साढे २ अर्बको खेलमा पाट्नरले आफ्नै तीन साझेदारको हत्या गरे, भारतीय अपराधी प्रयोग गरेर हत्या, खाल्डामा शव

साढे २ अर्बको खेलमा पाट्नरले आफ्नै तीन साझेदारको हत्या गरे, भारतीय अपराधी प्रयोग गरेर हत्या, खाल्डामा शव

काठमाडौँ : अनिलकुमार मण्डल, मोहनप्रसाद लिम्बु, राजेन्द्रकुमार श्रेष्ठ अनि शम्भु चौधरीले मिलेर आपसमा व्यवसाय सुरु गरे। चौधरीलाई घर बनाएर कसरी नाफा गर्न सकिन्छ भन्ने आइडिया थियो।

धरानका श्रेष्ठसँग केही पुँजी थियो। हाइड्रोबारे जानकार थिए लिम्बु। यही समूहमा मिसिए मण्डल। यी चारै जना मिलेर जग्गा किन्दै घर बनाएर बेच्दै आफ्नै व्यापार अगाडि बढाइरहेका थिए।

जग्गा कारोबारमा नाफा हुन थालेपछि उनीहरू हाइड्रोमा लगानी गर्न तम्सिए। घलेन्द्री हाइड्रो पावरको योजना बन्यो। दुखमा जुटेका चारै जना साथीहरू मिलेर लगानी गर्ने भए।

नेपालमा सिमेन्टको व्यापार चम्किरहेको छ नै। वैदेशिक लगानी समेत आएको यो व्यवसायमा किन लगानी नगर्ने ? चारै जना साथीहरू मिलेर छलफल गर्दा अगाडि बढ्ने सहमति भयो। गणपति सिमेन्ट अनि भूगर्भ सिमेन्टमा लगानी गर्ने पक्का भयो।

तेह्रथुमका  लिम्बु भक्तपुरमा बस्थे। सुनसरीको धरान-३ का श्रेष्ठ भक्तपुरमा बस्थे अनि सप्तरीको शम्भुनाथ गाउँपालिका–४ का शम्भु चौधरी काठमाडौँ बस्थे। सिराहाका अनिलकुमार मण्डल काठमाडौँ आउजाउ गरिरहन्थे।

तीन जना साझेदार आफ्नो जिम्मेवारीमा इमानदार थिए। तर मण्डल अलि बढी महत्त्वाकाङ्क्षी। यी चार जना मिलेर जग्गा, हाइड्रो अनि सिमेन्ट उद्योग साढे २ अर्बको लगानीको रणनीति बनाए। मण्डल सहकारीमा समेत संलग्न भएकाले चााहिएको बेला पैसा जोहो गर्न सक्थे। 

उनी समूहको पैसा चलाउँथे फर्काउन बहाना गर्थे। तर अविश्वास गरिसकेका थिएनन् अन्यले। 

यो समूहका मुख्य व्यक्ति थिए तेह्रथुमका  लिम्बु। ६२ वर्षीय लिम्बुलाई बाँकी साझेदारहरूले विश्वास गर्थे। तर उनी मण्डलको व्यवहारबारे सन्तुष्ट थिएनन्। एक बैंक ग्यारेन्टीबारे लिम्बू र मण्डलविच विवाद थियो कमिसनलाई लिएर।

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार साझेदारहरूले आफ्नो भूमिकाबारे शङ्का गरेको चाल पाएका उनी कारोबार सँगै कमिसन एक्लै लिने योजनामा लागे। यसका लागि सबैभन्दा पहिला लिम्बु उनको नजरमा परे।

लिम्बु भएसम्म आफ्नो योजना सफल नहुने भन्दै उनले भारतका पेशेवर अपराधीसँग सम्पर्क गरेर तीनै जना साझेदारको हत्या गर्ने योजना बनाए। अनुसन्धानमा संलग्न स्रोतका अनुसार उनले सबैभन्दा पहिला लिम्बुको हत्या योजना बनाए। यसका लागि २० लाख खर्च गरेको देखिएको छ।

फेसबुकमा ललितपुरको गोदावरी नगरपालिका–१२, थेचो बसपार्कमा रहेको घर भाडामा दिने सूचना देखेपछि उनले सम्पर्क गरेर अनलाइन र गार्मेन्ट सम्बन्धी काम गर्ने भनेर मासिक ३० हजारमा भाडामा लिए। उनले त्यो घर हत्याकै योजना अनुसार भाडामा लिएको देखिएको प्रहरी स्रोत बताउँछ।

OOO

माघ १२ गते स्थानीय गङ्गाप्रसाद सिंहको उखुबारीमा कामदार उखु काट्दै जाँदा देखिएको खाडलबारे शङ्का गरेर प्रहरीलाई खबर नगरेको भए यो हत्या घटना बेपत्ताकै सूचीमा मात्र समेटिन सक्थ्यो। जसले घटना गरायो निकै योजनाका साथ गरेका थिए।

