भौतिकरूपमै पठनपाठन गराउन माग गर्दै कास्कीका निजी विद्यालय सञ्चालकहरूले बुझाए ज्ञापनपत्र
पोखराः कास्कीका निजी विद्यालय सञ्चालकहरूले विद्यालय सञ्चालनका लागि सहजीकरण गरिदिन आग्रह गरेका छन्। निजी विद्यालयका छातासंगठनहरू प्याब्सन, नेशनल प्याब्सन, हिसान र युनिप्स नेपालले प्रशासनमा ज्ञापनपत्र बुझाउँदै विद्यालय सञ्चलनका लागि सहजीकरण गरिदिन आग्रह गरेका हुन्।
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै विद्यालयहरू बन्द गरिए पनि हाल सङ्क्रमण क्रमशः घट्दै गएकाले विद्यालय खोलेर पठनपाठन सुचारु गर्ने वातावरण मिलाइदिन उनीहरूले सम्बन्धित निकायसँग आग्रह गरेका हुन्।
उनीहरूले जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई, पोखरा महानगरपालिकाको शिक्षा महाशाखा, स्वास्थ्य महाशाखा र पोखरा महानगरका प्रमुख लगायतलाई भेटेर ज्ञापनपत्र पेश गरेका हुन्।
भौतिकरूपमा शैक्षिक संस्था सञ्चालन हुँदा विद्यार्थीको पठनपाठनमा सुधार आएको तर, विद्यालय बन्द गरिँदा प्रत्यक्ष शिक्षणबाट वञ्चित भएकाले विद्यार्थीलाई भौतिकरूपमा उपस्थिति जनाएर पठनपाठन गराउने वातावरण मिलाइदिन ज्ञापनपत्रमार्फत आग्रह गरिएको छ।
पत्रमा लामो समयसम्म विद्यालय बन्द रहँदा अध्ययन अध्यापनमा असर पर्ने, वैकल्पिक विधिबाट गरिएको पठन पाठनबाट विद्यार्थीको शैक्षिक, सामाजिक, मानसिक लगायत संवेगात्मक विकासमा प्रत्यक्ष प्रभाव परेको उल्लेख गरिएको छ। यस्तै अभिभावकको समेत चाहना भएकाले विद्यालय खोल्ने वातावरण मिलाइदिन आग्रह गरिएको छ।
उनीहरूले स्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न तयार रहेको उल्लेख समेत गरेका छन्।
यता ज्ञापनपत्र बुझ्दै जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख नारायणप्रसाद सुवेदी, पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्य, स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त शर्मा पौडेललगायतले भौतिकरूपमा विद्यालय सञ्चालन गर्न आफूहरू तयार रहेको बताएका छन्।
प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेल, नेशनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, हिसान कास्कीका अध्यक्ष याम रोक्का, युनिप्स नेपालका अध्यक्ष सन्तबहादुर गुरुङ, एनप्याब्सन उपाध्यक्ष शिवदत्त तिवारी, प्याब्सन कास्कीका सचिव पुष्पराज पराजुली, युनिप्स नेपालका उपाध्यक्ष विनोद नेपालीलगायतको टोलीले ज्ञापनपत्र पेश गरेका थिए।
माघ २०, २०७८ बिहीबार १९:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।