युट्युबमा 'बीटी कान्छा' उपनामले परिचित विश्वास भन्छन् 'खासमा म रिजेक्टकै लागि जन्मेको होला'
अचेल के मा व्यस्त हुनुहुन्छ?
धेरै वटा काम एक्कैचोटी चलिरहेको छ। लेख्न मन पराउने मानिस भएकाले यति बेला म घरदेखि टाढा कालिम्पोङ भन्ने ठाउँमा साथीसँगै बसेको छु। यो भन्दा पहिले भने मुम्बईमा बस्थेँ। मानिसहरूको थरथरीको तरिका हुँदो रहेछ, लेख्ने समयको। मलाई चैँ लेख्न एकान्त चाहिने स्वभाव छ। जब एक्लो हुन्छु अनि मात्रै लेख्न सक्छु। विभिन्न कम्पनीका लागि लेखिरहेको छु, साथमा अभिनय पनि गर्दै छु। (हाँस्दै) अभिनय गर्ने ढङ्ग त खासै छैन तर पहिले पनि गर्थेँ। अहिले अफर आएकाले नाइँ भन्न सकिन। थाहा छैन, भोलीपर्सी बीटी कान्छा युट्युब च्यानलमा आफ्नै अभिनयको रिभ्यु आफैले गर्नुपर्ने पनि हुनसक्छ।
नेपालमा डाक्टर इन्जिनियर पढ्यो भने छोरो सुध्रियो भन्ने चलन छ। तपाइ इन्जिनियरको विद्यार्थी भएर पनि बिचमा किन बिग्रिनुभयो?
म इन्जिनियर पनि हो क्या, पढाइ पुरा गरेको छु। परीक्षा दिएर पास भइकन पनि सर्टिफिकेट भने लिइन। डिग्री कतै मलाई पर्खी बसेको छ भन्नेमा ढुक्क छु। हाम्रो देशमा पनि इन्जिनियर गर्ने धेरै भए। पढेर मात्रै के गर्नु, काम नै छैन। इन्जिनियरिङ पढेर पनि इन्जिनियर बन्न नसक्नुमा म हाम्रो एजुकेसन सिस्टमलाई ब्लेम गर्छु। पढाइका लागि खर्च टन्नै लाग्यो। तर परिवारको सहयोगकै कारण लेखक भनेर हिँड्न सजिलो भएको छ। मेरो आमा बाबाले छोराको खुसीलाई प्राथमिकता दिए। मैले पनि उहाँहरूलाई सिधै हार्ट अट्याक दिइन नि। इन्जिनियरिङ सके, केही कथा प्रकाशित गरेँ। मेरो रुचि प्रमाणित गरेपछि मात्रै म लेखक बन्छु भनेँ। बाबाले भन्नुहुन्थ्यो, हल्ला धेरै नगर्नु, नतिजा आउन थालेपछि मात्रै भन्नु। सुरुमा मैले त्यसै गरेँ। अनि मात्रै मैले परिवारका सदस्यलाई पट्याउन सकेको हो।
लेखनमै किन आकर्षित हुनुभयो त?
सानो उमेरमा मलाई राइटर भन्ने बित्तिकै कुर्ता लगाएर, झोला बोकेर चप्पल पड्काउँदै हिँड्ने मान्छे हो भन्ने लाग्थ्यो। तर बिस्तारै सफाचट मान्छेहरू पनि राइटर हुने रहेछन् भन्ने लाग्यो। अनि राइटर बनेँ भनौँ। (हाँस्दै)
पाहुना फिल्मको टोलीसँग चैँ कसरी भेट भयो?
इन्जिनियरिङ सकेपछि एक बर्से भिडियो एडिटिङ कोर्सका लागि भर्ना भएँ। तर यो धेरै बोरिङ लाग्यो र बिचैमा छाडेँ। बिचमा खाली बसिरहेको थिएँ त्यही समयमा सिक्किममा फिल्म सुटिङ हुँदै छ भन्ने हल्ला सुनेँ। कास्टहरु को को छन् सबैलाई सोसल मिडियामा स्टक गरेँ र इन्टर्नका लागि म्यासेज पठाएँ। एक जनाले म्यासेज रिप्लाई गर्नुभयो र अन्तरवार्ताका लागि बोलाउनुभयो। तर पहिलो अन्तरवार्तामै रिजेक्ट भएँ। त्यो पछि फिल्ममा सिक्किमको तर्फबाट कथा डाइरेक्टर प्रशान्त सरले मेरो सिफारिस गरिदिनुभएछ। म इन्टर्नमा अस्वीकार भएको मानिस सिधा संवाद लेखक भएँ। फिल्मको संवाद पहिले नै नेपाली भाषामा ट्रान्सलेट भइसकेको रहेछ तर त्यो हाम्रो बोलीचालीको भाषा थिएन। मैले आफ्नोपन ल्याउन संवादमा काम गरेँ। त्यही फिल्मको दुइटा गीत पनि साथीसँग मिलेर लेखेँ। पहिलो फिल्ममै त्यति ठुलो ब्रेक पाउनु सायद भाग्यको कुरा हो।
पहिलो फिल्ममा लेखनको इन्टर्नमा रिजेक्ट भएर सिधा संवाद लेखक हुनुभयो। अरू कम्पनीले पनि रिजेक्ट गरेका थिए रे। नतिजा कस्तो आयो?
