सहकारी, हाइड्रो र सडक ठेक्काको गोल चक्करमा तीन साथीको हत्या, तर अझै सबै कारण खुलाएन प्रहरीले
मोरङ : मोरङको उखुबारी र ललितपुरको एक घरमा गाडेको अवस्थामा फेला परेको तीन हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका तीन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक गरेको छ।
हत्याको कारण लेनदेन र कमिसनको लोभ भएको प्रहरीले सार्वजनिक गरेको प्रारम्भिक अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। प्रहरीले सप्तरी शम्भुनाथ नगरपालिका–४ का ३२ वर्षीय शम्भु कुमार चौधरी, भक्तपुर बस्ने सुनसरी धरान उप–महानगरपालिका–३ का ४८ वर्षीय राजेन्द्र कुमार श्रेष्ठ र तेह्रथुम सङ्क्रान्ति–२ स्थायी घर भएका हाल काठमाडौँ–८ बस्ने ६३ वर्षका मोहन लिम्बूको हत्या आरोपमा तीन जना पक्राउ परेका हुन्।
प्रहरीले शुक्रवार सार्वजनिक गरेकोमा मोरङ जहदा गाउँपालिका–४ सिस्वनी बस्ने २९ वर्षीय अमित साह भनिने दिनानाथ सोनार, सिराहा नगरपालिका–२१ स्थायी घर भई हाल काठमाडौँ बल्खु बस्ने ३१ वर्षीय अनिलकुमार मण्डल, धनपालथान गाउँपालिका–७ कमलपुर पश्चिम टोल बस्ने ६२ वर्षीय नासिर आलम छन्।
मोरङ प्रहरीका अनुसार मण्डल यो घटनाका मुख्य योजनाकार हुन् भने अन्य २ उनका सहयोगी। घटनामा चार जना भारतीय अपराधीको समेत संलग्नता रहेको देखिए पनि उनीहरू पक्राउ नपरेकाले प्रहरीले उनीहरूको विवरण भने खुलाएको छैन।
लेनदेनै लेनदेन
प्रहरी अनुसन्धानको निष्कर्ष अनुसार तीन जनाको हत्याको कारण लेनदेन देखिएको छ। हालसम्मको अनुसन्धानमा मण्डलसहित मृतक तीन जना हाइड्रो, सिमेन्ट, जग्गा र सडक ठेक्कामा संलग्न थिए।
लिम्बु हाइड्रो र सिमेन्टसँगै जग्गा कारोबारमा संलग्न थिए। श्रेष्ठ जग्गा कारोबारमा संलग्न थिए भने चौधरी सडकसँगै घर निर्माणमा संलग्न थिए। मण्डल एक सहकारीको अध्यक्ष थिए। उनी अन्य तीन साथीहरूको व्यवसायमा आवश्यक पर्ने रकम जोहो गर्ने, बैङ्क ग्यारेन्टी बनाउने तथा सहकारीको रकम लगानी गर्ने गर्दै आएका थिए। उनले सफल यात्रा नामक राइड सेयरिङ एप समेत सञ्चालनमा ल्याएका थिए।
अनुसन्धानमा यो समूहले झापामा ५० करोडमा जग्गा किन्ने तयारी गरेका थिए। जग्गामा श्रेष्ठ संलग्न थिए। चौधरीले हालसालै दाङको लमहीमा बन्दै गरेको फोर लेन सडकको पेटी ठेक्का पाएका थिए। त्यसका लागि आवश्यक पर्ने करिब डेढ अर्बको बैङ्क ग्यारेन्टी बनाउने जिम्मा मण्डलले लिएका थिए।
उता लिम्बु हाइड्रोपावर र सिमेन्ट उद्योगमा लगानीको तयारीमा थिए। घलेन्द्री हाइड्रो पावर, गणपति सिमेन्ट अनि भूगर्भ सिमेन्टमा लगानीबारे समूहमा छलफल भइरहेको थियो।
एकाएक हराए साझेदार
मङ्सिर ४ गते श्रेष्ठ घरबाट लगानीबारे छलफल गर्न भनेर भक्तपुरको घरबाट हिँडेका थिए। उनले परिवारसँग चौधरीको नाम लिएका थिए। घरबाट हिँडेको लामो समयसम्म पनि सम्पर्क नगर्ने श्रेष्ठको बानी थियो।
यता परिवार काममा होलान् भनेर बस्दा मोरङ धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा फेला परेको २ शव श्रेष्ठ र चौधरीको रहेको खुल्यो। दुवैको शव खाल्डो खनेर गाडेर नुन छर्किएको अवस्थामा फेला परेको थियो।
साझेदारमध्ये लिम्बुको शव माघ २० गते ललितपुरको एक घरको पछाडि गाडेर सिमेन्ट ढलान गरेको अवस्थामा फेला पर्यो। चार साझेदारमध्ये एक मण्डल मात्रै जीवित फेला परे र अहिले उनी तीन जना साथीको हत्याको आरोपमा मोरङ प्रहरीको हिरासतमा छन्।
