अस्पताल भर्ना हुने अधिकांश संक्रमित पाका र दीर्घरोगी, अस्पतालमा छैन भीड, जटिलता पनि कम

काठमाडौं : अस्पतालमा भर्ना हुने अधिकांश कोरोना संक्रमित व्यक्ति पाको उमेरका र दीर्घरोगी भएको चिकित्सहरुले बताएका छन्।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना हुने संक्रमित पनि पाको उमेरका व्यक्ति र दीर्घरोगी नै भएको अस्पतालका प्रमुख कन्सल्ट्याण्ट फिजिसियन डा. विमल शर्मा चालिसेले जानकारी दिए।
अस्पतालमा बुधबार उपचाररत १९ संक्रमितमध्ये सबै पाको उमेरका व्यक्ति र दीर्घ रोगको समस्या भएका व्यक्ति नै भएको उनी बताउँछन्। डा. चालिसेले भने, ‘भर्ना हुनेमा अधिकांश वयोवृद्ध हुनुहुन्छ। दीर्घ रोगको समस्या भएका बिरामी नै हुनुहुन्छ। अरु समस्या नभएको बिरामी हुनुहुन्न।’
निजामती कर्मचारी (सिभिल) अस्पतालका कोरोना इन्चार्ज तथा छातीरोग विशेषज्ञ डा. विदेश विष्ट पनि अधिकांश संक्रमित पाको उमेर र दीर्घ रोगको समस्या भएका व्यक्ति नै अस्पताल भएको बताउँछन्। उनले भने, ‘अहिले धेरैजसो बुढाबुढी र दीर्घरोगी नै भर्ना हुनुभएको छ।’
बुधबार सिभिल अस्पतालमा १२ जना आइसियु र २४ जना संक्रमितको एचड्युमा भर्ना भएर उपचार भइरहेको डा. विष्टले जानकारी दिए। दीर्घ रोगको समस्या भएका संक्रमितहरु बढी स्वास्थ्य जटिलता निम्तिएर अस्पताल भर्ना भएको उनले जानकारी दिए।
डा. बिष्टले भने, ‘दीर्घरोगीहरु धेरै गम्भीर भएर भर्ना हुनुभएको छ।’
दीर्घरोगीमध्ये अधिकांश कडा किसिमको दमको समस्या भएका संक्रमित अस्पतालमा भर्ना भएको बिष्टले जानकारी दिए।
वयस्क तथा अन्य स्वास्थ्य समस्या नभएका संक्रमित व्यक्ति अस्पताल भर्ना हुनेदर कम नै भएको डा. बिष्ट बताउँछन्।
भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतम पनि कोरोना भाइरस संक्रमित भएर भर्ना हुनेमध्ये अधिकांश पाको उमेरका र दीर्घ रोगको समस्या भएका व्यक्ति नै रहेको बताउँछिन्।
‘धेरैजसो त पहिला रोग भएको र पाको उमेरकै हुनुहुन्छ,’ उनले भनिन्, ‘भर्खरको योङहरुलाई त्यति देखिएको छैन। भर्ना भएका बिरामी ३०/३५ वर्ष माथिका हुनुहुन्छ।’
भक्तपुर अस्पतालमा बुधबार करिब १५ जना संक्रमितको उपचार भइरहेको र संक्रमितको खासै चाप नभएको उनले जानकारी दिइन्। भर्ना हुनेमध्ये अधिकांशको धेरै स्वास्थ्य जटिलता नभएको डा. गौतम बताउँछिन्। उनी भन्छिन्, ‘आहिले आएको आइसियुमा राखेर रिकोभरी हुने खालको हुनुहुन्छ।’
६० देखि ६९ वर्षका व्यक्तिको बढी मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक हेर्दा पाको उमेर समूहका व्यक्तिकै कोरोना भाइरस संक्रमणका कारण बढी मृत्यु भएको देखिन्छ। मन्त्रालयको तथ्यांक अनुसार पाको उमेर समूहमध्ये पनि सबै भन्दा बढी ६० देखि ६९ वर्ष उमेर समूहका व्यक्तिको मृत्यु भएको देखिन्छ।
