रुपन्देहीको 'कफी हब': ६ महिनामै सफलता, ब्राण्ड बन्ने योजना

रुपन्देहीको 'कफी हब': ६ महिनामै सफलता, ब्राण्ड बन्ने योजना

बुटवलः विदेश जाने सपना थियो। आईईएलटीएस परीक्षामा ६.५ अंक ल्याएर उत्तीर्ण पनि भए। तर पाल्पाका तिराग लामटाङ्गे अष्ट्रेलिया जानबाट वञ्चित भए। 

अष्ट्रेलिया जानलाई ४० लाखको सम्पत्ति विवरण देखाउनु पर्थ्यो। तिरागले सकेनन्। यो १० वर्षअघिको कुरा हो। 

अहिले ३५ लाखको लगानीमा उनै तिरागले 'द कफी हब' स्थापना गरेका छन्।  विदेशिने सपनामा ब्रेक लागे पनि उनले व्यावसायिक सपनामा भने छलाङ मारेका छन्। ६ महिनाअघि मात्र स्थापना भएको कफी हब अब ब्राण्ड बन्ने तरखरमा छ। 

६ वर्ष बुटवलका कलेजमा होटल म्यानेजमेन्ट विषय पढाएका तिराग अहिले अध्यापन पेशा छोडेर कफी हबलाई नै समय दिन थालेका छन्। उनलाई साथ दिइरहेकी हुन्छिन् श्रीमती शर्मिला गलामीले। उनी पनि शिक्षण पेशा त्यागेर तिरागसँगै कफी हबमा लागेकी छिन्। 

रुपन्देहीको तिलोत्तमा–३ योगीकुटी शान्तिचोकमा छ- ‘द कफी हब’। तिराग आफैँ कफीका पारखी हुन्। रुपन्देहीको बुटवल-भैरहवा क्षेत्रमा तिराग जस्तै कफीका थुप्रै पारखी छन्। त्यही माग, आवश्यकता र महत्त्वलाई मध्यनजर गर्दै कफी हब सञ्चालन गरेको तिराग बताउँछन्।

कफी हबमा कफीसँगै बेकरी र कन्फेक्सनरीका विभिन्न परिकारहरू पाइन्छ। उनको दावी छ–‘हामीकहाँ कफीको स्वाद नै फरक हुन्छ।’

उनी अब कफी हबलाई ब्राण्ड बनाउनेतर्फ सोचिरहेका छन्। पाल्पा, भैरहवा लगायतका स्थानमा आउटलेट खोल्ने लक्ष्य समेत राखेका छन्। 

खानपिनका लागि घरबाहिर निस्कने संस्कृतिको विकाससँगै हस्पिटालिटी क्षेत्रमा  सम्भावना बढेको उनको तर्क छ। ‘घुम्ने र बाहिर खानपिन गर्ने चलन बढेको छ। महामारीका कारण अहिले समस्या छ तर, धैर्य गरेर अघि बढियो भने अवश्य सफल भइन्छ’, उनले भने। 


कफी हबमा ग्राहकहरूसँग तिराग

पाँच तारे होटलमा समेत अनुभव
तिरागले पाल्पाको कालिका माध्यमिक विद्यालयमा माध्यमिक तह अध्यायन गरे। त्यसपछि पाल्पाकै न्यू होराइजन कलेजमा होटल व्यवस्थापन अध्ययन गरे। 

अध्यायनकै क्रममा उनी काठमाडौंको ‘इन्टरनेशनल स्कूल अफ टूरिजम अफ होटेल म्यानेजमेन्ट’ मा भर्ना भए। होटल म्यानेजमेन्टमा स्नातक गरे। 

इन्टर्नसिपको लागि चीन गए। चीनमा उनले ‘शान्या एभिएशन एण्ड टूरिजम कलेज’मा एक वर्ष इन्टर्नसिप गरे। पछि इन्टरनेशनल शान्या रिसोर्टमा एक वर्ष काम गरे। उनलाई विदेशमा सिकेको सीप नेपालमा उपयोग गर्न मन थियो। सोही अनुरूप सन् २०१३ मा उनी नेपाल फर्किए।

नेपाल फर्किएपछि उनले शेर्पा रेष्टुराँमा सुपरभाइजरको रूपमा एक वर्ष काम गरे। 

सोल्टी क्राउन प्लाजा र र्याडिसन जस्ता पाँच तारे होटलमा काम गरे। त्यसपछि सिकेको सिपलाई बुटवलमा लागू गर्ने भन्दै तिरागले होटल सञ्चालन गरे। सुख्खानगरमा 'एशियन भिलेज होटल' खोलेका थिए।

बुटवलको हस्पिटालिटीको अवस्था नबुझ्दा ६/७ महिनामै उनको होटल बन्द भयो। त्यसपछि मात्र उनले शिक्षण पेशा अँगालेका हुन्। 

त्यसपछि कलेजमा
सुख्खानगरमा होटल सञ्चालन गर्दा तिरागको नियमित ग्राहक थिए- चक्रबहादुर श्रेष्ठ। 

तिरागको काम र क्षमतालाई नजिकबाट देखेका श्रेष्ठले होटल बन्द भएपछि विद्यालयमा पढाउन प्रस्ताव राखे। उनैले बुटवलस्थित क्यानन माविका सहप्राध्यापक गंगालाल प्रधानसँग कुराकानी गराइदिए। 

अन्ततः तिरागले कलेजमा होटेल म्यानेजमेण्ट पढाउन थाले। ६ वर्ष उनले क्याननमा पढाए। यही सिलसिलामा अक्सफोर्ड कलेजमा अध्यापन गर्ने शर्मिला गलामीसँग केही समयको प्रेमपछि उनले विवाह गरे। 

प्रशिक्षण केन्द्र समेत सञ्चालनमा
कफी र हस्पिटालिटी सोख र पेशा बनाएका तिरागले अहिले कफी हबमै कफी प्रशिक्षण केन्द्र समेत सञ्चालन गरेका छन्। कफी बनाउनेहरूका लागि उनले एक महिने प्रशिक्षण तालिम दिन सुरु गरेको बताए। 

‘जनशक्ति उत्पादन गर्ने लक्ष्यले प्रशिक्षण समेत चलाएको छु। अहिले ८ जना यहाँबाट पास आउट समेत भएका छन्’, उनले भने।

माघ १६, २०७८ आइतबार १०:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।