घर बेचेर उपचार गर्ने विजयदेवीको सपनामा वडा कार्यालय बाधक !
बुटवल : ७५ वर्षीया विजयदेवी कसौधन बुटवल उपमहानगरपालिकाको वडा नम्बर ५ मा बस्छिन्। त्यहीँ उनको कित्ता नम्बर २९ मा १९६.५० वर्गमिटर क्षेत्रमा पुरानो एकतले घर छ।
उनले सो घर बेच्न चाहेकी छिन्। घर बेचेर औषधी उपचार गर्ने र बाँकी रकमले अन्यत्र जग्गा किन्ने विजयदेवीको योजना छ। तर वडा कार्यालयबाट चार किल्ला प्रमाणित गर्न नसक्दा घर बिक्री हुनै सकेको छैन।
विजयदेवी सौतेनी छोरा वीरेन्द्रकुमार कसौधनले निवेदन दिएको निहुँमा वडा कार्यालयले चार किल्ला प्रमाणित गर्न नमानेको बताउँछिन्। उनी चार किल्ला प्रमाणित नभएको भन्दै ९ महिना यता वडादेखि अदालतसम्म पनि धाइसकेकी छिन्। तर समस्या जहाँको त्यहीँ छ।
‘पटक–पटक वडा र नगरपालिकामा हारगुहार गर्दा पनि आफ्नो सम्पत्तिको चार किल्ला प्रमाणित नभएपछि अदालतमा रिट दायर गरेँ। त्यसपछि पनि न्याय पाएकी छैन’, उनले भनिन्।
विजयदेवी र उनका छोरा ५० वर्षीय सुरेन्द्रप्रसाद कसौधनले मङ्सिर २ गते उच्च अदालत बुटवलमा नेपालको संविधान २०७२ को धारा २५ मा प्रत्याभूत गरेको सम्पत्तिको हक हनन भएको भन्दै वडाध्यक्ष र उपमहानगरलाई विपक्षी बनाएर रिट पेस गरे।
उच्च अदालतले पनि पुस २७ गते विपक्षीलाई आफ्नो निर्विवादित सम्पत्ति भोगचलन, बेचबिखन, लगायत जुनसुकै तरिकाले उपभोग गर्न पाउने सम्पत्तिको मौलिक तथा संवैधानिक हक देखिएकाले चार किल्ला र तिरो बुझ्न वडा अध्यक्ष र बुटवल उपमहानगरको नाममा परमादेश जारी गरेको छ।
अदालतले कुनै पनि विवाद नभएको र कानुनी रूपमा व्यक्तिको सम्पत्ति भएकाले सम्पत्तिको भोगचलन, बेचबिखन लगायत जुनसुकै तरिकाले बेचबिखन गर्न पाउने देखिएको भन्दै स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १२(२) ङ ले व्यवस्थित गरेको कानुनी कर्तव्य बमोजिम चार किल्ला प्रमाणित गरी तिरो बुझी कानुनी कर्तव्य पूरा गर्न परमादेश गरेको हो।
तर उच्च अदालतको परमादेश विपरीत बुटवल उपमहानगर वडा न. ५ ले भने चार किल्ला प्रमाणित गर्न नमिल्ने तर्क गर्दै आएको छ। वडा अध्यक्ष तेजबहादुर सुनार दाजु बहिनीहरूबाट निवेदन परेको र उक्त निवेदनउपर छलफल गरेर मात्र निर्णय हुने बताउँछन्।
विजयदेवीले भने २०५७ सालमै सौतेनी जेठो छोरा वीरेन्द्र, आफूतर्फको छोरा सुरेन्द्र र आफ्नो नाममा गरी तीन अंश लगाएर अंशबन्डा गराएकी थिइन्।
त्यसरी अंशबन्डा हुँदा आफू र छोरा सुरेन्द्रका नाममा पुरानो घरसहितको जग्गा परेको उनी बताउँछिन्। छोरा सुरेन्द्रका नाममा कित्ता न. ३० को १९३.५ वर्ग मिटर क्षेत्रफलको जग्गा छ।
अदालतले दिएको आदेश बोकेर वडा कार्यालय धाउँदा पनि चार किल्ला प्रमाणित नभएको विजयदेवीले बताइन्। ‘भएको जग्गा बिक्री गरेर उपचार गर्न खोजेकी छु। तर जग्गाको चार किल्ला प्रमाणित नै भएको छैन। अदालतको आदेश समेत पालना नगर्ने कस्ता जनप्रतिनिधि हुन्?’ उनले प्रश्न गरिन्।
यता वडा अध्यक्ष सुनारले पारिवारिक रूपमा घरजग्गाका विषयमा वडामा निवेदन परेकाले त्यसको निरूपण नभई आफूहरूले केही पनि गर्न नसक्ने बताए। उनले अबको २/३ दिनमा दुवै पक्षलाई छलफलका लागि बोलाइएको र त्यसपछि के गर्ने भन्ने निर्णय हुने बताए।
छोरा र छोरीले वडामा दिएको निवेदनमा के छ ?
