डा. मदनकुमारको उपचार अनुभव : जब भर्ना भएका संक्रमितले रोग सारिदिन्छु भनेर धम्क्याए

डा. मदनकुमारको उपचार अनुभव : जब भर्ना भएका संक्रमितले रोग सारिदिन्छु भनेर धम्क्याए

डा. मदनकुमारकी छोरी २०७६ चैत अन्तिममा पाँच महिना पुगेपछि पास्नी भयो। काठमाडौंस्थित घरमा छोरीको पास्नी भइरहँदा उनी भने कोभिड वार्डमा संक्रमितको उपचार व्यवस्थापनमा खटिइरहेका थिए। 

डा. मदनकुमार २०७६ मा पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा प्रमुख मेडिकल सुपरिटेण्डेन्टको रुपमा काम गर्न पुगेका थिए। त्यो बेला चीनमा कोरोना भाइरस सुरु भएको थियो।  नेपालमा पनि संक्रमण फैलन थालेको थियो। उनकी छोरीको पास्नी गर्ने समयमा नेपालमा लकडाउन नै भयो। 

डा. मदनकुमार छोरीको पास्नीमा घर आउन नखोजेका हैनन्। तर कोरोना भाइरस संक्रमण बढेको बढ्यै थियो। एकातर्फ अस्पतालमा खट्नुपर्ने थियो भने लकडाउनले गर्दा घर जान चिकित्सकलाई समेत पासको व्यवस्थापन सहज थिएन। 

छोरीको पास्नीमा काठमाडौं आउने चाहना राख्दा समेत जिम्मेवार निकायका व्यक्तिले नै पर्सामा त्यत्रो कोभिड फैलिएको छ, पर्साका डाक्टरलाई किन काठमाडौं छिर्न दिने? भन्ने जवाफ पाएको सम्झँदा अहिले पनि उनको मन अमिलो हुन्छ। 

कुनै दृष्टिकोणले पनि काठमाडौं आउन सहज नभएपछि श्रीमतीसँग सल्लाह गरेर उनले छोरीको पास्नीमा काठमाडौं नआउने निर्णय गरे। अस्पतालमा कोभिड व्यवस्थापनमा नै खटिने निर्णय गरे उनले। 

काठमाडौंमा छोरीको पास्नी भयो। कोभिड व्यवस्थापनमा खटिएका उनले एक घण्टा समय मिलाए। छोरीको पास्नी सुरु भयो। यता परिवारले छोरीलाई भात खुवाए। टीका लगाइदिए। नयाँ लुगा लगाइदिए। विधि अनुसार पास्नी भयो। तर डा. मदनकुमारले भने सामाजिक सञ्जाल प्रयोग गरी भिडियो लाइभमार्फत छोरीको पास्नीमा सहभागी भए। 

छोरीको पास्नी भइरहँदा जति खुसि थिए त्यति नै उनको मन चिसो भयो। सोचे, छोरीको पास्नी जस्तो कर्ममा पनि घर जान पाइँन। बाटो पनि धेरै लामो हैन। 

पास्नी चलिरहेका बेला डा. मदनले परिवारसँग हात हल्लाउँदै लाइभ भिडियो अफ गरे। भावुक बने। एकछिन नि:शब्द भए। र, काममा फर्किए।

डा. मदनकुमार अस्पतालमा विशेषगरी कोभिड व्यवस्थापनमा नै खटिए। त्यो बेला रोग सर्ने भयले व्यक्तिहरु चिकित्सक तथा स्वास्थ्यकर्मीको नजिक पर्न नपरे हुन्थ्यो भन्दै तर्किएर हिँड्थे। 

सधैं बोल्ने तथा भेटघाट गर्ने नजिकका व्यक्ति समेत देख्यो कि नदेखेझैं गर्थे। विभिन्न निकायका व्यक्तिहरुसँग कोराना व्यवस्थापनका लागि छलफलमा बस्दा समेत कोरोना सर्ने भयले डा. मदनकुमारभन्दा निक्कै टाढा बस्थे उनीहरु। भौतिक दूरी कायम गर्नु त जनस्वास्थ्यको दृष्टिमा राम्रो हो। तर छिछी-दूरदूरकै व्यवहार गरेको सम्झन्छन् उनी।