धनपालथान-७ बोर्डिङ टोलको उखुबारीमा उखु काट्ने क्रममा केही मजदुरले अस्वाभाविक खाल्डो देखे। मान्छे मारेर उखु बारीमा गाड्ने घटना तराइमा भइरहन्छ। उनीहरूलाई शङ्का लागेर साहुलाई भने। साहुले प्रहरीलाई खबर गरे।

उखुबारी बस्तीबाट करिब ५ सय मिटर टाढा थियो। स्थानीय गङ्गाप्रसाद सिंहले उखु लगाएका थिए। प्रहरीले शङ्का लागेको खाल्डो खन्दा एक पुरुषको शव फेला पर्यो। ती को हुन् खुलेन। दोस्रो दिन त्यही खाल्डोको करिब ३० मिटरको दुरीमा उस्तै गरी जमिन खोस्रिएको देखिएपछि खन्दा अर्को शव फेला पर्यो।

उखुबारीमा २ जनाको शव फेला परेको खबर फैलिएसँगै स्थानीय क्षेत्रमा त्रास फैलियो। पहिलो शव त फेला पर्यो तर कसको खुलेको थिएन।

जग्गा कारोबारसँग जोडिएको क्रूर हत्या शृङ्खला : मोरगंको उखुबारीदेखि ललितपुरको घरको कम्पाउन्डको खाल्डोसम्म तीन शव

दोस्रो दिन खाडलबाट निकालिएको शवको पहिचान खुल्यो। शवको कपडाबाट प्रहरीले नेपाल टेलिकमको सिम कार्ड, पर्स र सवारी चालक अनुमति पत्र फेला परेकाले पहिचान भएको थियो। शव थियो सुनसरीको धरान-३ घर भई भक्तपुरमा बस्दै आएका ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको।

प्रहरीले आफन्तसँग सम्पर्क गर्यो। उनको दाइ सम्पर्कमा आए। भक्तपुरको परिवार काममा होलान् भनेर ढुक्क थिए। तर हत्याको खवर सुने।

धरानमा श्रेष्ठले २५ वर्ष सुन पसल चलाएपछि ८ वर्ष जापान बसेको खुल्यो। उनी साथीहरूसँग मिलेर जग्गा कारोबारमा लागे। जग्गा कारोबार राम्रै चल्दै थियो। एकाएक उनी मङ्सिर ४ गते परिवारसँग धरान जान्छु भनेर भक्तपुरबाट हिँडेका थिए। माघ १३ मा उनको शव उखुबारीमा फेला पर्यो।

आफन्तबाट साझेदारले पैसा खाइदिएको भनेको सूचना आएपछि मोरङ प्रहरीले घटनाको कारण लेनदेन हुनसक्ने शङ्का गरेर अनुसन्धान अगाडि बढायो। यहीबिच झापामा १८ बिगाहा जग्गा प्लटिङ सुरु गरेको खुल्यो।

श्रेष्ठसँग फेला परेको सिमको आधारमा खोजी गर्दै जाँदा केही दुरीमा भेटिएको अर्को शव सप्तरीको शम्भुनाथ गाउँपालिका–४  घर भई काठमाडौँ बस्ने शम्भु चौधरीको भएको खुल्यो। यी दुवै साझेदार रहेको  देखियो। तर हत्या कसले र किन गर्यो रहस्यमै रह्यो।

सिडिआरले देखाएको क्लु

महत्त्वपूर्ण प्रमाण श्रेष्ठसँग बरामद भएको सिम बन्यो। प्रहरीले सिमका आधारमा सम्पर्कमा रहेको नम्बर अनि परिवारको आधारमा व्यवसायमा रहेका साझेदारबारे जानकारी पायो।

त्यही खुले लिम्बु र मण्डल। यी दुई पक्राउ परेमा हत्याको रहस्य खुल्न सक्ने भन्दै प्रहरी दुवैको खोजीमा लाग्यो। महत्त्वपूर्ण देखिए लिम्बु।

लिम्बुको मोबाइल अफ थियो। मण्डलको मोबाइल नम्बर ललितपुरतिरै सक्रिय देखियो। जिल्ला प्रहरी कार्यालय मोरङबाट अनुसन्धानमा संलग्न टोली काठमाडौँ आयो। उसले महानगरीय प्रहरी अपराध महाशाखासँग समन्वय गरेर अनुसन्धान सुरु गर्यो।

उनीहरूले सक्रिय देखिएको मण्डलको मोबाइल लोकेसनको आधारमा खोजी सुरु गरे। व्यवसायमा चार जना संलग्न देखिएकोमा सक्रिय मोबाइल उनको मात्रै थियो। श्रेष्ठ परिवारले मण्डल साथी भएको खुलाए । साथी हराउँदा अनी हत्याको खवर आउँदा पनि उनी निस्फिक्री थिए। यसले पनि शंका बढाएको थियो प्रहरीलाई। उनी पक्राउ परे।

