लुम्बिनी प्रदेश सभाका चार वर्ष : सरकार फेरबदलदेखि बैठक अवरोध र बहिष्कारको खेल
बुटवल : लुम्बिनी प्रदेश सभा स्थापनाको चार वर्ष पुगेको छ। २१ माघ २०७४ मा जेष्ठ सांसदको हैसियतले स्व. बलदेव पोखरेलले लुम्बिनी प्रदेश सभाको पहिलो बैठक सुरु गरेका थिए। त्यही बैठकलाई आधार मान्दै प्रदेश सभाले आफ्नो स्थापना दिवस मनाउँदै आएको छ ।
प्रदेश सभा स्थापना भएको चार वर्षमा लुम्बिनी प्रदेशमा सरकार फेरबदलदेखि निरन्तर अधिवेशनका बैठक अवरोध र बहिष्कारसम्मका खेल भए। त्यति मात्र हैन, शंकर पोखरेल नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको बजेट कुलप्रसाद केसी नेतृत्वको सरकारले फिर्ता गरेको घटना पनि प्रदेश सभाको यो चार वर्षको बीचमा भएको छ ।
प्रदेश सभाको नवौँ अधिवेशनसम्म आइपुग्दा नवौँ अधिवेशनका सबै बैठकमा एमालेले विरोध समेत गर्यो।
७४ विधेयक दर्ता ६७ प्रमाणीकरण
लुम्बिनी प्रदेश सभाबाट चार वर्षकोको अवधिमा ६७ विधेयक पारित भई प्रमाणीकरण भएका छन् ।
सचिवालयमा हालसम्म ७४ वटा विधेयक दर्ता भएका छन्। तीमध्ये सभामा पेस हुन बाँकी १, सचिवालयबाट फिर्ता १ र सभाबाट फिर्ता भएका ३ वटा विधेयक छन्।
त्यस्तै समितिमा विचाराधीन विधेयकको सङ्ख्या २ छ ।
लुम्बिनी प्रदेश सभा सचिवालयका सूचना अधिकारी दिनेश अधिकारीले सञ्चार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेस हुन बाँकी रहेको बताए ।
त्यस्तै लुम्बिनी प्रदेश अनुसन्धान ब्युरोको स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सचिवालयबाट फिर्ता भएको छ। उक्त विधेयक प्रदेश सरकारको २०७८ कात्तिक १२ गतेको निर्णय अनुसार कात्तिक २८ गते सचिवालयबाट फिर्ता भएको उनले बताए।
त्यस्तै प्रदेश ५, प्रदेश लोक सेवा आयोगको काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५, प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र आर्थिक वर्ष २०७८/७९ को सेवा र कार्यका लागि लुम्बिनी प्रदेश, प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा बनेको विधेयक फिर्ता भएको छ। लोक सेवा सम्बन्धी विधेयक २०७५ असार १९ गते दर्ता भएको थियो। उक्त विधेयक २०७५ चैत २७ गते फिर्ता भएको थियो।
त्यस्तै अर्थ सम्बन्धी कार्यान्वयन गर्न बनेको विधेयक र प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा बनेको विधेयक गत भदौ ७ गते फिर्ता भएको सूचना अधिकारी दिनेश अधिकारीले बताए।
२ वटा विधेयक समितिमा विचाराधीन रहेका छन् । विज्ञान प्रविधि तथा बहुप्राविधिक प्रतिष्ठानको स्थापना तथा सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सामाजिक विकास समिति विचाराधीन अवस्थामा छ। जीवनाशक विषादी नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक कृषि वन तथा वातावरण समिति विचाराधीन अवस्थामा रहेको छ।
कति बसे बैठक?
२०७४ माघ २१ गते देखि २०७८ मंसिर १ सम्म प्रदेशमा ९ वटा अधिवेशन भए। ९ अधिवेशनमा जम्मा १ सय ८८ वटा बैठक भएका छन्। पहिलो अधिवेशनमा २२, दोस्रोमा २८, तेस्रोमा ३३ वटा बैठक भएका छन्।
त्यसैगरी चौथोमा ३२, पाँचौँमा १०, छैटौँमा ३१, सातौँमा ५, आठौँमा १४, विशेष अधिवेशनमा १ र नवौँ अधिवेशनमा १२ वटा बैठक बसेका छन्।
माघ २१, २०७८ शुक्रबार ०७:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।