एमालेको अडानका कारण आज पनि बस्न सकेन कर्णाली प्रदेश सभा बैठक 

एमालेको अडानका कारण आज पनि बस्न सकेन कर्णाली प्रदेश सभा बैठक 

यसअघि हिजो पनि कर्णाली प्रदेश सभाको बैठकमा तीन जना नेताहरूले बोलेपछि समय सकिएको थियो।

प्रमुख प्रतिपक्षी दल एमालेले हिजो सदनमा राखेका गुनासा र सुझावलाई अगाडि बढाई सरकार र संसद्मा प्रतिपक्षसँग सहकार्य तथा समन्वय गर्न आइतबार राति तीन सदस्यीय कार्यदल गठन गरिएको थियो।

कर्णाली प्रदेश सभाको गतिरोध सधैंका लागि अन्त्य गर्न भन्दै नेकपा मओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी सञ्योजक रहेको कार्यदलमा नेकपा एमालेका प्रमुख सचेतक गुलावजंग शाह, नेकपा एकीकृत समाजवादी दलका नेता एवम् भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाही सदस्य रहेको कार्यदल गठन गरिएको थियो।

तर, एमालेले आफ्ना मागहरूप्रति अडान राख्दा सहमति जुट्न नसकेपछि आजको प्रदेश सभा बैठक चल्न नसकेको माओवादीका एक सांसद बताउँछन्। ती सांसदका अनुसार दलहरूबीच पनि छलफल भइरहेको छ।

एमालेले राखेका मागहरूमा सरकार सकरात्मक देखिएपछि भोलिको प्रदेश सभा बैठक चल्ने एमाले संसदीय दल कर्णाली प्रदेशका प्रमुख सचेतक गुलावजंग शाहीले बताए।

‘कार्यदलको बैठकमा छलफल चलिरहेको छ। भोलिसम्म केही नयाँ कुरा आउँछ,’ प्रमुख सचेतक शाहीले भने, ‘हामीले कर्णालीको समृद्धिका लागि साना मसिना टुक्रे योजनामा नजाने, गौरवका महत्त्वपूर्ण भग्नावशेष योजना सुचारु गर्नुपर्ने, काम सम्पन्न भएका तर रकम अभावका कारण भुक्तानी भएकाको भुक्तानी हुनुपर्ने, मुख्यमन्त्री रोजगार र पूर्वाधार विकासको कार्यविधिमा भएको पुर्वाग्राहीलाई हटाएर जनप्रतिनिधि सहभागी भई सबैले अपन्त्व हुनेगरी बनाउर्ने माग राखेका छौं।’

माघ १७, २०७८ सोमबार १९:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।