विद्यार्थी स्वास्थ्योपचार कोषमार्फत दिइने सुविधा झन्झटिलो नबनाउन विद्यार्थीको माग
काठमाडौं : नेपाल विद्यार्थी संघ रत्नराज्य लक्ष्मी क्याम्पस इकाइका विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयमा तीन बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन्।
बिहीबार विद्यार्थीहरुले निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारीलाई भेटी विद्यार्थी स्वास्थ्योपचार कोषमार्फत विद्यार्थीले पाउने स्वास्थ्य उपचार खर्चको सुविधा झन्झटिलो नबनाउन माग राख्दै ज्ञापनपत्र बुझाएका हुन्।
विद्यार्थीले ज्ञापनपत्र बुझाउँदै भनेका छन्, ‘हाम्रा माग तत्काल सम्बोधन गरी विद्यार्थीहरुले व्यहोरिरहेको अनावश्यक झन्झट र असुविधाहरुको अन्त्य गर्न हामी सम्बन्धित निकायको ध्यानाकर्ष गराउँछौं।’
त्रिभुवन विश्वविद्यालय अन्तर्गत विभिन्न आंगिक क्याम्पसहरुमा विद्यार्थीहरुले प्रत्येक वर्ष स्वास्थ्य शुल्क वापत तिर्दै आएको शुल्कलाई व्यवस्थित र पारदर्शी बनाउनुपर्ने ज्ञापन पत्रमा उल्लेख छ।
विद्यार्थीले बुझाएको ज्ञापनपत्रमा ‘स्वास्थ्य शुल्कलाई स्वास्थ्य बिमामा रुपान्तरण गरी विद्यार्थीलाई बिमा कार्ड उपलब्ध गराउनुपर्ने’उल्लेख छ।
क्याम्पसलाई थप स्वायत्त बनाउँदै क्याम्पसबाट नै स्वास्थ्य बिमा कार्ड उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्ने माग विद्यार्थीले अघि सारेका छन्।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा सम्बन्धन प्राप्त कलेजहरुमा स्वास्थ्य बिमा कार्यक्रम गराउनुपर्ने विद्यार्थीको माग छ।
विद्यार्थीले ज्ञापनपत्रमार्फत राखेका माग उपयुक्त नै भएको निर्देशक अधिकारीले जानकारी दिए। उनले भने, ‘माग विद्यार्थी हितमा नै देखिन्छन्। विधान र नियम अनुसार नै देखिन्छन्।’
एक लाखसम्मको छुट सुविधा
उकेराले विद्यार्थी स्वास्थ्य उपचार कोषको विषयमा समाचार सम्प्रेषण गर्दै आएको छ। त्रिभुवन विश्वविद्यालय तथा यस अन्तर्गतका शैक्षिक संस्थामा अध्ययन गर्ने विद्यार्थीले स्वास्थ्य उपचार खर्चमा एक लाख सम्मको छुट पाउने व्यवस्था छ।
विद्यार्थी बिरामी भएको खण्डमा विभिन्न ६० वटा अस्पतालबाट विद्यार्थीले स्वास्थ्य उपचार खर्चमा ९० प्रतिशत छुट पाउने व्यवस्था रहेको छ। तर यो सुविधाबारे प्रचारप्रसार नहुँदा धेरै विद्यार्थीलाई थाहा नै नभएको पाइन्छ।
यस विषयमा क्याम्पसहरुले समेत विद्यार्थीलाई प्रभावकारी रुपमा जागरुक बनाएको पाइँदैन। क्याम्पस भर्ना हुने क्रममा नै विद्यार्थीले पाँच सय शुल्क बझाउनुपर्ने हुन्छ। जसबापत बिरामी भएको खण्डमा एक लाख बराबरको उपचार सुविधा पाउने व्यवस्था छ।
माघ २१, २०७८ शुक्रबार ०९:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।