जिस्केरै भए पनि साथीभाइ भेट्दा डाक्टरको छेउमा त आउनुहुँदैन, कोरोना सर्छ भन्ने शब्द सुन्थे उनी। त्यो सुन्दा उनको चसक्क हुन्थ्यो।

छोरीको पास्नीमा समेत घर जान नपाएको पीडा त छँदैछ, उनी त्यो बेला अन्य कयौं पारिवारिक भेटघाट र उत्सवमा सहभागी बन्न पाएनन्। 

चिकित्सक नै तर्किँदा...
डा. मदनकुमार नारायणी अस्पतालको प्रमुख भएकाले अस्पतालको व्यवस्थापनमा खटिनु उनको कर्तव्य थियो। त्यो कर्तव्यबाट उनी विमुख भएनन्।

चीनबाट फर्केका एक व्यक्तिलाई काठमाडौंमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयबाट कोरोना व्यवस्थापको तयारी गर्न अस्पतालहरुलाई निर्देशन दिइयो। डा. मदनले पनि नारायणी अस्पतालमा कोभिड व्यवस्थापनका लागि तयारी थाले। 

सुरुमा पिपिई सेट-४०, पाँच वटा आइसोलेसन बेड, कर्मचारीको रोस्टर बनाएर तयारी अवस्थामा राखियो। फेससिल्ड अस्पतालकै स्वास्थ्यकर्मीले बनाए। मास्क, स्यानिटाइजर लगायतको व्यवस्थापन गरे उनले। विभिन्न आवश्यक औषधिको जोहो गरेर राखे। त्यो बेला स्वास्थ्य सामग्री जोहो गरेर राख्नु निकै चुनौतीपूर्ण थियो। व्यवसायी तथा स्थानीय लगायतले अस्पताल व्यवस्थापनमा ठूलो सहयोग गरेको उनले सुनाए। 

नेपालमा कोरोना भाइरस सुरु भएपछि भय नै भयको स्थिति थियो। रोगको बारेमा धेरै अन्योल थियो। 

अस्पतालमा संक्रमितको उपचारको व्यवस्थापन गरे पनि सुरुसुरुमा त डरले कतिपय चिकित्सकहरु समेत संक्रमितको छेउमा पर्न तर्किएको उनले सुनाए।

‘बिरामी नआउन्जेल जसरी चिकित्सक उपचारका लागि तयार थियौं,’ उनले भने, ‘बिरामी आइसकेपछि त चिकित्सकको मोबाइल नै नउठ्ने, चिकित्सकलाई खोज्नुपर्ने अवस्था आयो।’ 

कोरोना फैलाएको आरोप
पहिलो लहरको सुरुवातमा भारतबाट आएका तीन जना कोरोना संक्रमितलाई नारायणी अस्पतालको आइसोलेसनमा राखेर उपचार गर्दा निकै चुनौती भएको डा. मदनकुमारले सुनाए। 

भएको के थियो भने, भारतबाट आएका केही व्यक्तिमा कोरोना भाइरस संक्रमण हुनसक्ने भन्दै प्रहरीबाट अस्पतालमा खबर पुग्यो। त्यसपछि स्थानीय तह लगायतको समन्वयमा कोरोना शंकास्पद २४ व्यक्तिको नमुना संकलन गरियो। परीक्षणका लागि नमुना हेटौंडा पठाइयो। 

नमुना पठाएको भोलिपल्ट हेटौंडाबाट २४ मध्ये तीन जनाको नमुना कोरोना हो/हैन भन्ने थप पुष्टिका लागि काठमाडौं पठाएको खबर पुग्यो अस्पतालमा। त्यसपछि सम्भावित तीन जनालाई निकै उपाय लगाएर अस्पतालको आइसोलेसनमा राखियो। 

