‘गाउँ आएको बाटो’का छायांकार क्याप्रोनको धम्की, अन्तर्राष्ट्रिय महोत्सवमा फिल्म रोकिदिन्छु

‘गाउँ आएको बाटो’का छायांकार क्याप्रोनको धम्की, अन्तर्राष्ट्रिय महोत्सवमा फिल्म रोकिदिन्छु

काठमाडौंः एउटा मात्रै फिल्म बनाएर ब्याज खाएको आरोप लागेका निर्देशक नवीन सुब्बाले धेरै समयपछि नयाँ फिल्म घोषणा गरे- 'गाउँ आएको बाटो'। बीचमा उनले 'गुडबाइ काठमाडौं' नामको फिल्म बनाएको दावी गरे। यद्यपि त्यो फिल्म पनि विदेशका फेस्टिभलमा मात्रै लागेको छ रे। नेपाली दर्शकले त्यो फिल्म हेर्न पाएका छैनन्।

केही महिनाअघि तामझामका साथ सुब्बाले तेस्रो फिल्म घोषणा गरे। नेपालका फिल्मकर्मीले कला नबुझ्ने भन्दै घोषणा कार्यक्रममा सबैलाई गाली पनि गरे। नेपालीभन्दा सस्तो पारिश्रमिक र दक्ष जनशक्ति भन्दै हलिउडबाट सिनेमाटोग्राफर झिकाए- मार्सिन क्याप्रोन। 

यता फिल्मको काम भइरहेको छ। तर क्याप्रोन भने आफ्नो 'गाउँ' अमेरिका फर्किएका छन्।

काममा विवाद आएपछि क्याप्रोनले सेटमै प्रोजेक्टरमा लात हानेर अमेरिका फर्किएको प्रत्यक्षदर्शीले बताएका छन्।

विवाद के हो ?

सम्झौतामा फिल्मको सुरुमै २५ प्रतिशत पारिश्रमिक उपलब्ध गराउने उल्लेख गरिएको थियो। त्यही रकम उपलब्ध नगराएको भन्दै क्याप्रोनले काम छाडेको बताइएको छ।

निर्माता आमोद राई भने क्याप्रोनले पूरै पैसा एकैचोटी मागेकाले समस्या आएको बताउँछन्। क्याप्रोन सम्झौताअनुसार नगएको र क्रिएटिभ मामिलामा निर्देशकसँग मतभिन्नता भएकाले उनले काम छाडेको राईको भनाइ छ। 

यता छायांकार क्याप्रोनले भने राईले झुट बोलेको बताएका छन्। एक फिल्मी अनलाइनको समाचारमा गएर उनले राईले झुट बोलेको प्रतिक्रिया दिएका हुन्।

उनले सामाजिक सञ्जालमै पनि आफ्नो भडास पोखेका छन्- 'निर्माता आमोद राईले बाचा गरेको २५ प्रतिसत पैसा पाउनका लागि मैले फिल्म छायांकन रोक्नुपर्यो। म नेपाल आएकै ६ हप्ता पुगिसेको थियो, उनीहरूले भनेजस्तो फिल्मको सुरुआतमै २५ प्रतिसत पैसा दिइएन। यो मान्छे झुटो हो।' 

क्याप्रोनले राईलाई आफ्नो कामबारे थाहा नभएको पनि आरोप लगाएका छन्। उनले थप लेखेका छन्- 'उनी एक स्कुलका शिक्षक हुन् तर फिल्म निर्माता बन्न चाहन्छन्। यीनलाई आफ्नो कामबारे थाहा छैन। प्रोडक्सनले अझै मैले काम गरेका बाँकी पारिश्रमिक दिएको छैन। यो समस्या समाधान भएन भने, अन्तर्राष्ट्रिय महोत्सवहरूमा फिल्म प्रर्दशन गर्नबाट रोकिदिनेछु।'

माघ २१, २०७८ शुक्रबार १४:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।