लुम्बिनीमा रिर्सोटको प्रश्न गर्ने पत्रकारलाई मन्त्री आलेले थर्काए 

लुम्बिनीमा रिर्सोटको प्रश्न गर्ने पत्रकारलाई मन्त्री आलेले थर्काए 

बुटवल : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले लुम्बिनीको जग्गा बारे प्रश्न गर्ने पत्रकारलाई थर्काएका छन्। मन्त्री आलेले लुम्बिनी गुरुयोजना विपरीत रिसोर्ट सञ्चालन गर्न दिने भन्ने के हो भनेर प्रश्न गरेका पत्रकार ललित पाण्डेलाई थर्काएका हुन्। 

मन्त्री आले नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरलाई देखाउदैै उता सोध्नुस् भन्दै झर्किए। 

मन्त्री आलेले इसारा गरेका ठाकुर लुम्बिनी विकास कोषको विषयसँग सरोकार र सम्बन्ध नभएको निकायका अधिकारी हुन। मन्त्री आलेको दबाबमा लुम्बिनीको गुरुयोजना विपरीत उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष सूरुज वैद्यलाई रिर्सोट सञ्चालन गर्न दिने प्रक्रिया अगाडी बढाइए पछि आलोचना भएको छ।

आफूले गरेका कामहरूमा प्रश्न उठेपछि जवाफ दिनुको साटो मन्त्री आले उक्त विषयमा प्रश्न गर्नासाथ पत्रकारलाई अपमान गर्ने ढङ्गले झर्किए।

सार्वजनिक लेखा समितिका संयोजक भरत कुमार शाह, प्रतिनिधि सभा सदस्य प्रमोद कुमार यादवसहित प्राधिकरणका उच्च अधिकारीहरू सहित भैरहवा पुगेका मन्त्री आलेले फागुन ९ गते गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइट हुने गरी मिति तय भएको जानकारी दिए।

मन्त्री आलेले बुद्ध जयन्ती अगाडी भैरहवामा कुनै पनि हालतमा ठुला जहाजको उडान हुने बताए। फागुन ९ गते वा सो भन्दा अगाडी नै क्यालिब्रेशन फ्लाइट हुन सक्ने एरो थाईका नेपाल प्रतिनिधि बिजेन्द्र श्रेष्ठले बताए। 

क्यालिब्रेशन फ्लाइट लगतै नेपाल एयरलाइन्सको ठुलो विमानबाट विमानस्थलको परीक्षण गरिने र त्यसपछि अधिकतम ५६ दिन वा न्यूनतम ४२ दिनपछि विमानस्थलमा नियमित उडान गरिने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

निर्माण सम्पन्न भई सकेको विमानस्थल अवलोकन गर्न पुगेका मन्त्री आलेसँग प्राविधिक भने कोही थिएनन्।

माघ १५, २०७८ शनिबार २२:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।