थप जाँच गर्नुपर्ने भयो भनेर शंकास्पद तीन जनालाई अस्पताल बोलाइयो।

तीन जनालाई अस्पतालमा पुर्याएपछि उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको खबर पुग्यो। संक्रमित तीनै जना भारतीय नागरिक थिए। प्रदेश, जिल्ला, स्थानीय तह, भारतीय दूतावास लगायतमा सम्पर्क तथा कुटनीतिक रुपमा पनि समन्वय गरी उनीहरुलाई अस्पताल भर्ना गरियो। जुन बेला नेपालमा लकडाउन भइसकेको थियो। 

भर्ना गरिसकेका ती बिरामी आइसोलेसन वार्डमा बस्न नमानेर हैरान नै भयो। डा. मदनकुमारले सुनाए, 'ती संक्रमितले बाहिर थुकिदिन्छौं, सारिदिन्छौं भनेर धम्क्याउँथे। हामीलाई किन यहाँ राखेको, बाहिर निकाल भनेर हो-हल्ला गर्थे।' त्यो बेला संक्रमितलाई रोगबारे बुझाउन पनि कठिन परेको उनी बताउँछन्।

अर्कातर्फ अस्पताल वरिपरिका छरछिमेकले समेत संक्रमितलाई अस्पतालमा भर्ना गरेको र संक्रमण फैलाएको भन्दै उनलाई गाली समेत गरेका थिए। 

अस्पताल वरिपरी घर हुनेले फोन गरेर तथा भेटेर पनि तैंले कोभिडको बिरामी यहाँ राखिस्, रोग फैलाउने भइस भनेर लान्छना लगाएको सम्झँदा उनलाई तितो महसुस हुन्छ। कतिपयले त अपशब्द नै प्रयोग गरेर गाली गरेको सम्झन्छन्, उनी।

दोस्रो लहरको सुरुवातसम्म नारायणी अस्पतालमा आफू रहँदा कोही पनि संक्रमितलाई उपचार नगरी नफर्काएको उनले  सुनाए। 

चिकित्सक बन्ने सपना
जनकपुर धाम धनुषमा  जन्मिएका डा. मदनकुमारले स्थानीय ‘मिथिला इङ्लीस स्कुल’बाट विद्यालय तहको शिक्षा पूरा गरे। त्यो बेला भर्खरै अंग्रेजी माध्यमको शिक्षा सुरु भएको थियो।

मदनकुमारले जनकपुरकै ‘रामश्वरुप रामसागर बहुमुखी’ क्याम्पसबाट सन् १९९५ मा आइएस्सी अध्ययन पूरा गरे। त्यसपछि उनी काठमाडौं हानिए। त्रिचन्द्र क्याम्पसमा बिएस्सी अध्ययनका लागि भर्ना भए। तर उनको डाक्टर बन्ने सपना थियो। 

त्यसैले बिएस्सी भर्ना भए पनि एमबिबिएस अध्ययनका लागि छनोट परीक्षाको तयारी गरे डा. मदनकुमारले। आइएस्सी सकेको करिब डेढ वर्षमा उनले एमबिबिउस अध्ययनका लागि काठमाडौं विश्वविद्यालयमा छनोट परीक्षा पार गरे। छनोट परीक्षा पार भएपछि डा. मदनकुमारले काठमाडौंको जोरपाटीस्थित ‘नेपाल मेडिकल कलेज’ मा सन् १९९७ मा एमबिबिएस अध्ययन थाले। उनको सन् २००३ मा एमबिबिएस अध्ययन पूरा भयो।

जनकपुर अस्पतालमा चिकित्सकको सिन्डिकेट
एमबिबिएस अध्ययनपछि डा मदनकुमारले गाउँ नै सम्झिए। 
उनले घर नजिकैको जनकपुर अञ्चल अस्पताल सम्झे। जहाँ थोरै चिकित्सकले काम गरिरहेका थिए। उनले सोचे, भोलेन्टियर नै भए पनि त्यहाँ कम गर्छु। 

