सारेगामापामा रीमाले राजेश हमाललाई महानायक नभनेपछि...

सारेगामापामा रीमाले राजेश हमाललाई महानायक नभनेपछि...

काठमाडौं : बालबालिकाको गायन रियालिटी शो द भोइस् किड्सले विजेता पाइसक्यो। सारेगामापा लिटिल च्याम्प्स भने बल्ल फाइनलिस्टमा पुगेको छ।

टप फाइभ फाइनलिस्ट बनेका छन् रोशा फुयाँल,अभिज्ञा घिमिरे, अरुण सुनार, कृपा पौडेल अनि आदित्य विश्वकर्मा। फाइनलमा पुगेका पाचै जनाको स्वरमा जादु छ। अब यी मध्येबाट विजेता छानिने छ पब्लिक भोटबाट।

शनिवार पब्लिक भोट अपिल गर्दै पाचै प्रतियोगीले मिठा गीत गाए। पछिल्लो समय नपत्याउँदो गरी अगाडि बढिरहेकी रोशाको गायन कला देखेर सङ्गीतकार न्ह्यु बज्राचार्यले उनलाई कुन गीत गाउँदा फिट हुन्छ भनेर छानिसकेको बताए।

तुलनात्मक रूपमा कृपाको प्रस्तुति अलि कमजोर देखियो। बाँकी सबैको प्रस्तुति राम्रो थियो। विशेष अतिथि राजेश हमालले प्रतियोगीसँग रमाइलो गरे। हमालबारे चर्चामा आउने जोकहरूमा आधारित प्रश्न सोधे प्रतियोगीले।

कार्यक्रम प्रस्तोता रीमा विश्वकर्माले गीत गाउँदा स्टेजमै गएर नाचे। तर हमाललाई कार्यक्रममा रीमाले गरेको सम्बोधन भने दर्शकले अलि पचाएनन्।

रीमाले हमाललाई कार्यक्रममा बोलाउँदा 'हामी सबैका प्रिय नायक' भनेर बोलाएकी थिइन्। अनि कार्यक्रमको बिच-विचमा 'मिस्टर राजेश हमाल' भनेर सम्बोधन गरेकी थिइन्। कहिलेकाहीँ राजेश हमाल सर पनि भनिन्।

अभिज्ञाले रमाइलोको रूपमा को बन्छ करोडपतिको स्टाइलमा महानायक को हो भन्दै नाम लिइन्' राजेश हमाल, दीपकराज गिरी, दीपाश्री निरौला या जय किशन बस्नेत?'

हमालले हाँस्दै लाइफलाइन लिनुपर्ला जस्तो छ भने। ग्रान्डजुरीहरुले राजेश हमाल भनिदिए। उनले अडियन्स पोल आयो भनेर टारे। आफै उत्तर दिएनन्।

कार्यक्रममा हमाललाई महानायक भनेर सम्बोधन भएन। त्यसले कार्यक्रम हेर्ने केही दर्शकको चित्त दुखेछ। उनीहरूले युट्युबमा कमेन्ट गरिरहेका थिए' के को मिस्टर हमाल भनेको, महानायक राजेश हमाल भन' , 'महानायक राजेश हमाल', ' रीमाले गरेको सम्बोधन सुहाएन' यस्तै यस्तै।

माघ १६, २०७८ आइतबार ०२:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।