गत चैत १२ गते रोक्का गरी पाउँ भनी वीरेन्द्रकुमार कसौधनले वडालाई पत्र लेखेका छन्। उनले लेखेको पत्रमा २० वर्षसम्म आमा विजयदेवीलाई दुःख दिएको र हेला गरेकाले आमा बाचुन्जेलसम्म आमाको अंश कसैको नाममा नामसारी गर्न नपाउने उल्लेख गरेका छन्।
‘बहिनीहरूको विवाह खर्चका लागि सुनौलीको जमिन छुट्टाएर सुरेन्द्रको जिम्मामा दिए पनि उक्त जग्गा पनि बेचेर खाएको र ठुलो ज्वाइँहरू मिलेर बहिनीको विवाह गरिदिनुभयो। अब आफ्नो मतलब सिद्ध गर्नको लागि आमालाई फकाइ लोभ देखाएर २ महिना आफ्नो घरमा ल्याएर टर्चर दिएको छ’, निवेदनमा उल्लेख छ।
वीरेन्द्रकुमार कसौधनले २० वर्षसम्म आमा बहिनी, कहिले माइतमा बसेर जीवनयापन गरे पनि अहिले आएर सम्पत्तिका लागि सुरेन्द्रले आमालाई लोभ देखाएको बताए।
उनले २० वर्षसम्म आमाको रेखदेख नगरेकाले अब पनि रेखदेख गर्न नसक्ने भएकाले आमाले दुःख नपाउन भनेर जग्गा रोक्नका लागि निवेदन दिएको बताए।
‘सुरेन्द्र आफ्नै छोरा भए पनि उसले आमालाई दुःख दिन्छ। आमाले दुःख नपाउनुहोला भनेर मैले निवेदन दिएको हुँ’, उनले भने।
यता छोरीहरू मीनाकुमारी कसौधन र इन्दुकुमारी कसौधनले पनि जग्गा रोक्नका लागि वडामा निवेदन दिएको पाइएको छ। गत असार २७ गते दिएको निवेदनमा छोरीहरू मीना र इन्दुले दाजु सुरेन्द्रले आमाको नामको सम्पत्ति आमालाई लोभ देखाएर आफ्ना नाममा ल्याउन लागेको आरोप लगाएकी छिन्।
मीना र इन्दु मायादेवीपट्टिकै छोरीहरू हुन्।
वडामा दिएको निवेदनमा मीना र इन्दुले दाजु सुरेन्द्रले आमा मायादेवीलाई यातना दिएर घरमा राखेको र आफूहरूलाई फोन सम्पर्क समेत गर्न नदिएको उल्लेख छ।
‘भाउजूले पनि आमालाई धम्की दिएर मेरो नाममा बकसपत्र गरेन भने छोरालाई छाडिदिन्छु भनी डर देखाएकी छिन्। वडामा यो कुरा निकालिनँ। अरूसँग सोधपुछ गरेर आमाको नामको जग्गा बुहारीको नाममा बकसपत्र गर्न मिल्दैन भनी थाहा पाएपछि जग्गा बिक्री गर्ने कुरा गर्न थालेका छन्’, निवेदनमा उल्लेख छ।
माघ २०, २०७८ बिहीबार ०७:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।