गुल्मी पाटाखर्कको दुख : डोकोमा बोकेर अस्पताल, दुई घण्टा पैदल हिँड्नु पर्ने बाध्यता
पाटाखर्कमा बिरामीको उपचार गर्ने अस्पताल छैन। गाडी गुड्ने सडक छैन। बिरामी पर्दा वा चोटपटक लाग्दा रेखा जस्ता धेरैले ‘धन्न’ को जीवन पाएका छन्। जिल्लाकै दुर्गम मानिने पाटाखर्क, दुनाममा सडकको ट्र्याक बल्ल खोलिँदै छ। गाउँलेले विकल्पमा डोको काटेर उपचारका लागि बिरामीलाई अस्पतालमा पुर्याउँदै आएका छन्।
दुनाम र पाटाखर्कका नागरिक वडा कार्यालय पुग्न समेत २ घण्टा पैदल हिँड्न बाध्य छन्। वडा कार्यालय, स्वास्थ्य चौकीमा सेवा लिनुभन्दा त्यहाँका नागरिकलाई बागलुङको भिङगिठे बजार नजिक पर्छ। गाउँपालिकाका पुग्न त ४ देखि ५ घण्टासम्म लाग्छ।
मालिका गाउँपालिका गुल्मी सदरमुकाम तम्घासबाट ४४ किलोमिटर टाढा छ। स्थानीय तहमा जनप्रतिनिधि आएपछि पनि यस क्षेत्रमा नागरिकले आधारभूत विकासको महसुस गर्न नपाएको गुनासो गरेका छन्।
गत कार्तिकमा ‘शून्य होम डेलिभरी’ घोषणा गाउँपालिकाले ८ वटा वडामा निःशुल्क बर्थिङ सेन्टर र सुत्केरी जाँचको सुविधा दिन थालेको छ। गाउँपालिकामा मातृ र शिशु मृत्युदर धेरै घटेको गाउँपालिकाले दाबी गरे पनि वडा नम्बर १ र २ का सबै नागरिकको पहुँचमा यो सुविधा छैन।
बिरामी बोक्न डोको नै चाहिने दुनाम पाटाखर्कका नागरिकलाई स्वास्थ्य मात्र होइन, शिक्षा, सञ्चार, यातायात, बजार सबैको सास्ती छ।
पाटाखर्कका आर्यन लम्साल जनप्रतिनिधि भए पनि केही परिवर्तन नभएको बताउँछन्। ‘हिजो जे थियो आज नि त्यही अवस्था छ,’उनले भने,‘कुनै लोकप्रियताको लागि भ्रामक कुरा नगरौँ।’
उनले साबिकका १ देखि ४ सम्मका वडा मोटर बाटोले नछोएको र वडामा गाउँघर क्लिनिक राखेर रिफर गर्ने ठाउँ मात्र बनाएको बताए। ‘गाउँघर क्लिनिकमा केही छैन। रिफर गर्ने थलो मात्र बनेको छ क्लिनिक। पाल्पा, बुटवल रिफर गर्ने थलो चाहिएको हो?’उनले प्रश्न गरेँ।
पहुँचमा छैन सञ्चार
पाटाखर्कमा नेपाल टेलिकम तथा निजी सेवा प्रदायक कम्पनीको दूरसञ्चारले पनि भरपर्दो सेवा दिएका छैनन्। अग्लो डाँडामा पुगेर फोन गर्नुको विकल्प छैन। इन्टरनेट सुविधा ‘कथा’ जस्तै लाग्छ। ‘फोन भनेको समयमा लाग्दैनन्,’स्थानीय सीता पन्थी अधिकारीले भनिन्,‘नेटवर्कको समस्या छ। नेट चल्ने त कुरै छाडौँ।’
स्थानीय ढाल बहादुर अधिकारी प्रशासनकै कामका लागि दर्लिङ बजारमा जानु परे पनि अन्य सबै हिसाबले भिङगिठे पायक पर्ने बताउँछन्। ‘भिङगिठे पुग्यौ भने सबै चीज पाउन सकिन्छ। त्यहाँबाट बुर्तिवाङ पनि सजिलै जान सकिने भएकाले यहाँका नागरिक त्यतै जान्छन्’उनले भने,‘दर्लिङमा केही खाद्यान्न लिन गए पनि सबै सामान पाइँदैन। दुःख मात्र हुने भएकाले भिङगिठे जानुपर्छ।’
माध्यमिक तह पढ्न असहज
पाटाखर्क, दुनाम, सल्लाखर्क, सल्लेरीका कतिपय विद्यार्थी बागलुङको खालमा रहेको बुद्ध माध्यमिक विद्यालयमा जान्छन्। ‘दर्लिङ जान बिहान २ घण्टा, साँझ २ घण्टा लाग्छ,’कक्षा आठका विद्यार्थी विजय पन्थीले भने,‘त्यो भन्दा खालमा पढ्न आउन सजिलो हुन्छ।’
बुद्ध माध्यमिक विद्यालय खालका पूर्व प्राचार्य खिमानन्द आचार्यले दर्लिङ जाँदा टाढा हुने भएकाले पनि खालमा विद्यार्थी आउने गरेको बताए। ‘पाटाखर्क, सल्लाखर्कबाट अहिले पनि कक्षा ९ र १० मा गरी २५ जना विद्यार्थी पुग्ने गरेका छन्,’उनले भने,‘हिँडेर जान सक्ने जान्छन्, तर धेरैले कोठा भाडामा लिएर पनि खालमा बस्ने गरेका छन्।’
मङ्सिर, पुस र माघ महिनामा विद्यार्थीहरूलाई घर जाँदा जङ्गलमा रात पर्ने भएकाले पनि कतिपय विद्यार्थीहरूले ३ महिनाका लागि मात्र कोठा भाडामा लिने गरेको उनले बताए।
जनप्रतिनिधि के भन्छन्?
मालिका गाउँपालिकाका अध्यक्ष रित बहादुर थापा निर्वाचनमा गरेका बाचा अनुसार दुनाम पाटाखर्क क्षेत्रमा काम भइरहेको बताउँछन्। सडकको काम भइरहेको र डाँडाँगाउमा कक्षा ९ सुरु भइसकेको बताउँदै निर्वाचनमा गरेको बाचा अनुसार काम भइरहेको अध्यक्ष थापाले दाबी गरे।
वडा नम्बर २ का वडा अध्यक्ष युद्धवीर घर्ती जनप्रतिनिधि आएपछि सडक, खानेपानी ट्याङ्की निर्माण लगाएका काम भइरहेको बताए। दर्लिङ–पाटाखक–माईकोथान–भकारे भिङगिठे सडक सञ्चालनमा आइसकेको बताउँदै उनले दर्लिङ–दाद–भिङगिठे जोड्ने सडक विवादका कारण १ करोड रुपैयाँ फिर्ता गएको र अहिले उक्त सडक निर्माण गर्न पहल भइरहेको बताए।
माघ १५, २०७८ शनिबार १३:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।