डुबानमा नेपाली फिल्म : कलाकार टेरपुच्छर नलाउने, फिल्मकर्मी आफैं जुध्ने
काठमाडौं : कोरोनाको दोस्रो लहर केही मत्थर भएपछि हल व्यवसायी जुर्मुराए। सरकारले अनुमति नदिँदा-नदिँदै पनि अँध्यारो हलमा फिल्मको प्रकाश छर्न सफल भए उनीहरु।
हलवालाले फिल्म त दिए तर दर्शकका आँखालाई शीतल दिन भने सकेनन्। गुणस्तरहीन फिल्म हलमा लाग्दा दर्शकको आँखा मात्र होइन, दिमाग नै भड्कियो। नेपाली फिल्म हेरेर तर्सिए दर्शक।
कोभिड महामारीका कारण लामो समयदेखि ठूला ब्यानरका फिल्म थन्केर बसेका छन्। हलले गतिलो कन्टेन्ट नपाएको समयमा ती ठूला ब्यानर डराए।
नराम्रा कन्टेन्टले दर्शक झनै भड्किएको कुरा हलवालाले थाहा पाए पनि उनीहरु निरीह बने। हलले वितरकहरुसँग हारगुहार गर्दा समेत ठूला ब्यानरले वास्ता गरेनन्।
चाडबाडको मौका पारेर बलिउडले कोभिड कम भएको भन्दै फिल्मको क्यालेन्डर निकाल्यो। त्यसको एक हप्तापछि चलचित्र विकास बोर्डको हलमा पत्रकार सम्मेलन भयो। बलिउडले जस्तै फिल्मको क्यालेन्डर निकाल्न लागेछ भन्ने आशसहित बोर्डमा पुगेका पत्रकारहरु त्यहाँको माहोल देखेर ट्वाँ परे।
बोर्डमा फिल्म क्षेत्रसँग आवद्ध संघ-संस्थाहरु भेला भएका थिए। यो ऐतिहासिक भेला थियो किनभने यसरी सार्वजनिक रुपमा फिल्मका संघ-सस्था भेला भएका घटना कमै थिए।
कार्यक्रममा निर्माता संघ, प्राविधिक संघ, द्वन्द्व निर्देशक संघ, चलचित्र संघ, चलचित्र वितरक समाज, निर्देशक समाज, आदिवासी जनजाति चलचित्र संघ, कलाकार संघ लगायतका झण्डै दर्जन बढी संघ-संस्थाका प्रतिनिधि थिए। प्रदेश समितिका प्रतिनिधिहरु समेत जिल्ला बाहिरबाट आइपुगेका थिए।
कार्यक्रममा परिचित कलाकार भने कोही थिएनन्। सबैलाई निम्ता पठाए पनि नआएको विकास बोर्डको गुनासो थियो। कार्यक्रममा गुनासोको सिलसिला कलाकार जमघट नभएकोबाटै सुरु भयो।
फिल्म प्रदर्शनका बारेमा जानकारी दिने भनेर डाकिएको पत्रकार सम्मेलन गालीको कार्यक्रममा परिणत भयो। बोल्न नपाएका प्रतिनिधिहरु माइक खोसेरै बोल्न तम्सिए। सबैले एक-अर्कामाथि गाली बर्साए। हल व्यवसायीको दोष वितरकमाथि, वितरकको दोष निर्मातामाथि, निर्माताको दोष निर्देशकमाथि, निर्देशकको दोष कलाकारमाथि।
कलाकारले असहयोग गरेको विषयमा भने सबै संघ-संस्था एकजुट भए।
कार्यक्रम सकिनै लाग्दा नायक भुवन केसी पुगे। कलाकार संघका प्रतिनिधिलाई श्वास आएजस्तो भएछ, उनले माइक खोसेरै स्टेजमा चढेर केसी फिल्म क्षेत्रको महानायक भन्दै प्रसंसा गरे, बाँकी सबैले थपडी बजाए। केसीले पनि श्वास रहुन्जेल फिल्म क्षेत्रलाई साथ दिने बचन दिए।
सबै फिल्मी संघ-सस्था मिलेर बिरालोको घाँटीमा घण्टी झुण्ड्याउने निर्णय पनि गरे। तर घाँटीमा घण्टी बाँध्न भने कोही तयार भएनन्। फिल्म प्रदर्शनबारे तातो-तातो बहस छेडेर कार्यक्रमस्थलबाट बाहिरिएकाहरु फेरि पहिले जस्तै चिसा भए। नेपाली फिल्म जुर्मुराउन बलिउड फिल्मकै प्रतीक्षा गर्नुपर्यो।
केटाकेटी जसरी लड्छन् फिल्मकर्मी