मदनकुमारले जनकपुर अञ्चल अस्पतालनै छनोट गर्नुको उद्देश्य थियो, घरगाउँकै स्वास्थ्य समस्या भएका व्यक्तिको सेवा गर्न पाइने। अर्को सरकारी अस्पतालमा काम गरेको अनुभव लिन सकिने। उनको घरबाट हिँडेर जनकपुर अस्पताल पुग्न करिब २० मिनेटको बाटो हो।

एमबिबिएस अध्ययन सकेर मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा उत्तीर्ण भएपछि डा. मदनकुमार जनकपुर (गाउँ) फर्के। 

कम चिकित्सक भएको ठाउँमा बिना तलब अर्थात् भोलेन्टियर काम गर्न त अस्पतालले सजिलै दिइहाल्ला भन्ने उनले सोचको थिए। 

तर, डा. मदनकुमारले सोचेजस्तो जनकपुर अञ्चल अस्पतालमा नि:शुल्क काम गर्छुभन्दा पनि नयाँ चिकित्सक प्रवेश गर्न सहज रहेनछ। त्यहाँ नि:शुल्क काम गर्न पनि बुबामार्फत निक्कै भनसुन गरेपछि मात्रै उनले अस्पतालमा काम गर्ने अनुमति पाए।

नि:शुल्क काम गर्छुभन्दा पनि अस्पतालमा काम गर्न छिर्न नदिनुको उद्देश्य उनले पछि पो थाहा पाए। जनकपुर अञ्चल अस्पतालमा काम गरेको डाक्टर भनेपछि निजी क्लिनिक र निजी अस्पतालमा काम पाउन सहज हुने रहेछ। 

त्यहाँ काम गर्ने केही चिकित्सकमा नयाँ चिकित्सकलाई काम गर्न छिरायो भने निजि क्लिनिक र अस्पतालले बोलाउँछन् अनि हाम्रो आम्दानी घट्छ भन्ने डर हुँदो रहेछ। अस्पतालमा काम गर्ने चिकित्सक बढे भने त पुराना चिकित्सकको कमाई घट्ने डर हुँदो रहेछ।

त्यहाँ काम गर्ने चिकित्सकले जाँच्ने निजी क्लिनिकमा बिरामीको भीड लागेको देखे उनले। 

‘त्यहाँ प्रवेश गर्न नदिनुको कारण जनकपुर अञ्चल अस्पतालमा कार्यरत भनेर प्राइभेट प्राक्टिस बढाउने खेलो रहेछ,’ उनले सुनाए, ‘त्यहाँ त जालो रहेछ।’ 

जनकपुर अञ्चल अस्पतालको वरिपरि अझै पनि टन्न निजी क्लिनिक छन्। तिनै अस्पतालका चिकित्सक बिरामीको जाँच तथा उपचार गर्न पुग्छन्। अस्पतालमा चिकित्सक आएर बिहान हाजिर गरेर निजी क्लिनिकमा जाने चलन ज्यादै देखे उनले जनकपुरमा। 

अस्पतालको आकस्मिक कक्षमा काम गर्न छिरेका उनले त्यहाँ एक समूह चिकित्सकको चर्को सिन्डिकेट भएको महसुस गरे। यो केटा धेरै जान्ने नहोस् भन्ने उद्देश्यले आफूलाई अस्पतालको एउटा मात्रै विभागमा काम गर्न नदिएको उनी सुनाउँछन्।

महिना-महिनामा उनले काम गर्ने विभाग परिवर्तन भयो। उनलाई कहिले प्रसूति तथा स्त्रीरोग विभाग, कहिले मेडिसिन, कहिले सर्जरी त कहिले इएनटी (नाक, कान, घाँटी) विभागमा काम गर्न लगाइथ्यो। 

तर, विभिन्न विभागमा पठाउँदै काममा लगाउँदा डा. मदनकुमारलाई घाटा हैन। झन फाइदा पो भयो। उनलाई त बरु विभिन्न विभागमा काम गर्दा ज्ञान र सिपको राम्रो विकास गर्ने अवसर पो मिल्यो। 

