सारङ्गी रेटेर जीवन धान्नै छोड्यो, अनि बनाएर बेच्न थाले अम्बे

सारङ्गी रेटेर जीवन धान्नै छोड्यो, अनि बनाएर बेच्न थाले अम्बे

बुटवलः कपिलवस्तु वाणगंगा नगरपालिका-६ गणेशपुरका अम्बेबहादुर गाइनेको पुर्ख्यौली पेशा नै सारङ्गी रेट्दै गीत गाउनु हो। उनी सानैदेखि बुवा भक्तबहादुर गाइनेको पछिपछि लागेर धेरै ठाउँ पुगिसकेका छन्।  

बुवाले सारङ्गी बजाउदै गीत गाउन थालेपछि कसैले अन्न दिन्थे, कसैले तरकारी। त्यही अन्न र तरकारी टिप्दै बुवासँग हिँड्थे- अम्बे।

उनका बुवा कहिले आफ्नो गीतमा परदेशका कथा सुनाउँथे, कहिले प्रेम, रोदन, हासोका कथा सुनाउँथे। गीत सुनाएर जोहो भएको अन्न र तरकारीले परिवारको गर्जो टरेको थियो।

बुवाले सारङ्गीको धुनमा संगीत भरेर परिवार पालेको देखेका अम्बे पनि सारङ्गी रेटेरै जीविकोपार्जन हुने सपना देख्न थाले।

१० वर्षअघि भक्तबहादुरको मृत्यु भइसक्यो। तर बुवाले देखाएको बाटो अम्बेले अझै  छोडेका छैनन्। अलि फरक भने छ- बुवाले सारङ्गी रेटेर जीवन धान्न सिकाएका थिए। अम्बे सारङ्गी बनाएर जीविकोपार्जन गरिरहेका छन्।

३२ वर्ष भो अम्बेले सारङ्गीसँग मित्रता गाँसेको। यो बीचमा उनी सारङ्गी बजाउँदै कहिले कपिलवस्तुका गाउँ चहारे कहिले बुटवल, भैरहवा, काठमाडौं, पोखरासम्म पुगे। धेरैलाई सारङ्गीको धुन र गीत सिकाए। 

अहिले उनी सारङ्गी कमै रेट्छन् । उनी बरू सारङ्गी र मादल बनाउने काममा बढी केन्द्रित हुन थालेका छन्।

श्रीमती र ९० वर्षकी आमा धनकुमारीसँग बस्दै आएका अम्बे अहिले सारङ्गी र मादल बनाएरै आम्दानी गर्न थालेका छन्। गीत गाउँदै गाउँ गाउँ चहार्दा हुने आम्दानी एउटै सारङ्गी, मादल बेच्दैमा हुने भएकाले उनको ध्यान यतै सरेको हो।

अम्बेले बनाएका मादल प्रतिगोटा २ हजार देखि ८ हजार सम्ममा बिक्री गर्छन्। सारङ्गी पनि कुँदिएका आकृति र साइजको आधारमा ५ देखि ८ हजार रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन्। 

लकडाउन यता कहिलेकाहिँ मात्र उनी सारङ्गी बोकेर गाउँ डुलेका छन्। 

ती गीत, यी गीत
अम्बेले सारङ्गी रेट्दै सुखदुःखका गीत गाउँथे। लाहुरेका गीत सुनाउँथे। त्यही समयतिर देशमा द्वन्द्व सुरु भयो। अनि यस्ता गीत सुनेर धेरै रुन्थे। 

'त्योबेला लडाइँका/लाहुरेका गीत सुनाउँदा छुट्टै आनन्द हुन्थ्यो', उनले भने।

अहिले गाउँघरमा गएर नयाँ गीत सुनाउँदा सुन्नेहरू कम हुने गरेको उनको अनुभव छ। 'हात हातमा मोबाइल छ। जहाँ त्यही गीत! हामी गाइनेका गीत अब कसले सुन्छ र? त्यसेले गाएर भन्दा पनि बनाएर जीवन चलाउन थालेको छु', उनले भने।

पहिलेका गीतले समाजका यथार्थ बताउने गरे पनि अहिलेका गीत उनलाई उत्ताउलो लाग्छ। क्षणिक मनोरञ्जनको भावबाहेक अहिलेका गीतमा मर्मस्पर्सी नहुने उनलाई लाग्छ।

‘लाहुरेका गीत गाउँदा सारङ्गी रेटेर मान्छेलाई रुवाउँथ्यौँ। कथा, पीडा, वेदना पोख्थ्यौँ। तर अहिले दोहोरो अर्थ लाग्ने गीतका शब्दहरू आउन थाले', उनले भने।

गाइने पेशा लोप हुँदै
गाइने पेशा लोप हुँदै गएको प्रति अम्बे चिन्तित छन्। उनको हजुरबुवा, बुवाले यही पेशाबाट परिवार पाले तर अब अम्बेकै छोराहरू यो पेशा अँगाल्न तयार छैनन्।

‘हाम्रा हजुरबुवा, बुवाले सारङ्गी बजाएर जीवन धाने। हामीले पनि त्यही गर्यौँ। तर छोराहरूले यो पेशामा चासो दिएका छैनन्', अम्बेले भने।

त्यसैले पनि गाइने पेशा मात्र होइन, नेपाली पुराना लोकबाजा पनि बिस्तारै हराउने हो कि भन्ने चिन्ता उनलाई छ। 

'गाइनेले पहिले राजगद्दीमा पुगेर सारङ्गी बजाउँथे, राजदरबारमा आउने पाहुनालाई स्वागत गीत सारङ्गी बजाएरै गर्थे। तर अहिले यी बाजा बिस्तारै लोप हुने अवस्थामा छन्। सरकारले विदेशबाट आयात हुने बाजाहरू प्रतिबन्ध लगाएर नेपालमै बनेका बाजा प्रयोगमा ल्याउनुपर्छ', उनले भने।

पुष २७, २०७८ मंगलबार ०९:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।