कोभिडका कारण पछिल्लो समय फेरि हल बन्द भएपछि त्यसको मर्कामा पर्यो फिल्म 'चपली हाइट ३'। मनोरञ्जन क्षेत्रभन्दा बाहिरका मानिसले हल बन्द भएर डुबेको फिल्मबारे बोले। उनीहरुले करोड लगानी बालुवामा गएकोबारे दुःख व्यक्त गरे। तर फिल्म क्षेत्रका मानिस कोही बोलेनन्। उनीहरु निर्माता डुबेको स्वाद मानेर हेरिरहे।
फिल्म प्रदर्शन हुनुअघि चपली हाइटका निर्माता अर्जुन कुमारले कोही नबोलेको गुनासो गरेका थिए। सामाजिक सञ्जालमा उनले गुनासो गर्दैगर्दा जता पनि छिर्के हान्न पुग्ने कलाकार दीपकराज गिरीले 'मेरो पालामा बोलेको थिइस् र' भन्ने खालको प्रतिक्रिया दिएका थिए। 'तँ बोलेको, म नबोलेको' भन्दाभन्दै यो कुराले सञ्चारमाध्यममा ठाउँ पाएको थियो।
यसरी छिर्के हान्ने प्रक्रिया अहिलेदेखि हैन, पहिलेदेखिकै हो। आफूलाई समस्या पर्दा नबोलिदिएको बदला लिँदालिँदै फिल्मी क्षेत्र नजानिँदो पाराले फुटिरहेको छ। कोभिड महामारीको समयमा पनि यो क्रम जारी छ। जसको नतिजा हो, हल बन्द हुनु।
हुलमुलका साथ खेलहरु भइरहेका छन्। विहे-ब्रतबन्धमा मानिसको भीडभाड थेग्न नसकिने छ। सपिङ मलहरुमा उस्तै भीड छ। सार्वजनिक सवारी साधनमा यात्रु गुन्द्रक खाँदिए जसरी यात्रा गरिरहेका छन् तर हल भने बन्द छ।
कोभिडको हिसाबले सबैभन्दा सुरक्षित स्थान हल हो। बस्ने सिट टाढा हुन्छ। दर्शक अगाडि फर्किएर बस्छन्, मुखामुख हुँदैन। हरेक फिल्मपछि हल स्यानिटाइज हुन्छ। गेटमा ज्वरो नापेर मात्रै भित्र जान पाइन्छ।
कोभिड नसर्ने यतिधेरै कारण हुँदाहुँदै सरकारले हल बन्द गरेको छ। फिल्मकर्मी चुपचाप छन्।
फलानो बोलोस्, ढिस्कानो बोलोस्, म किन बोल्ने भन्ने प्रतिस्पर्धाका कारण सबै मौन रहेको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल बताउँछन्। महामारीमा फिल्मी संघ-संस्थालाई एकजुट गराउन कोशिस गरेकै हो। तर बलबुताले नभ्याएको उनी स्वीकार्छन्।
कलाकारको कुरै नगरौं
फिल्मका हरेक पोष्टरमा अटाउने र पर्दा अगाडि चमक-धमक गर्ने कलाकारहरु फिल्म क्षेत्रका लागि एलियन जस्तै भएको फिल्म वितरक अशोक शर्माको भनाइ छ। 'ठूला टाउको ब्यानर बनाएर बिकाउने पर्दा पछाडिका मानिसलाई कलाकारले महामारीको समयमा साथ नदिनु दुःखको कुरा हो,' उनी भन्छन्।
कलाकार भनेका धेरैले पछ्याउने मानिस हुन्। उनीहरुले कुरा राखे सरकारले छिटो सुन्ला भन्ने आशा चलचित्रसँग सम्बन्धित सबै संघ-संस्थालाई थियो। तर जति गुहारे पनि कलाकारले वास्ता नगरेको शर्माले बताए।
फिल्ममा न आर्थिक लगानी छ, न बौद्धिक। पारिश्रमिक लिएर निर्देशकको निर्देशनमा अभिनय गरेरै फिल्म कलाकारको हुन्छ।
'यतिबेला फिल्म क्षेत्र अप्ठ्यारोमा छ। कलाकारले आवाज उठाइदिए हुन्थ्यो जस्तो लाग्छ तर उनीहरु वास्ता गर्दैनन्,' चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका निर्देशक दाहालले एक कार्यक्रममा गुनासो पोखेका थिए।
विभिन्न डेलिगेसनमा कलाकारलाई हात जोडेर आइदिनपर्यो भन्दा पनि नआउने गरेको दाहालको भनाइ छ।
माघ २२, २०७८ शनिबार १२:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।