सधैँ छैन भन्ने परम्पराले गरिब बनायो : सिर्जना अधिकारी

सधैँ छैन भन्ने परम्पराले गरिब बनायो : सिर्जना अधिकारी
तस्बिर कृष्पा श्रेष्ठ

नाटकले जीवनको भोगाई सम्झाउँछ। भविष्यको कल्पना सुनाउँछ भने झैँ कलाकार सिर्जना अधिकारीलाई पुर्खाको पुरानो घरले नाटककारमा सीमित गरिदिएको छ।

उनी अहिले पुरानो घर थिएटरमा ‘लाटीको छोरो’ नाटक मञ्चनमा व्यस्त छिन्। उनै अधिकारीसँग उकेराकर्मी पुष्पा थपलियाले पुरानो घरको कथामा केन्द्रित रहेर गरेको कुराकानीको सम्पादित अंश:

२०७४ साल दशैंको टीकाको दिन थियो। हामीले पुरानो घरको शिलान्यास गरिसकेका थियौं। पछि थिएटर बनेर सक्ने बेला विभिन्न माध्यमबाट कलाकारका लागि काष्टिङ कल गरेका थियौँ। तर थिएटर निर्माण गर्ने मान्छेको प्राविधिक गडबडीका कारण तनाव भयो। फलाम जोडेर बनाएको थिएटर कोल्टे परेपछि पुरै संरचना भत्काउनुपर्ने भयो।

नाटक गर्ने समयमा हामीसँग न पैसा रह्यो, न भवन नै। म त पुरै डिप्रेस भएँ। सुरुमा उत्साहित भएर इँटा बोक्नेदेखि किला ठोक्नेसम्मको काम गरेकी थिएँ, भत्किएपछि दोहोर्याएर त्यो ठाउँमा जानै मन नलाग्ने भयो।

मैले त हार मानिसकेको थिएँ। तर मेरा श्रीमान्ले हार मान्नुभएन। हात बाँधेर बसेको म, भवनको सेप आइसकेपछि मात्रै भित्र छिरेकी हुँ। भित्र पसेपछि भने यसको माया लागेर आयो। मेहनत गर्यौ। अझै फिनिसिङको काम बाँकी छ। नाटक गर्न पनि उत्तिकै हतारो छ। पहिलो नाटक ‘म’ को समयमा खासै हल्ला गरेनौँ। अहिले ‘पुरानो घर’को दोस्रो नाटक ‘लाटीको छोरो’ मञ्चन भइरहेको छ।

के हो त पुरानो घर ? 

मण्डला थिएटरसँग छुट्टिएपछि नै आफ्नो थिएटर बनाउने बारेमा सोचेका हौँ। मण्डलामा दुवै जना स्थापना कालदेखि नै थियौँ। त्यहाँ दुवैको सेयर थियो। क्रियटिभ ठाउँमा उस्तै मानिस भेला भएपछि बिचार फरक भइहाल्छ। यही बिचार फरक भएकै कारण मण्डलासँग छुट्टिएका थियौँ। थिएटर दुबैका लागि पुरानो स्पेस हो।

वास्तवमा भन्ने हो भने फिल्मका कलाकारहरूको आधा जिन्दगी त चिन्तामै बाँचिरहेका हुन्छन् होला। बाहिर देखाउनका लागि र अर्को वास्तविकता। बिचरा उनीहरू तनावमै बाँच्छन्। 

अहिले थिएटर बनेको ठाउँ मेरा ससुराको पुर्ख्यौली जग्गा हो। पहिले सिनामंगल क्षेत्रमा हाम्रा पुस्ता मात्रै थिए रे। पछि सबैले जग्गा जमिन बेचेर अन्तै गएछन्। पुस्तौँ पुस्तादेखिको एउटा मात्रै घर बाँकी रहेकाले यसको नाम ‘पुरानो घर’ राख्ने निर्णय गर्यौँ। पुरानो स्पेस, पुरानो ठाउँ भएकाले थिएटरको नाम पुरानो घर रहन गयो।

भनेपछि भाडा तिर्नु पर्दैन?

(हाँस्दै) परिवारलाई मनाएर नै यहाँ थिएटर बनाएका हौँ। भाडामा चलिरहेको ठाउँ सित्तैमा हडप्न त नहुने हो। सुरुमा भाडा दिन्छौँ भनेर लिएका हौँ तर परिस्थितिवश आजसम्म दिन सकिएको छैन। नैतिकताको आधारमा पनि दिनुपर्ने चाहिँ हो।

यत्रो लगानी गरियो। यही लगानी व्यापार बिजनेसमा गर्ने हो भने प्रतिफल दिने थियौ। दूर दूरसम्म पनि यसको नाफा देख्न सकिँदैन। त्यसैले कहिलेकाहीँ आफूलाई पागल लाग्छ।

पागल लाग्नुको कारण पैसा नै हो र? 