त्यसो त बिरामीलाई हतार-हतार परैबाट सोधेर औषधि लेखिदिने अभ्यास पनि त्यहाँ देखे उनले। डा. मदनले भने त्यसो गरेनन्। बिरामीलाई राम्रोसँग परामर्श दिए। जसले गर्दा उनलाई अस्पतालमा भेट्ने बिरामीको चाप बढ्न थाल्यो।

डा. मदनकुमार अस्पतालको ड्युटी समयभर अस्पतालमा नै बस्थे। जसले गर्दा अन्य चिकित्सकलाई अप्ठेरो पर्न थाल्यो। जनस्तरबाटै किन अस्पतलमा चिकित्सक बस्दैनन्? भन्ने लगायत प्रश्न उठ्न थाल्यो। त्यसैले कतिपय चिकित्सकहरुलाई अप्ठेरो परेकाले अस्पतालबाट छोडेर जाओस् भनेर दुःख दिएको समेत उनले सुनाए।

डा. मदनकुमारले जुनियर अगाडि नबढोस् भन्ने सिनियरहरुको सोच पनि त्यहीं जनकपुरमा नै भोगे। 

हुन त उनलाई निजी क्लिनिक खोलेर काम गर्न प्रस्ताव नआएको हैन। तर, त्यतातिर लागेनन्। 

जनकपुरमा काम गर्दा आफूले बिरामीलाई प्रेसस्क्राइव गरेकोभन्दा औषधि पसलेले फरक किसिमको औषधि दिएर हैरान पारेको उनले सुनाए। चिकित्सकले प्रेस्क्राइव गरेकोभन्दा औषधि पसलेले ब्राण्ड मात्रै हैन, जेनेरिक नाम समेत फरक गरेको औषधि दिएको प्रसंग उनले सुनाए। 

त्यहीं काम गर्ने क्रममा (२०६२ सालमा) मदनले सुनिता सुवेदीसँग लगनगाँठो कसे। 

डा. मदनकुमार जनकुर अञ्चल अस्पतालमा सन् २००३ देखि सन् २००५ सम्म करिब दुई वर्ष काम गरे। दुई वर्ष काम गर्दा बुबा जागिरे भएकाले खर्चको ठूलो समस्या भने भोग्नु नपरेको उनले सुनाए। 

जनकपुरपछि बिराटनगर पुगेर डा. मदनकुमारले निजी अस्पतालमा करिब ६ महिना काम गरे। त्यो बीचमा उनले स्नातकोत्तर तहको चिकित्सा शास्त्र विषय अध्ययनका लागि छनोट परीक्षा दिए। 

तर, आफूले चाहेको नाक, कान, घाँटी विषयको अध्ययनका लागि नाम निस्केन। 

काठमाडौंको संघर्ष
उनी काठमाडौं आए। काठमाडौं आएपछि पनि उनलाई निजी अस्पतालमा समेत काम पाउन गाह्रो पर्यो। काठमाडौंका अस्पतालमा पनि चिकित्सकको सिन्डिकेटको समस्यामा परे। बंगलादेश, चीन, भारत लगायत मुलुकमा पढेर आएका चिकित्सकको समूह-समूह देखे उनले। नेपाल पढेका चिकित्सकको छुट्टै समूह देखे। 

अझ उपत्यका बाहिर काम गरेर आएको चिकित्सक भएकाले उनी काठमाडौंका लागि नौलो भइसकेका थिए। काम गर्न सक्छौ र? भन्नेसम्म प्रश्न उनले सुन्नुपर्यो।

केही महिना मनमोहन अस्पताल काम गरे। त्यसपछि उनले बौद्धस्थित स्तुपा सामुदायिक अस्पतालमा जागिर पाए। जहाँ उनले सन् २००७ देखि सन् २०१० सम्म करिब तीन वर्ष काम गरे।

