कर्णालीमा एमाले अधिवेशन: तीन जिल्लामा सर्वसम्मत, अन्यमा आकांक्षीहरू मिलाउँदै

कर्णालीमा एमाले अधिवेशन: तीन जिल्लामा सर्वसम्मत, अन्यमा आकांक्षीहरू मिलाउँदै

डोल्पामा शेरबहादुर बुढा, सल्यानमा गोविन्द पुन मगर र जुम्लामा शान्तिलाल महत सर्वसम्मत अध्यक्षमा चयन भएको नेकपा एमाले प्रदेश कमिटीका अध्यक्ष विनोदकुमार शाहले जानकारी दिए। कर्णालीका १० जिल्लामध्ये सात जिल्लामा नेतृत्त्व चयनको प्रक्रिया अघि बढेको उनले बताए।

‘कर्णालीका तीन जिल्लामा सर्वसम्मत नेतृत्त्व चयन भइसकेको छ भने सात जिल्लामा कतै बन्द सत्र जारी छ, कतै निर्वाचनको कार्यक्रम अगाडि बढेका छन्’, अध्यक्ष शाहले भने, ‘निर्वाचनको कार्यक्रम सुरु भएर दरखास्त दिइसकेपछि पनि सर्वसम्मतका लागि प्रयास भइरहेका छन्। आकांक्षी साथीहरू बढी भएपछि समयमा सर्वसम्मत नेतृत्त्व चयन हुन सकेको छैन। यद्यपी मंगलबारसम्म सबै जिल्लामा नेतृत्त्व चयन हुनेछन्।’

यस्तै प्रदेशको राजधानी समेत रहेको सुर्खेतमा शनिबार दिउँसो बन्द सत्र सकिएको छ। नेतृत्वका लागि आकांक्षीहरू धेरै भएपछि सर्वसम्मत नेतृत्त्व चयन गर्नका लागि सकस भएको छ।

सुरुमा अध्यक्षका लागि नौ जनाले आकांक्षा व्यक्त गरे पनि सहमति जुटाउँदै गर्दा अहिले दुई जनाबीच सहमतिको प्रयास भइरहेको अधिवेशनमा सहभागी चौकुने गाउँपालिकाका उपसचिव जीवन तिरुवाले उकेरालालाई जानकारी दिए।

जसमा बहालवाला उपाध्यक्ष अमृतबहादुर विसी र डण्डीप्रसाद शर्माबीच सहमति जुटाउने प्रयास नेताहरूले गरिरहेको उपसचिव तिरुवाले बताए।

कर्णालीका सुर्खेत, दैलेख, जुम्ला, डोल्पा, जाजरकोट, रुकुमपश्चिम र सल्यान जिल्लामा शुक्रबारदेखि अधिवेशन सुरु भएको थियो। कालिकोटमा भने शनिबार जिल्ला अधिवेशनको उद्घाटन गरिएको थियो।

मौसमको प्रतिकूलताका कारण मुगुमा यही पुस २७ गते र हुम्लामा माघ २३ गते जिल्ला अधिवेशन गरिने एमाले कर्णाली प्रदेश कमिटीले जनाएको छ।

पुष २५, २०७८ आइतबार १४:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।