कर्णालीमा एमाले अधिवेशन : सुर्खेत र दैलेखमा निर्वाचन,चार जिल्लामा सर्वसम्मत
सुर्खेतको अध्यक्षमा वर्तमान उपाध्यक्ष अमृत बिसी र सचिवालय सदस्य डन्डी शर्मा निर्वाचनमा भिड्दै छन्। यस्तै पदाधिकारीहरूमा पनि निर्वाचन हुने भएको छ। उपाध्यक्षमा बिसीको प्यानलबाट कुलमणि देवकोटा, सचिवमा कुविन्द्रकुमार केसीले उम्मेदवारी दिएका छन्।
यता शर्माको प्यानलबाट भने उपाध्यक्षमा ऋषि गिरी र सचिवमा रेशम राना चुनावमा भिड्ने गरी अधिवेशनमा सहभागी प्रतिनिधिहरूबाट मत माग्न सुरु गरेका छन्।
सुरुमा अध्यक्षका लागि नौ जनाले आकाङ्क्षा व्यक्त गरे पनि सहमति जुटाउँदै गर्दा दुई जनाबिच सहमति नजुटेपछि निर्वाचनमा गएको अधिवेशनमा सहभागी चौकुने गाउँ कमिटीका उपसचिव जीवन तिरुवाले बताए।
यस्तै दैलेखमा पनि अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी परेको छ। वर्तमान पार्टी अध्यक्ष रबिन्द्रराज शर्मा, चामुण्डा बिन्द्रासैनी नगरपालिकाका प्रमुख सूर्य बहादुर शाही, पूर्व जिल्ला उपसभापति अर्का सूर्य बहादुर शाही, एमालेका सदस्य कर्ण बहादुर खड्का र कर्णाली प्रदेश सभा सदस्य सुशील थापा चुनावी मैदानमा भिड्दै छन्। उनीहरूले आ-आफ्नो प्यानल नै खडा गरेर भोट माग्न सुरु गरिसकेको अधिवेशनमा सहभागी एक प्रतिनिधिले उकेरालाई जानकारी दिए।
चार जिल्लामा सर्वसम्मत
डोल्पा, सल्यान , जुम्ला र रुकुम पश्चिममा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । डोल्पामा शेरबहादुर बुढा, सल्यानमा गोविन्द पुन मगर, जुम्लामा शान्तिलाल महत र रुकुम पश्चिममा नन्दलाल देवकोटा सर्वसम्मत अध्यक्षमा चयन भएका छन्।
कर्णालीका सुर्खेत, दैलेख, जुम्ला, डोल्पा, जाजरकोट, रुकुम पश्चिम र सल्यान जिल्लामा शुक्रवारदेखि अधिवेशन सुरु भएको थियो। कालिकोटमा भने शनिवार जिल्ला अधिवेशनको उद्घाटन गरिएको थियो। मौसमको प्रतिकुलताका कारण मुगुमा यही पुस २७ गते र हुम्लामा माघ २३ गते जिल्ला अधिवेशन गरिने एमाले कर्णाली प्रदेश कमिटीले जनाएको छ।
‘निर्वाचनको कार्यक्रम सुरु भएर दरखास्त दिइसकेपछि पनि सर्वसम्मतबाट सहमति जुटाउन अन्तिम म्याद रहेसम्म प्रयास गरिनेछ,’एमाले कर्णाली प्रदेशका अध्यक्ष विनोद कुमार शाहले भने, ‘मङ्गलवारसम्म सबै जिल्लामा सर्वसम्मत र निर्वाचन मार्फत नेतृत्व चयन हुनेछन्।’
पुष २५, २०७८ आइतबार १९:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।