नेतृत्त्वले आवश्यक सल्लाह नै नगरी शक्ति बस्नेतनिकट मानिने जाजरकोटका गणेशप्रसाद सिंह र जनार्दननिकटका गैरसांसद लामालाई मन्त्री पदका लागि सिफारिस गरेको माओवादीका एक सांसदले उकेरालाई जानकारी दिए।
उनका अनुसार मन्त्रीको नाम सिफारिस गर्नेबारे निवर्तमान मुख्यमन्त्री एवं माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाहीसँग समेत आवश्यक परामर्श गरिएको थिएन।
उनले केन्द्रका तीन नेताले मनलाग्दी निर्णय गरेको भन्दै आफूनिकटका सांसदहरूसँग दुखेसो समेत पोखेका थिए।
एकीकृत समाजवादीले मन्त्रीको नाम नपठाउने
यता नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेशले अहिले नै सरकारमा सहभागी हुने मन्त्रीको नाम नपठाउने भएको छ। वैशाख २ को सहमतिभन्दा बाहिर नजाने भएकोले अहिले नै सरकारमा मन्त्रीको नाम पनि नपठाउने र गएका मन्त्रीलाई फिर्ता पनि नबोलाउने एकीकृत समाजवादी पार्टी कर्णाली प्रदेशका अध्यक्ष अम्मरबहादुर थापाले बताए।
‘हामीलाई बाहिर प्रचारमा ल्याएजस्तो दुई मन्त्रालयमा मन्त्रीको नाम पठाउँदैनौँ, गएका मन्त्रीलाई पनि फिर्ता बोलाउँदैनौँ,’ अध्यक्ष थापाले भने, ‘माथिका शीर्ष नेताहरूले के कसरी दुई मन्त्रालय भाग लगाए! भोलि हामीलाई पार्टी अध्यक्षले बोलाउनु भएको छ काठमाडौं गएपछि छलफलबाट मात्रै निर्णयमा पुग्छौँ।’
उनका अनुसार पार्टीका उपमहासचिव प्रकाश ज्वाला पनि काठमाडौं जाँदैछन्।
समाजवादीले तीन वटा मन्त्रालय पाउनुपर्ने र देवी ओलीलाई मन्त्री बनाउनुपर्ने मागसहित शीर्ष नेताहरूलाई दबाब दिन उनीहरू काठमाडौं जान थालेका हुन्।
दलका नेता एवम् भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाही हाल सरकारमा छन्।
शुक्रबार पार्टीका उपमहासचिव ज्वाला, अध्यक्ष थापा, मन्त्री शाही र प्रदेश सांसद पदम रोकाया बसेको बैठकले तीन मन्त्रालयको दावी नछाड्ने निष्कर्ष निकालेको थियो।
यता निवर्तमान मुख्यमन्त्रीसहित माओवादी केन्द्रका १२ जना सांसदमध्ये ११ जना सांसद जसलाई मन्त्री बनाए पनि आफूहरू सहमत रहेको दलका प्रमुख सचेतक ठम्मर विष्टले बताए।
कर्णाली प्रदेश सभामा सत्ता गठबन्धन माओवादीका १२, नेपाली कांग्रेसका ६ र नेकपा एकिकृत समाजवादीका तीन जना छन्। यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका १३ जना र राप्रपाका एक जना सांसद छन्।
केन्द्रबाट कांग्रेसले मुख्यमन्त्रीसहित तीन, माओवादीले तीन र समाजवादीले दुई मन्त्रालय पाउने निर्णय भएर पनि पत्र आइसकेको छ।
माघ २२, २०७८ शनिबार १६:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।