'सुरुवातमा ललितपुरमा ६३ वर्षीय मोहन लिम्बु मारिए। त्यसपछि राजेन्द्रकुमार श्रेष्ठ र शम्भुकुमार चौधरीलाई लिएर उनी विराटनगर आएका थिए’ जिसीले भने, ‘राजेन्द्रको ५ मङ्सिर र ७ मङ्सिरमा चौधरीको हत्या भएको खुलेको छ,’ जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख एसपी जनार्दन जिसीले शुक्रवारको पत्रकार सम्मेलनमा भने।
एसपी जिसीले दिएको जानकारी अनुसार लिम्बुको हत्या शव फेला परेको ललितपुरको गोदावरी नगरपालिका–१२ स्थित धापाखेलको घरभित्रै भएको थियो। डोरीले घाँटी कसेर हत्या गरेपछि उनलाई कोठाभित्रै खाल्डो खनेर गाड्ने प्रयास गरे। तर कोठाभित्रको ढलान फुटाउन गार्हो भएपछि उनले सहयोगीको सहयोग लिएर घर पछाडिको खाली जग्गामा खाल्डो खनेर शव पुरे अनि नुन हालेर माथिबाट ढलान गरिदिए।
राजेन्द्रलाई धनपालधान गाउँपालिका-७ स्थित कमलपुर जाने नहरमा डोरीले घाँटी कसेर हत्या गरे। जग्गा देखाउने बहानामा सो क्षेत्रमा लगेको प्रहरीको आशङ्का छ। अनि शव भेटिएको स्थानबाट एक सय मिटर दक्षिणतिर चौधरीको हत्या गरेर श्रेष्ठ र चौधरीको शव उखु बारीमा ३० मिटरको फरकमा खाल्डो खनेर पुरे र शव चाँडो गलाउन दुवै शवमा नुन छरिदिएका थिए।
ठेक्काको बैङ्क ग्यारेन्टीको कमिसन मुख्य विवाद
अनुसन्धान स्रोतका अनुसार दाङको लमहीमा बन्दै गरेको फोर लेनको ठेक्का लागि चाहिने करिब डेढ अर्बको बैङ्क ग्यारेन्टीको कमिसनको विवादमा हत्या गरेको मण्डलको दाबी गरेका छन्। तर हत्याको कारण कमिसन विवाद मात्र देखिन्न।
अनुसन्धानमा ललितपुरका हरि खड्काको जग्गा धितोमा राखेर बैङ्क ग्यारेन्टी बनाउन उनीहरू सहमत भएकोसम्म खुलेको छ। खड्काले मण्डलसँग मिलेर कमिसन लिएर धितो चाहिनेहरूलाई जग्गा राखिदिएर सो बापत कमिसन लिने गर्दै आएका थिए। उनलाई मण्डलले नै भेटाएका थिए।
लिम्बुले समेत कमिसन मागेकाले हत्या गरेको उनले दाबी गरेका छन्। त्यसो हो भने श्रेष्ठ र कमिसन दिने चौधरीको हत्या किन गरे उनले? जबकि यी दुवैको कमिसनमा भागिदारी खोजेका थिएनन्। चौधरीलाई त उल्टो बैङ्क ग्यारेन्टी चाहिएको थियो। उनी नै मारिएपछि कसले दिन्छ र कमिसन?
प्रहरीले लिम्बु र मण्डलको नाममा बनेको २ अर्ब ५० करोडको अर्को सम्झौता पत्र फेला परेको छ जसमा हाइड्रो र सिमेन्ट उद्योगमा लगानी गर्ने उल्लेख छ।
करारनामामा मण्डल प्रथम पक्ष छन् भने लिम्बु दोस्रो पक्ष। करारनामामा लिम्बुलाई लगानीका लागि मण्डलले पैसा दिने र सो बापत उनले १५ प्रतिशत ब्याज तिर्ने उल्लेख छ। तर करारनामामा साक्षी र कसैको औँठाछाप र हस्ताक्षर भइसकेको छैन।
तर श्रेष्ठ किन मारिए त ? खुलेको छैन। उनीहरू मिलेर झापामा ५० करोडको जग्गा किनेर प्लटिङको योजनामा रहेको र श्रेष्ठ साझेदारले पैसा खाइदियो व्यवहार मिलाउन जानु छ भनेकाले उनको हत्या जग्गा कारोबारसँग जोडिएको प्रहरीको आशङ्का छ।
प्रहरी अहिले प्रारम्भिक अनुसन्धानमै भएकाले मण्डलले गरेका दाबीहरू र अपराधमा संलग्न हुनसक्ने देखिएका भारतीय अपराधी भेरिफाई गर्न बाँकी छ। पूर्ण अनुसन्धानपछि मात्र अहिले धमिलो रहेका तर्कहरू खुल्न सक्छन्।
माघ २१, २०७८ शुक्रबार १५:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।