सरकारले स्थानीय तहको मिति घोषणा गरे बाँकी तयारी अघि बढ्छ: निर्वाचन आयोग

सरकारले स्थानीय तहको मिति घोषणा गरे बाँकी तयारी अघि बढ्छ: निर्वाचन आयोग

काठमाडौंः स्थानीय तह निर्वाचनको लागि सरकार र आयोगबीच समझदारी भएको मिति जेठ ४ का लागि अब एक सय तीन दिन मात्रै बाँकी छ। सरकारले औपचारिकरूपमा मिति घोषणा गरेको छैन।

स्थानीय तहको निर्वाचनका लागि सामान्यतया एक सय २० दिन निर्वाचन अवधि आवश्यक पर्ने कानूनी व्यवस्था छ। आयोगले धेरै जसो पूर्वतयारीहरू भइसकेकाले अब सरकारले मिति घोषणा गर्नेबित्तिकै बाँकी तयारी अघि बढाउने जनाएको छ। 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोग स्थानीय तह निर्वाचनको मिति कुरेर बसेको बताए। ‘आयोगले सरकारलाई जेठ ४ मा निर्वाचन गर्न सुझाव दिएको छ। निर्वाचन अवधि कम भए पनि संविधानको मर्मअनुसार निर्वाचन गराउन आयोग तत्पर नै छ,’ उनले भने। 

प्रवक्ता शर्माले आयोगले निर्वाचनको मिति घोषणाअघि हुने सबै तयारी गरिसकेको बताए। ‘मिति नहुँदा पनि गर्न मिल्ने तयारीका काम लगभग भइसकेका छन्। हामी त चुनावको तयारीका लागि तत्पर भएर बसेका छौँ, अब सरकारले मिति दिएपछि त्यहीअनुसार अन्य तयारी अघि बढाउँछौँ,’ उनले भने।

मिति घोषणापछि कार्यतालिका बनाएर काम अघि बढाइने प्रवक्ता शर्माले जानकारी दिए।

माघ २०, २०७८ बिहीबार २१:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।