मन्त्रालयको मंगलबारसम्मको तथ्यांक अनुसार ६० देखि ६९ वर्ष उमेर समूहका संक्रमित व्यक्तिको मृत्यु हुनेको संख्या दुई हजार चार सय ४० छ। ७० देखि ७९ वर्ष उमेर समूहका संक्रमित व्यक्ति मृत्यु हुनेको संख्या दुई हजार तीन सय १४ छ।
त्यसैगरी ५० देखि ५९ वर्ष उमेर समूहका संक्रमित व्यक्ति मृत्यु हुनेको संख्या दुई हजार दुई सय ६२ छ। ४० देखि ४९ वर्ष उमेर समूहका संक्रमित व्यक्ति मृत्यु हुनेको संख्या एक हजार ६ सय ४३ छ। ८० वर्षभन्दा माथिका संक्रमित व्यक्तिको मृत्यु संख्या एक हजार पाँच सय ७८ छ।
त्यसैले रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका, दीर्घ रोगको समस्या भएका व्यक्ति तथा पाको उमेरका व्यक्तिले विशेष सतर्कता अपनाउनुपर्ने चिकित्सकको सुझाव छ।
कम जटिलता र मृत्यु
अस्पताल भर्ना हुनेमध्ये दोस्रो लहरको जस्तो स्वास्थ्य जटिलता निम्तिएर धेरै अक्सिजन (हाइफ्लो अक्सिजन) दिनुपर्ने अवस्था पनि कमै निम्तिने गरेको डा. चालिसे ले बताए।
‘पहिलेको जस्तो लामो समय अक्सिजनमा राख्नुपर्ने, लामो समय भर्ना गर्नुपर्ने त्यस्तो छैन,’ उनले भने, ‘पहिले जस्तो हाइफ्लोमा राख्नुपर्ने, आइसियु–भेन्टिलेटरमा राख्नुपर्नेको संख्या कम छ।’ स्वास्थ्य जटिलता निम्तिने संक्रमित पनि कमै भएको उनी बताउँछन्।
अस्पतालमा भर्ना भएकामध्ये खोप लगाएका संक्रमित चाँडै ठिक भएको र खोप नलगाएका संक्रमित व्यक्तिमा बढी स्वास्थ्य जटिलता देखिएको डा. गौतम बताउँछिन्।
सामान्यतः अस्पताल भर्ना भएका कोरोना संक्रमित व्यक्ति पाँच दिनदेखि एक हप्तामा ठिक भएर डिस्चार्ज हुने गरेको चिकित्सक बताउँछन्।
अस्पतालमा संक्रमितको धेरै चाप नभएको समेत डा. चालिसेले जानकारी दिए। उनले भने, ‘पहिलेजस्तो धेरै भीडभाड छैन।
आउने दश दिनपछि संक्रमण कम हुँदै जाने चिकित्सकको आँकलन छ।
पछिल्लो ५/६ दिन यता संक्रमणका कारण मृत्यु नभएको टेकु अस्पतालका डा. चालिसेले जानकारी दिए। अस्पताल भर्ना हुनेमध्ये अधिकांश खोप लगाउने व्यक्ति नै भएको पाइएको उनी बताउँछन्।
सिभिल अस्पतालमा भने एक हप्तायता चार जना संक्रमितको मृत्यु भएको र मृत्यु हुनेमा दीर्घरोगी नै भएको सिभिल अस्पतालका डा. विष्टले जानकारी दिए।
डा. गौतमले भक्तपुर अस्पतालमा यो हप्ता संक्रमणका कारण मृत्यु नभएको बताइन्। उनले भनिन्, ‘यो हप्ता मृत्यु भएको छैन।’
लक्षण, उपचार विधि
संक्रमितमध्ये अधिकांशमा घाँटी दुख्ने तथा खोकी लाग्ने लक्षण देखिने गरेको चिकित्सक बताउँछन्। त्यसैगरी शरीर दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखिन्छन्।
कोरोना संक्रमित व्यक्तिमा निमोनियाका कारण स्वास्थ्य जटिलता निम्तने चिकित्सक बताउँछन्।
चिकित्सकका अनुसार अस्पताल भर्ना हुने संक्रमितका लागि अक्सिजन, हेपारिन, डेक्सामेथाजोन, रेम्डेसिभीर जस्ता औषधि–उपचार विधि अपनाइने गरेको छ।
माघ १३, २०७८ बिहीबार ०८:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।