छनोटमा जनस्वास्थ्य विषय
डा. मदनकुमारलाई अध्ययनको भोक मरेकै थिएन। त्यसैले सन् २०११ मा थाइल्याण्डको ‘महिडोल यनिभर्सिटी’ पुगे उनी। त्यहाँ उनले  क्लिनिकल विषय अध्ययन गरेनन्। डा. मदनको छनोटमा जनस्वास्थ्य विषय पर्यो। 

डा. मदनकुमारको अध्ययन उपचारात्मक पक्षलाई छोडेर रोग लाग्नै नदिने पक्षमा माडियो। उनले सन् २०१२ मा स्नातकोत्तर तहको डेढवर्षीय जनस्वास्थ्य विषयको अध्ययन सकेर नेपाल फर्किए। 

चिकित्साशास्त्रको आफूले चाहेको क्लिनिकल विषय पढ्न नपाएको, महँगो र रोग लाग्नुपूर्व सावधानी तथा पूर्व तयारीको पाटो महत्वपूर्ण लागेकाले यो विषय रोजेको डा. मदनकुमारले सुनाए। 

सरकारी जागिरपछि संखुवासभा हुँदै मन्त्रालय
अध्ययनपछि नेपाल फर्किएर करिब एक वर्ष उनले चाहेको जनस्वास्थ्य विषयको जागिरको लागि तयारी गरे। २०७० मा लोकसेवा आयोगले उनको अध्ययनमा मिल्ने समूहको लागि विज्ञापन खुलायो। डा. मदनकुमारले परीक्षा दिए। परीक्षामा सफलता मिल्यो। दुई जनाका लागि विज्ञापन खोलिए पनि उत्तीर्ण हुनेमा उनी एक्लो भए।

डा. मदनकुमारको २०७० मा मेडिकल सुपरिटेण्डेन्टका रुपमा सरकारी स्थायी जागिर सुरु भयो।  सरकारी जागिरे भइसकेपछि उनको पहिलो पोस्टिङ संखुवासभाको खाँदबारी जिल्ला अस्पतालमा भयो। त्यहाँ उनले मेडिकल सुपरिटेण्डेन्टका रुपमा २०७२ सम्म दुई वर्ष काम गरे। संखुवासभापछि धनकुटा जिल्ला अस्पताल सरुवा भएर २०७४ सम्म दुई वर्ष काम गरे। 

धनकुटापछि ११औं तहका लागि खुला प्रतियोगिताबाट छनोट भए। त्यसपछि उनी मध्यामाञ्चल क्षेत्रीय निर्देशनालयमा निर्देशकको रुपमा हेटौंडा पोस्टिङ भए। त्यहाँ उनले करिब ६ महिना काम गरे।

हेटौंडापछि उनले २०७५ वैशाखमा काठमाडौंस्थित स्वास्थ्य बिमा वोर्डको कार्यकारी निर्देशकको जिम्मेवारी पाए। बोर्डमा उनले करिब दश महिना काम गरे। त्यही बीचमा कर्मचारी समायोजन हुँदा उनको समायोजन संघमा भयो।

समायोजनपछि डा. मदनकुमारको राष्ट्रिय ट्रमा सेन्टरमा प्रमुख मेडिकल सुपरिटेण्डेन्टको रुपमा पदस्थापन भयो। तर कामकाजका लागि भने पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा प्रमुख मेडिकल सुपरिटेण्डेन्टको रुपमा पठाइयो। 

नारायणी अस्पतालमा २०७६ देखि २०७७ सम्म करिब १४ महिना उनले काम गरे। जहाँ उनले कोरोना भाइरस संक्रमणको पहिलो र दोस्रो लहर (सुरुवाती) को व्यवस्थापन गरे।

नारायणीपछि काठमाडौंस्थित स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाको प्रमुखको रुपमा पोस्टिङ भयो उनको। त्यहाँ करिब चार महिना काम गरे।

त्यसपछि डा. मदनकुमार २०७८ वैशाखमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सरुवा भए। मन्त्रालयमा उनी गुणस्तर मापदण्ड तथा नियमन महशाखा प्रमुखको जिम्मेवारीमा छन्।

माघ १५, २०७८ शनिबार २०:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।