आइडलका दुवै गोल्डेन माइक विजेता शोबाट बाहिरिए, अब वाइल्ड कार्डको भर

आइडलका दुवै गोल्डेन माइक विजेता शोबाट बाहिरिए, अब वाइल्ड कार्डको भर

काठमाडौँ : कुनै पनि रियालिटी शोमा गोल्डेन माइक या गोल्डेन पिन वा गोल्डेन टिकट जित्नु भनेको उ अडिसन राउन्डका सहभागीमध्ये अब्बल अनि त्यो सिजनको दाबेदार हो। त्यसैले त उसले केही सेलेक्सन राउन्डमा छुट पनि पाउँछन्।

तर कस्तालाई गोल्डेन माइक दिइयो भन्ने पनि हुने रैछ। मानेमा नेपाल आइडल सिजन ४ का तीनै जजको निर्णयलाई दर्शकले अस्वीकार गरे। जजले हाम्रोलाई हैन राम्रोलाई भोट हालौँ भनिरहे पनि जजलाई राम्रो लागेका दर्शक/ श्रोतालाई राम्रो लागेन। त्यही भएर त सिजन ४ का २ गोल्डेन माइक विजेता नै प्रतियोगिताको टप १० भित्र समेत अटाउन सकेनन्। यो दर्शक अनि श्रोताको मात्र दोष हो त ?

यस अगाडिको एलमिमेसन राउन्डबाट गोल्डेन माइक विजेता मदन गुरुङ आउट भए। यो साता राजकुमार परियार। मदनले राम्रो गाउँदा गाउँदै आउट भए। जजकै कमेन्ट हेर्ने हो भने मदनले एकपछि अर्को कमजोर प्रस्तुति दिइरहे।

जज सुगम पोखरेलकै भनाईमा उनले चिट चोरे प्रतियोगितामा। गत साताको प्रस्तुति पनि कमजोर थियो उनको। जजहरूले प्रस्तुति सुधार्न भनिरहे, उनले बिगारी रहे। सायद त्यसैको प्रभाव हो बिहीबारको नतिजा।
मदन आउट हुँदा जज शम्भुजित बास्कोटा जसरी रिसाए, सुवानी मोक्तान र सुगम जति सेन्टीमेन्टल भए राजकुमार आउट हुँदा त्यो भाव देखिएन जजमा। हल्का सरप्राइज त भए जज तर त्यति दुखी देखिएनन्। तर कार्यक्रम गोल्डेन माइक विजेताहिन भयो।

वाइल्ड कार्डका लागि अडिसन आव्हान भइसकेको छ। कतै यी नै वाइल्ड कार्ड इन्ट्रीमा पो पर्छन् कि! 

माघ २१, २०७८ शुक्रबार ०२:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।