कर्णाली प्रदेश सभा : पाँच वटा अध्यादेश प्रस्तुत हुने 

कर्णाली प्रदेश सभा : पाँच वटा अध्यादेश प्रस्तुत हुने 

सुर्खेत : कर्णाली प्रदेश सभाको नवौँ अधिवेशन बुधबार दिउँसो ३ बजे बस्दैछ। बैठकको सुरुमा अधिवेशन आव्हान सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए।

उनका अनुसार पाँच वटा अध्यादेश प्रस्तुत गर्ने कार्यसूची रहेको उनले जानकारी दिए। आर्थिक, खेलकुद, पदाधिकारीको सेवा सुविधा सहितका पाँच वटा अध्यादेश प्रस्तुत हुने उनले बताए। बैठकमा संसदीय दलका चार जना नेतालाई दलीय प्रतिनिधित्वका आधारमा भनाई राख्न समय दिइने बुढाथोकीले बताए।

‘समय कति दिने भन्ने छैन,’उनले उकेरासँग भने,‘दलका शीर्ष नेताले भनाई राख्नुहुन्छ।’ कर्णाली प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका सांसदको प्रतिनिधित्व छ। 

यसअघि मङ्सिर १४ गते मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि विशेष अधिवेशन आह्वान गरिएको थियो। नियमित आठौँ अधिवेशन भने असार ३० गतेदेखि नै अन्त्य भएको थियो।

पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभा बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।

पुष २८, २०७८ बुधबार १०:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।