यो स्वाभाविक हो। ८ घण्टे जागिर हैन कला भनेको। नाटककै कुरा गर्दा एउटा नाटकका लागि तीन महिना अथवा कम्तीमा एक महिना रिहर्सल गर्नुपर्ने हुन्छ। टिकट खासै बिक्री हुँदैन। चिया नास्ताको भरमा या केही पारिश्रमिकको भरमा यो महँगीमा बाँच्न सकिएला र? दिएको पारिश्रमिकले कतिको न्याय गर्छ आफै बिचार गर्नुस्। अर्को कुरा, तपाई कसरी लाईफस्टाइल म्यानेज गर्नुहुन्छ यो कुराले पनि म्याटर गर्छ। 

फिल्मका नायक नायिकाको लाइफस्टाइल देखेर मलाई दया लाग्छ। एउटै ड्रेस दुई कार्यक्रममा लगायो, त्यहाँ पनि यहाँ पनि एउटै लुगा भन्छन्। कार पनि परिवर्तन गरिरहन पर्यो। चस्मा, जुत्ता सबै परिवर्तन गर्नै पर्यो। नत्र ड्रेस सेन्स नभएको भन्छन्। वास्तवमा भन्ने हो भने फिल्मका कलाकारहरूको आधा जिन्दगी त चिन्तामै बाँचिरहेका हुन्छन् होला। बाहिर देखाउनका लागि र अर्को वास्तविकता। बिचरा उनीहरू तनावमै बाँच्छन्। 

हाम्रा सिनियरले पनि केही हदसम्म गरिब बनाएका हुन्। सधैँ छैन भन्ने, भएन भन्ने परम्पराले यस्तो अवस्था सिर्जना भएको हो।

थिएटरका कलाकार आफ्नो तरिकाले बाँच्न पाउँछन्। फिल्मका कलाकारलाई जति मानिसले चिन्छन्, थिएटरका मानिसलाई चिन्दा पनि चिन्दैनन्। उनीहरू सार्वजनिक बसमा झुन्डिएर यात्रा गर्न पनि सक्छन्, बाटोमा मकै खाएर बाँच्न पनि सक्छन्।

अर्को कुरा, हाम्रा सिनियरले पनि केही हदसम्म गरिब बनाएका हुन्। सधैँ छैन भन्ने, भएन भन्ने परम्पराले यस्तो अवस्था सिर्जना भएको हो।

टिकट काटेर नाटक हेर्न बानी परेको छैन। सित्तैमा पाँच ओटा टिकट खोज्नेहरू छन्। पानी समेत किनेर खान्छौ हामी। अक्सिजन पनि किन्नुपर्ने अवस्था आउन थाल्यो। यस्तो अवस्थामा निःशुल्क नाटक देखाउन त सकिँदैन। कसैलाई चाहना छ, तर पैसा छैन भने त्यस्तालाई निःशुल्क नाटक हेर्न दिनु फरक कुरा हो।

कसरी चलिरहेको छ यी सबै कामहरू?

जसरी सोच्छु त्यसरी नै जिन्दगी चल्छ जस्तो लाग्छ। बेबी (बच्चा) हुँदा पनि नाटक गरेँ। बेबी पेटमा आठ महिनाको हुँदा ट्रेनको यात्रा गरेर सुनकेशरी नामको नाटक गरेको छु।

बरू अरूभन्दा फरक अनुभूति भयो। पेटमा बच्चा आइसकेपछि सबैले विशेष हेरचाह गरे। तीन महिनासम्म घर परिवारले गरेको हेरचाहले इरिटेट भएँ। फस्ट्रेड हुन्थेँ, त्यो रिस आमालाई पोख्थेँ।

अपरेसन गरेर बच्चा जन्माएँ। त्यसको १४ दिनमै काममा हिँड्न थालेँ। एक वर्षका लागि रेडियो नाटकका लागि हिँडे। घरमा खासै बसिनँ।  

काम नगर्ने बित्तिकै दर्शकको नजरबाट हराउँछौँ। बालुवामा पानी हालेजस्तो प्रोफेसन छ। कतिपय समयमा अब गर्दिन भन्ने पनि लाग्थ्यो। लकडाउनको समयमा यो विषयमा धेरै आफूलाई केलाउने मौका पाएँ।

तपाईंका श्रीमान्ले घर सम्हाल भन्नुभएन?

सँगै नाटक सिकेका १७ जना कलाकारमध्ये बुद्धि तामाङ र म मात्रै यो क्षेत्रमा सक्रिय छौं। बुद्धिजी फिल्ममा धेरै व्यस्त हुनुहुन्छ, म थिएटरमा। अरू मानिस कता हराए? किनभने यहाँ टिकिराख्न समस्या छ। श्रीमान्ले छाड्न दिनु भएन। उहाँले तिमीलाई थिएटरमै देखेको हो। ‘तिम्रो सुन्दरता हैन, कामले प्रभावित भएको हो’ त्यसैले नाटक नछाड भनिरहनुभयो। एक पटक, म विदेश जान्छु, तपाईं यता हेर्नु नभनेको हैन। तर उहाँ मान्नुभएन।

माघ १, २०७८ शनिबार ११:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।