१४ वर्षदेखि ओछ्यान परेका कर्णबहादुर : ऋण नपाएर उपचार गर्न सकेनन्, लालपुर्जा समेत बन्धकी

१४ वर्षदेखि ओछ्यान परेका कर्णबहादुर : ऋण नपाएर उपचार गर्न सकेनन्, लालपुर्जा समेत बन्धकी

१४ वर्षअघि गाउँकै विद्यालयमा मजदूरी गर्ने क्रममा हाँगा काट्न रुख चढ्दा ढाड भाँचिएर थला परेका ५३ वर्षीय कर्णबहादुर आर्थिक अभावका कारण थप उपचारका लागि अस्पताल जान सकेका छैनन्। 

रुखबाट लडेपछि सुरुमा उनलाई सुर्खेतमै उपचार गर्ने कोशिस गरियो। तर यहाँ उपचार सम्भव नभएपछि डाक्टरहरुले नेपालगञ्ज रेफर गरे।

नेपालगञ्जमा पनि उपचार नभएपछि काठमाडौं पुगेका कर्णबहादुरले डेढा कट्ठा जग्गा बेचेर आएको ५० हजार रुपैयाँ सके। थप उपचारका लागि अझै दुई/तीन लाख आवश्यक पर्ने डाक्टरले बताएपछि उनी उपचार नै नगरी घर फर्कनुपर्यो।

इन्फेक्सनका कारण अहिले उनको शरीरभरि घाउ छन्। डाक्टरहरुले पनि बाहिर गएर उपचार गर्न सुझाव दिइरहेका छन्। तर आर्थिक अभावका कारण उपचार गर्न सकिरहेका छैनन्।

भएको एक कट्ठा ऐलानी जग्गा बेचेर काठमाडौंसम्म पुगेका उनको घर-बाससहित बाँकी एक कट्ठा ऐलानी जग्गाको पुर्जा पनि साहुकहाँ बन्धकी छ।

घरको आयस्रोत केही नहुँदा खाद्यान्न र उपचारमा साहुसँग मागेको पैसा समयमा तिर्न नसक्दा उनको पुर्जा साहुले लिएका हुन्।

‘आफूसँग भएको केही जग्गा बेचेर उपचारका लागि काठमाडौंसम्म त पुगें। तर पैसा धेरै लाग्ने भनेपछि कसैले ऋण पनि पत्याएन अनि उपचार नगरी घर फर्किएँ,’ कर्णबहादुरले भने, ‘अहिले यो घर-बासमा रहेको एक कट्ठा जग्गाको पुर्जा पनि साहुकै घरमा छ। डाक्टरले बाहिर गएर उपचार गरे निको हुन्छ भनेका छन्। तर आफूसँग काठमाडौंसम्म जाने भाडा समेत छैन।’

डेढ कट्ठा ऐलानी जग्गामध्ये त्यतिबेला ५० हजार रुपैयाँमा आधा कट्ठा बेचेर उपचारमा निस्केका कर्णबहादुरलाई साढे तीन लाख रुपैयाँ जम्मा खर्च लाग्यो। त्यतिबेलाकै ऋणले उनलाई अहिलेसम्म पनि थिचोरिरहेको छ।

ऋणको ब्याज र सावाँ चार/पाँच वर्षसम्म पनि तिर्न नसक्दा साहुले घर घेर्न लागेको कर्णबहादुरकी श्रीमती मीना नेपाली बताउँछिन्।

एक ठाउँबाट ल्याएर अर्कोलाई तिर्दातिदै अहिले कर्णबहादुरलाई १३ लाख ऋण थपिएको छ।

उनका तीन छोरा र दुई छोरी छन्। छोराहरु विवाह गरेर छुट्टिएका छन्। उनीहरु पनि दैनिक मजदूरी गरेरै जीविकोपार्जन गर्छन्।

कर्णबहादुरकी १३ वर्षीया कान्छी छोरी अपाङ्ग छिन् भने श्रीमती मीनालाई पनि फोक्सोको समस्याले च्याप्दै गएको छ। दैनिक दुई सय रुपैयाँको औषधि त मीनालाई नै लाग्ने उनले बताए।

मीना श्रीमानको उपचारको सहयोगका लागि भौतारिँदै वडा र नगरपालिकासम्म पनि पुगिन्। तर वडा र नगरले सहयोगको सिफारिस कागज थमाएर पठायो।

त्यो कागज लिएर उनी वीरेन्द्रनगरका हरेक गल्ली–गल्लीसम्म पुगिन्। दिनभरि धाउँदा पनि चार सयभन्दा बढी रकम कहिल्यै सहयोग उठाउन सकिनन्। सहयोगको अपिल गरेर घर–घर धाउँदा कैयौं मानिसबाट त उनले दुर्व्यवहार समेत सहनुपर्यो।

फोक्सोको बिरामी, दिनभरको हिँडाइले मीनाको स्वास्थ्यमा झन् असर पर्न थालेपछि आजभोलि गाउँ जानै छोडेकी छन्।

‘घरमा श्रीमानको शरीरभरि घाउ पाकेको छ। आफू फोक्सोको बिरामी, छोरी पनि बिरामी। न कसैले गाउँमा ऋण पत्याउँछ न त भोकै भएको बेला कसैले एक गाँस खान दिन्छ,’ मीनाले भनिन्, ‘घरमा खाने गाँस समेत छैन, छोराहरुलाई पनि आफ्नै परिवार पाल्न मुस्किल छ।’

‘आजभोलि त रात-दिनै आफ्नो ज्यानभन्दा पनि जग्गा साहुले लिएपछि श्रीमती र छोराछोरीको बिचल्ली होला कि भन्ने डर लाग्छ,’ कर्णबहादुरले गुनासो गरे, ‘आफ्नो जाँगर हुँदा गाउँका सबै काम गर्न बोलाउँथे, सहयोग माग्थे तर आजभोलि कसैले हेर्दैनन्।’

आफूलाई केही वर्ष बाँच्न मन भएको भन्दै उनले सहयोग गरिदिन अपिल गरेका छन्।

माघ १४, २०७८ शुक्रबार ०७:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।