अवैध फारम खारेज गर्ने भनिएसँगै बुटवलमा मतदाता नामावली संकलन सुरु
आज बिहान बसेको सर्वदलीय बैठकले नामावली संकलन स्थानमा एउटा कम्प्युटर थप र कर्मचारी थप गरी चुस्त र दुरुस्त ढंगले नामावली संकलनको वातावरण मिलाउने पनि निर्णय गरेको नेकपा एमाले बुटवल नगर कमिटीका अध्यक्ष किसन ज्ञवालीले जानकारी दिए।
बिहान १० बजेदेखि साँझ ५ बजेसम्म प्रचलित कानूनअनुसार नामावली संकलन गर्ने सहमति बनेपछि आइतबारदेखि पुनः सुरु भएको हो।
शुक्रबार राति फोटोसहितको मतदाता नामावली संकलन भइरहँदा कांग्रेस स्थानीय नेताको अगुवाइमा फर्जी मतदाता नामावली संकलन भएको भेटिएपछि राति साढे १० बजे तालाबन्दी गरिएको थियो।
दुई सय जनाको अवैध फर्जी विवरण भरेको भन्दै एमालेले सर्वदलीय बैठकको आह्वान गरेपछि आज बिहान नेकपा एमालेका बुटवल नगर कमिटी अध्यक्ष किसन ज्ञवाली, नेपाली कांग्रेस बुटवल नगर समितिका सचिव छाया पोखरेल, नेकपा माओवादी केन्द्रका पुष्पराज ढकाल र नेकपा एकीकृत समाजवादीका बुटवल अध्यक्ष चिनकाजी गुरुङसहित नेताहरूको उपस्थितिमा बैठक बसेको थियो।
पुष २५, २०७८ आइतबार १४:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।