अपराध महाशाखाको कार्यालयमा राखेर गरेको सोधपुछ काम लागेन। उनी गलेनन्। मोरगं प्रहरीसँग उनको बोली फुटाउने केही महत्त्वपूर्ण क्लु थियो। उता उनका सहयोगी समातिएका थिए। उनीहरूले बिहीबार दिउस मण्डललाई प्लेनबाट लिएर मोरगं गए। उनको बक खुल्यो। उताको टोलीले दिएको जानकारीका आधारमा प्रहरी ललितपुर थेचोमा उनी भाडामा बस्ने घरको कम्पाउन्डभित्र पछाडिको भागमा पुगेर ढलान भएको स्थान खन्दै जाँदा तेस्रो शव फेला पर्यो लिम्बुको।

बयानमा मण्डलले ललितपुरको गोदावरी नगरपालिका १२ थेचो बसपार्क नजिकै आफू बस्ने घरको कोठाभित्रै खाल्डो खनेर पुर्ने प्रयास गरेको तर कोठाभित्रको ढलान फुटाउन गाह्रो भएपछि कोठा बाहिर कम्पाउन्डभित्रको भित्र पट्टीको भागमा खाल्डो खनेर पुरेको बताएको बयानमा संलग्न स्रोतले बतायो। उनले लिम्बुको शव गलाउन नुन छरेका थिए। उखुबारीमा फेला परेको दुवै शवमा पनि नुन छरेका थिए।

'मोरगंबाट प्रहरी टोली अनुसन्धानका लागि काठमाडौँ आएपछि हामीले सहयोग गर्यौ,' महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख वसन्त कुँवरले उकेरासँग भने' उनीहरूले अनुसन्धानमा खुलाए अनुसार हामीले सहयोग गर्दा ललितपुरमा एक जनाको शव गाडेर ढलान गरेको अवस्थामा फेला पर्यो। बाँकी अनुसन्धान मोरगंले नै गर्छ।'

मण्डलको पहिलो टार्गेट लिम्बु

प्रहरीका अनुसार घटनामा लिम्बु सबैभन्दा पहिला मारिए। मण्डलले मङ्सिर २८ गते नै लिम्बुको हत्या गरेर गाडेका थिए। उनले पहिला कोठाभित्रै गाड्ने प्रयास गरे। नसकेपछि कम्पाउन्डमा गाडेर ढलान गरे। घाँटी कसेर मारेझैँ देखिए पनि पोष्टमार्टम भएको छैन। 

त्यही दिन मण्डल विराटनगर गए। राजेन्द्र र शम्भु उनीसँगै थिए। मण्डलले लिम्बु पनि आउने अनि लेनदेन विवादबारे सँगै बसेर छलफल गर्ने भनेका थिए।

उनीहरू केही दिन विराटनगरमै बसे। त्यो बेलासम्म मण्डलले भारतबाट व्यवसायी अपराधी भाडामा लिइसकेका थिए। स्थानीय सहयोगी सहितको सहयोगमा हत्या गरे। प्रहरी बयानमा मण्डलले खुलाए अनुसार पुस ५ मा श्रेष्ठ मारिए अनि पुस ७  मा चौधरी। दुवैको हत्यापछि उनीहरूले उखुबारीमा लगेर खाल्डो खनेर शव गाडे र चाँडो कुहाउन नुन छर्किए।

 श्रेष्ठको प्रमाणले खुल्यो रहस्य

यदि श्रेष्ठको साथमा सवारी चालक अनुमति पत्र र सिम कार्ड फेला नपरेको भए यो अपराध सहजै सुल्झन सम्भव थिएन। उनीहरूले घटना गुपचुप राख्न सक्दो प्रयास गरेका थिए। खाल्डो खनेर शव चाँडै गलाउन नुन प्रयोग गरेका थिए। तर शव गाड्दा राम्रोसँग खाल्डो पुर्न हेलचेक्राई गर्दा उखुबारीबाट रहस्य खुल्यो।

हडबडमा उनीहरूले कोसँग के छ भन्ने राम्रोसँग खोजेनन्। मारेर गाडेपछि कसले पत्ता लगाउँछ र भन्ने आत्मविश्वास बढी देखियो। जसले गर्दा श्रेष्ठसँग परिचय खुल्ने सामाग्री छुट्यो। त्यसैको आधारमा प्रहरीले थप अनुसन्धान अगाडि बढाउन सक्यो। पहिलो शवको पहिचान श्रेष्ठपछि भएको थियो।

काठमाडौँमा जसरी शवको व्यवस्थापन गरेका थिए कसैले चाल पाउने सम्भावनै थिएन।

तर अपराधी जति चलाख भए पनि आफ्नो अपराधको कुनै न कुनै प्रमाण छाड्छ नै। यो अपराधमा पनि भयो त्यस्तै। श्रेष्ठको सवारी चालक अनुमति पत्र र सिम नै यो अपराधमा संलग्नसम्म पुग्ने  मुख्य प्रमाण बन्यो। अर्को आफ्ना तीन जना साझेदार हराउँदा अनि शव फेला परेको समाचार सार्वजनिक हुँदा पनि कुनै वास्ता नगर्ने मण्डलको व्यवहारले उनी सहजै शङ्कामा परे। 

प्रहरी अनुसन्धानमा त रहस्य खुल्यो। तर अदालती परीक्षण अझैँ बाँकी छ।

माघ २१, २०७८ शुक्रबार ००:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।