(हाँस्दै) खासमा म रिजेक्टकै लागि जन्मेको मान्छे होला हो। राम्रा कम्पनीहरूमा जहिले लेखक माग्छ, मैले अप्लाइ गरिहाल्छु तर पहिलो अन्तरवार्तामै रिजेक्ट भइहाल्छु। 'इरस'मा पनि पहिलो अन्तरवार्ताबाट आउट भएँ। 'टिभिएफ द भाइरल फिवर' भन्ने छ। त्यसले सिरिजहरू बनाउँछ। खासमा म इन्स्पायर भएको टीभीएफबाटै हो। त्यसले पनि रिजेक्ट गरिदियो। सायद यसैको फलस्वरूप युट्युबमा बीटी कान्छा बनेँ होला।
बीटी कान्छाको बारेमा कुरा गरौँ, खासमा को हो बीटी कान्छा?
मुम्बइमा हुँदा म जुनियर राइटरको रूपमा काम गर्थेँ। फिल्म मेरा लागि स्टडी थियो। त्यही समयमा हिन्दी फिल्मका भिडियो रिन्यु हेर्न थालेँ। हिन्दी भाषा नबुझ्नेहरूका लागि त्यस्तै रिन्यु नेपालीमा दिन मन लाग्यो। त्यसैले दुइटा भिडियो बलिउड फिल्मको बनाएको छु। पछि नेपाली फिल्ममै बनाउन मन लाग्यो र फिल्म हेर्न थालेँ। रिन्यु बनाउनुअघि मैले नेपाली फिल्म हेरेको थिइन। नेपाली फिल्ममा मैले गरेको रिन्यु मानिसहरूले मन पराउन थाले। अहिले लाखको सङ्ख्यामा नेपाली फ्यान कमाएको छु।
अभिनय नै लजाउने अभिनय भएका फिल्मको रिन्यु गर्न रमाइलो चैँ कत्तिको हुँदो रहेछ?
फिल्म सहन निकै मुस्किल पर्छ। लगातार पुरै फिल्म हेर्न सक्दिन, ब्रेक गर्दै हेर्दै गर्नुपर्छ। मलाई एउटा भिडियो बनाउन झन्डै २० दिन लाग्छ। अरू केही काम नगरेर भिडियो मात्रै बनायो भनेपछि ८ देखि १० दिन मज्जासँग लाग्छ। म सिधा जोक्स बनाउन सक्दिन। पहिले पुरै स्क्रिप्ट लेख्ने हो अनि पछि डब गर्ने हो। सुरुमा फिल्म हेर्यो। दोहोर्याएर फिल्म हेरेर कापीमा टिप्यो। त्यसको जोक्स बनायो, स्क्रिप्ट लेख्यो। अनि भिडियोको टुक्राहरू काट्दै भ्वाइस ओभर गरेर भिडियो बनायो। कहिलेकाहीँ त फिल्ममा बोलेका संवादहरूले राती सपनामा समेत तर्साउँछ। एक पटक मैले मेरो फ्यामिलिलाई कोठामा थुनेर फिल्म हेराएँ। मध्यान्तरसम्म राख्न बडो मुस्किल पर्यो। त्यो बेलादेखि परिवारमा मेरो भाउ हल्का बढेको छ। (हाँस्दै) कष्टकर समय कटाएपछि भिडियो सुन्दा भने रमाइलै लाग्छ।
फिल्मले संस्कार बोल्छ भन्छन्। नेपाली र भारतीय संस्कारमा फिल्म हेरेर के भिन्नता पाउनुभएको छ?
धेरै त समान नै छ। सिक्किमबाट तीन घण्टामा नेपाल पुगिन्छ हो। झापा लगायत पूर्वी क्षेत्रसँग धेरै संस्कार मिल्छ। तर नेपालमा बोलिने नेपाली भाषा समेत सबटाइटल लगाउनुपर्ने खालका पनि हुँदो रहेछ। संस्कारको कुरा गर्ने हो भने, हाम्रो सिक्किमतिर पनि नेवारहरू थिए। तर उसले कहिल्यै भोज ख्वाएनन्। नेपालमा नेवार भनेपछि भोज खुवाउने भनेर चर्चित रहेछ।
नेपालमा धेरै मेला महोत्सव हुने रहेछ। हाम्रामा पनि त्यताको सिको गर्दै मेला भर्ने परम्परा सुरु भएको छ। अर्को कुरा ह्युमरमा भने पुरै फरक छ। कमेडी च्याम्पियनमा नेपालीले बिक्की अग्रवाललाई स्वीकार गर्यो, यो अपवाद हो। किनभने हामीले हाँस्ने कुरामा नेपालीलाई हाँसो लाग्दैन, नेपालीलाई हाँसो लाग्ने कुरामा हामीलाई हाँसो लाग्दैन।
माघ १५, २०७८ शनिबार १८:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।