सात वर्ष बन्दुक बोकेको 'कमरेड' दम्पती कृषिमा सफलता खोज्दै

सात वर्ष बन्दुक बोकेको 'कमरेड' दम्पती कृषिमा सफलता खोज्दै

सुर्खेत : बराहताल गाउँपालिका-५, सुनद्वारीका रत्नलाल सुवेदीले सात वर्षसम्म माओवादीको जनमुक्ति सेनामा काम गरे।

पार्टीमा विक्रमका नामले चिनिने रत्नलाल माओवादीमा २०५६ सालदेखि आवद्ध भएका हुन्। कक्षा १० पढ्दै गरेका उनी माओवादीको विचारप्रति प्रभावित भएर जनसांस्कृतिक टिममा जोडिएका थिए।

उनले एक वर्षसम्म सांस्कृतिक टिममा रहेर जनवादी गीत गाउने र पार्टीको काम गरे। एक वर्षपछि उनी सेनामा गए।

सेनामा काम गर्दै गर्दा २०६० सालमा बराहताल-९ कै चन्द्रा सुवेदीसँग उनको जनवादी विवाह भयो। चन्द्रा पनि जनमुक्ति नै सेना हुन्। उनको पार्टीको नाम रेखा हो।

सात वर्षसम्म उनीहरु दुवै जनाले धेरै ठाउँमा सँगसँगै लडे। २०६२ साल अन्तिमतिर अछाम र कपिलवस्तुको तौलिहवामा भएको आक्रमणमा  विक्रमका दुवै खुट्टामा गोली लाग्यो। दायाँ खुट्टाको गोली निकालिए पनि उनको बायाँ खुट्टाको गोली भने अझै निकाल्न बाँकी छ।

शान्ति सम्झौता हुनुभन्दा पहिले पार्टीको निर्देशन अनुसार भ्रातृ संगठन वाइसियलमा समाहित भएपछि रत्नलाल पम्पतीले जनमुक्ति सेनाबाट स्वेच्छिक अवकाश पाउँदा सरकारले दिने राहत समेत पाउन सकेनन्।

वाइसियलमा भएका कारण सेना प्रमाणीकरण नभएपछि आफूहरुले त्यो सेवा पाउन नसकेको रत्नलाल बताउँछन्।

‘हामीले सात वर्षसम्म जनमुक्ति सेनामा काम गर्यौं। शान्ति सम्झौता हुनुभन्दा केही समय अगाडि पार्टीले आधा सेना वाइसियलमा समाहित हुनुपर्ने निर्देशन गरेपछि केन्द्रीय सदस्य भएर काम गर्यौं,’ उनले भने, ‘पछि सरकारले जमुक्ति सेनालाई दिने राहतमा हामी प्रमाणीकरण हुन सकेनौं।’

माओवादीको युद्ध लडेको रत्नलाल र चन्द्रा दम्पती अहिले कृषि कर्ममा रमाइरहेको छ। उनीहरुको बारीभरि आलु, बन्दा, काउली, केराउ र गहुँ फलेका छन्। गोठमा दुईवटा भैंसी र गाई पनि छन्। 

खेत जोत्नका लागि परम्परागत गोरु होइन, उनीहरुसँग दुई वटा आधुनिक जोत्ने मेसिन पनि छन्।

गाई-भैंसीको दूध र तरकारीबाट उनीहरुले मासिक ३० हजार रुपैयाँ खुद नाफा कमाउने गरेका छन्। जोत्ने सिजनमा मेसिनबाट पनि राम्रै आम्दानी हुने गरेको उनीहरु बताउँछन्।

गोरु पालेर खेत जोत्नुभन्दा मेसिनबाट आफ्नो काम सँगै अरुको काम गर्दा नगद आउने हुँदा गोरुबाट फाइदा नभएको चन्द्रा बताउँछिन्।

सुरुमा सात लाख रुपैयाँ सहकारीबाट ऋण लिएर दुई वटा भैंसी पालेका रत्नलालले आठ वटासम्म भैंसी पालेर दूध बेचेका थिए।

केही समयअघि श्रीमती चन्द्राले गाउँपालिकामा कार्यालयमा सहयोगीको काम पाएपछि भने अरु भैंसी बेचेर दुई वटा मात्रै राखे।

