प्रधानमन्त्रीलाई एमालेको ध्यानाकर्षण : सचिव योगेश भट्टराईको मास्क खोइ?
काठमाडौँ : कोरोना सङ्क्रमण हुन नदिन मास्क अनिवार्य गरिए पनि एमालेका सचिव योगेश भट्टराईले मास्क नै नलगाई प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा एमाले उपाध्यक्ष सुवास नेम्वाङ नेतृत्वमा प्रधानमन्त्री देउवालाई कोरोना सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारका लागि ध्यानाकर्षण पत्र बुझाउँदा सचिव भट्टराईले मास्क नै लगाएनन्।
उपाध्यक्ष नेम्वाङले प्रधानमन्त्रीलाई खामभित्रको पत्र निकाल्न लगाउँदा भट्टराई मास्क नलगाई उभिइरहे।
प्रधानमन्त्री देउवालाई बुझाएको ध्यानाकर्षण पत्रमा भने एमालेले कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचारका लागि प्रभावकारी कदम चाल्न भनेको छ। सरकारमा रहँदा वा नरहँदा ‘राष्ट्र र जनता पहिले’ भन्ने पार्टीको दृष्टिकोणमा कुनै परिवर्तन नआउने एमालेले पत्रमा उल्लेख गरेको जानकारी दिएको छ।
कोरोना सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारको कार्यमा सरकारले आवश्यक ठाने सहयोग र समन्वयका लागि पार्टी तयार रहेको उल्लेख गरेको छ। अहिलेको विषम परिस्थितिमा कोभिड–१९ बाट नेपाली जनतालाई बचाउन, नागरिकको स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्न, दैनिक जनजीवनलाई सुचारु गर्न जनस्वास्थ्यको मापदण्डलाई लागू गर्न व्यापक जनचेतना र प्रचार अभियान सञ्चालन गर्न एमालेले माग गरेको छ।
उसले खोप केन्द्रको सङ्ख्या वृद्धि गरी सबै उमेर समूहका नागरिकलाई तत्काल खोप उपलब्ध गराउने, राज्यका निकाय र कूटनीतिक क्षेत्रको सक्रियता बढाउने र खोपको आपूर्ति तथा प्रयोगको प्रबन्ध मिलाउने र पर्याप्त भण्डार केन्द्र स्थापना गर्नुपर्ने भनेको छ।
तीनै तहका सरकारको समन्वयमा कोभिड–१९ विपद् व्यवस्थापन कार्य सञ्चालन गरी सीमा क्षेत्रमा जाँच र होल्डिंग सेन्टरको तुरुन्त व्यवस्थापन गरी सञ्चालन गर्नुपर्ने माग एमालेले प्रधानमन्त्री देउवासँग गरेको छ।
थप स्वास्थ्य जनशक्ति परिचालन गरी उनीहरूलाई प्रोत्साहन प्याकेजको व्यवस्था गर्नुपर्ने, स्थानीय तह र स्थानीय स्वास्थ्य इकाइसम्म स्रोतसाधन र जनशक्ति पर्याप्त मात्रामा उपलब्ध गराउन माग सहितको सुझाव दिइएको एमालेले जनाएको छ।
राज्यको सबै संयन्त्र तथा राजनीतिक दलका बीचमा समन्वयात्मक परिचालन गर्नुपर्ने सुझाव एमालेको छ।
एमालेले पालिकास्तरमा जनस्वास्थ्य निरीक्षकको नेतृत्वमा ट्रेसिङ, टेस्टिङ, उपचार र खोपका लागि घुम्ती टोली परिचालन गर्नुपर्ने, बालबालिका, गर्भवती महिला, बृद्धबृद्ध, अपाङ्ग र अशक्तहरूलाई विशेष व्यवस्था गर्नुपर्ने र यी समूहका व्यक्तिहरूलाई घर–घरमा खोप सेवा सञ्चालन गर्नुपर्ने सुझाव दिएको छ।
औषधी, खाद्यान्नलगायत अति आवश्यक वस्तुको सहज आपूर्ति र भण्डारणको व्यवस्था गर्ने, पर्यटकीय क्षेत्र, शैक्षिक केन्द्र, व्यापार व्यवसाय स्थल, धार्मिक, सांस्कृतिक स्थललगायत मानिसहरूको बढी चहलपहल हुने स्थानमा खोप उपलब्धता बढाउने र ती स्थानमा पनि खोप केन्द्र सञ्चालनमा ल्याउने, विदेशमा कार्यरत नेपालीको स्वास्थ्य सुरक्षाका लागि सम्बन्धित मुलुकहरूसँग पहलकदमी लिने लगायतका २२ बुँदे सुझाव एमालेले दिएको छ।
एमालेले प्रधानमन्त्रीले व्यक्त गर्नुभएको खोप, खोप र खोप प्रतिबद्धताअनुसार खोप लगाउन नसकिएको, खोपको पर्याप्तता हुँदाहुँदै पनि जनताले प्रयोग गर्न नपाएको लगायतका ११ बुँदे ध्यानाकर्षण गराएको छ।
माघ १, २०७८ शनिबार १३:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।