बागमती प्रदेश सभा : सांसद सङ्ख्या १०९, नियमित हाजिरी ६ जनाको मात्रै
काठमाडौँ : बागमती प्रदेश सभाको चालु अधिवेशनकाे सबै बैठकमा शतप्रतिशत उपस्थित हुने ६ जना सांसदलाई प्रदेश सभा सचिवालयले सम्मान गरेको छ।
प्रदेश सभामा रहेका १०९ सांसद मध्ये जम्मा ६ जना सांसद मात्रै चालु सातौँ, आठौँ र नवौँ अधिवेशनका सबै बैठकमा सत प्रतिशत उपस्थित भएका सचिवालयले जनाएको छ।
शतप्रतिशत उपस्थित हुनेमा नेकपा माओवादी केन्द्रका तीन जना, विवेकशील साझा पार्टीका दुई जना र नेपाली कांग्रेसका एक जना सांसदलाई सचिवालयले मंगलबार सम्मान पत्र प्रदान गरेको छ। सम्मानित हुनेमा माओवादी केन्द्रका घनश्याम दाहाल, बुद्धिमान माझी र रामलाल महतो छन्।
विवेकशील साझाबाट रमेश पौड्याल र शोभा शाक्य सबै बैठकमा उपस्थित भएका छन्। कांग्रेसकी विजया श्रेष्ठ केसी पनि सबै बैठकमा उपस्थित भएर सक्रिय सहभागी भएकाले सम्मानित भएकी छन्।
प्रदेश सभामा एमालेका ४१ जना सांसद मध्ये एक जना पनि शत प्रतिशत उपस्थित भएनन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र नेपाल मजदुर किसान पार्टीका दुई सांसद चालु अधिवेशनमा भएका सबै बैठकमा उपस्थित नभएका प्रदेश सभा सचिवालयले जनाएको छ।
माघ १८, २०७८ मंगलबार १४:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।