रत्नलाल अहिले नेकपा माओवादी सुर्खेत जिल्ला कमिटीका सदस्य छन्। 

बिहान चार बजेबाट उनीहरुको काम सुरु हुन्छ। भैंसी दोहेर दूध बजारमा पुर्याउनेदेखि घाँसपात र तरकारी गोडमेल गर्न रत्नलाल र चन्द्रालाई दुई छोराले पनि साथ दिन्छन्।

विक्रमको घरमा उनकी आमा, दुई छोरा र श्रीमतीसहित पाँच जनाको परिवार छ।

श्रीमान्-श्रीमती बिहान घाँसपात गर्छन्। ९ बजे चन्द्रा अफिस जान्छिन् भने दुई छोरा विद्यालय जान्छन्। 

कहिलेकाहीँ पार्टीको बैठक र अन्य सामाजिक काम नभएको बेला घर रत्नलालले धान्छन्।

‘अहिले हाम्रो घरमा कार्ययोजना बनाइएको छ। भोलि कसले के काम गर्ने भनेर अघिल्लै दिन छलफल हुन्छ। कसैसँग केही गुनासो भए छलफल गर्छौं,’ रत्नलालले भने, ‘बिहान साढे चार बजे सबै जना उठ्छौं र आ-आफ्नो काम लाग्छौं। कसैलाई यो काम गर भन्नुपर्दैन। ९ बजे म्याडम अफिस र बाबुहरु स्कुल जान्छन्।’

पार्टीले लिएका केही उद्देश्य पूरा भएकोले माओवादी सेनामा लडेकोमा आफूलाई कुनै पश्ताचाप नभएको रत्नलाले बताए। अबको यात्रा राजनीतिकसँगै कृषि कर्म रहेको उनको भनाइ छ।

पुर्ख्यौली पेसालाई व्यवस्थित गर्दै आफ्ना सन्तानलाई पनि मिहिनेत र परिश्रम के हो भनेर बुझाउनका लागि कृषि पेसा अँगालेको उनीहरुको भनाइ छ।

‘लामो समयसम्म जनताको मुक्तिका लागि लडियो। अब आफ्नो परिवारको आर्थिक समृद्धिका लागि केही प्रगति गर्नुपर्छ भनेर कृषि पेसा अँगालेका हौं,’ चन्द्राले भनिन्, ‘अहिले हामीले यसरी मिहिनेत गरेपछि छोराहरुले पनि मिहिनेत के हो भन्ने बुझ्छन्। असल अभिभावक मात्रै होइन, सफल अभिभावक बन्ने हाम्रो चाहना छ।’

समूहको अध्यक्ष भएर कृषकको दूध बजारमा
रत्नलाल सुनद्वारी दुग्ध उत्पादन तथा वितरण कृषक समूहको अध्यक्ष समेत हुन्। यो समूहमा सुनद्वारी गाउँकै ४७ जना कृषक आवद्ध छन्। १०२ घरधुरी भएको यो गाउँको ८० घरधुरीले भैंसी पालेका छन्। अन्य कृषकले त्यहाँको स्थानीय बजारमा दूध बिक्री गरे पनि यहाँका ४७ घरधुरीले सुर्खेतको रारा डेरीमा पठाउँछंन्।

यसबाट मासिक रुपमा ६ लाख रुपैयाँसम्म समूहमा पैसा आउँछ।

रत्नलालका अनुसार दूधको फ्याट, ल्याक्टो र गुणस्तर अनुसार लिटरको ७० देखि ९५ रुपैयाँसम्म कृषकले बुझ्ने गरेका छन्।

यो समूहले चिस्यान केन्द्र पनि स्थापना गरेको छ। पञ्चपुरी र नयाँबनका गरी  दुई दिनमा ११ सय लिटर दूध जम्मा गरी सुर्खेत पठाउने गरिएको छ।

उक्त कृषक समूहमा आवद्ध ४७ जना कृषकलाई पशुपक्षी तथा कृषि निर्देशनालयले आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ मा गरी एक सय १० वटा भैंसी वितरण गरेको थियो।

२०७६/०७७ मा प्रदेश सरकारको एक लाख रुपैयाँ अनुदान र कृषकको ३२ हजार रुपैयाँ लगानीमा गरी एक लाख ३२ हजार बराबरको भैंसी वितरण गरिएको रत्नलालले बताए।

माघ ९, २०७८ आइतबार १४:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।