अब यस्तो मिडिया अवार्ड कहिल्यै नहोस्

अब यस्तो मिडिया अवार्ड कहिल्यै नहोस्

काठमाडौँ : मनोरञ्जन क्षेत्रलाई समेट्दै आयोजना हुने कमै अवार्ड हुन्छन् जो विवादमा नपरोस्। विवादको कारण पुरस्कारको पारदर्शिता। क्षमता भन्दा पनि निकटता र चर्चाका आधारमा अवार्ड बाँडेको आरोप प्रत्यारोप चल्थ्यो।

मिडिया क्षेत्रमा नेपाल प्रेस काउन्सिल अनि नेपाल पत्रकार महासङ्घसँगै अन्य क्षेत्रगत संस्थाहरूले अवार्ड दिँदै आएका छन्। विद्यालय, सहकारीको वार्षिकोत्सव अनि महानगरपालिकादेखी गाउँपालिकाले दिने पुरस्कारले पत्रकारले सम्मान कम, अपमान बढी अनुभव गरेकै छन्।

कसलाई, किन पुरस्कृत गरेको भन्ने नखुल्दा सरकारले दिने मान पदवी पत्रकारहरुबाट अस्वीकार हुने गरेका छन्।  महासङ्घ र काउन्सिलले दिने अवार्ड क्षमताभन्दा संस्थागत भागबन्डाको गन्ध बढी आए पनि पुरस्कार लिनेको कमी भने हुन्थेन। खोज पत्रकारिता केन्द्रले बेलायत घुमाउने अवसरसँगै दिने खोज पत्रकारिता पुरस्कार बन्द भइसक्यो। बारबरा खोज पत्रकारिता पुरस्कार भने अझैँ जारी छ।

यहीबिच शनिवार यी सबै पुरस्कारभन्दा भिन्न शैलीको मिडिया अवार्ड कार्यक्रम भयो सोल्टी होटेलमा। निजी क्षेत्रको सहयोगमा इभेन्ट गर्दै आएको आयोजकले भव्य सेटमा भव्य तयारी गरेको अवार्ड कार्यक्रम भने ऐतिहासिक रुपमा असफल भयो।

कार्यक्रम थियो नेपाल मिडिया अवार्ड २०७८। तर कार्यक्रममा मिडिया र मिडियाकर्मीको उपस्थिति पातलो थियो। नेपाली मिडिया क्षेत्रका तीन हस्ती किशोर नेपाल, भैरव रिसाल अनि नीर शाहलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड दिइएको कार्यक्रममा बाँकी १९ विधामा न्युनले मात्र अवार्ड लिए। चिटिक्क परेर अवार्ड लिनेमा अनलाइनखवरका कला पत्रकार विजय आवाज लगभग एक्ला भए। उज्यालो नेटवर्कका अर्जुन पोखरेलका दाईले अवार्ड लिए। मनोनयनै नगरिएको पपुलर जर्नलिस्टको अवार्ड घोषणा अगाडि नै लिएर हिँडे ऋषी धमलाले।

मनोरञ्जन अनि मिडिया पनि जोडिएको बेस्ट रियालिटी सो , बेस्ट होस्ट अनि बेस्ट युट्युब च्यानलका विजेता कमेडी च्याम्पियन, रीमा विश्वकर्मा अनि ओएसआरका प्रतिनिधिले फिल्मी शैलीमा अवार्ड लिए। उनीहरुले मञ्चमा देखाएको शैली ठुलै प्रतिष्ठित अवार्ड पाएको भन्दा कम थिएन। अभिनेत्री केकीको सेलिब्रेसन हेर्न लायक थियो।

बाँकी अवार्ड पाउने पत्रकारको नाम त भनियो तर कोही आएनन्। कार्यक्रम सञ्चालक दिनेश डिसीले अवार्ड पाउनेको नाम भन्थे अनि कोही नआएपछि कोही उपत्यका बाहिर भएको अनी कोही फिल्डमा भएको जस्तो ब्यङग्यात्मक बहाना बनाउँथे। तर वास्तविकता पत्रकार जानाजान नआएको थिए।

कार्यक्रम प्रारम्भै गलत
कार्यक्रम घोषणा कार्यक्रममै उनै डिसीले कसरी पत्रकारको पहुँच दुरुपयोग गरेर आफूले फाइदा लिएको भन्ने विवादित भनाई दिएर कार्यक्रमको सुरुवातै खराब बनाएका थिए। बिचमा कार्यक्रमबारे कुनै चर्चा भएन।

आयोजकले कतै अवार्डको आव्हान या अन्य कुनै विवरण सार्वजनिक गरेनन्। एकै पटक एक विधामा पाँच जनाको नाम राखेर सर्ट लिस्ट सार्वजनिक भएपछि हङ्गामा भयो। कुन आधारमा सर्ट लिस्ट बनाएको अनि कसले बनाएको केही आधार नखुलाई मनोनयन सूची सार्वजनिक भएपछि खुसी हुनेभन्दा नाम फिर्ता लिने पत्रकारको सङ्ख्या बढ्यो। मनोनयनमा आफ्नो नाम भए पनि आफू योग्य नभएको भन्दै मनोनयनबाट नाम हटाउन आग्रह आयो सामाजिक सञ्जालमा। यो क्रम ह्वात्तै बढ्यो।

विधाका आधारमा सार्वजनिक भएका नामहरू विवादित थिएनन्। सक्रिय पत्रकारै थिए। तर मनोनयन सार्वजनिक गर्ने शैली, कार्यक्रम आयोजकको पृष्ठभूमि अनि कार्यक्रमको अति ब्यापारिकरणले मनोनयनमा परेकाले सम्मानभन्दा अपमान महसुस गरे।

आयोजक अनि सहयोगी नेपाल पत्रकार महासङ्घले अवार्ड पत्रकारको सम्मानका लागि हो भन्ने बोध गराउनै सकेनन्। अवार्डमा नाम परेपछि आइहाल्छन् भन्ने भ्रम देखियो। नाम फिर्ता लिन आग्रह गर्नेहरू शनिवारको कार्यक्रममा नजाने नै भए। जसले मनोनयनबाट नाम हटाउन आग्रह गरेनन् उनीहरू पनि गएनन् कार्यक्रममा। जसलाई सम्मान गर्न कार्यक्रम गरियो त्यही समुदायका सहभागी भएनन्। विवाहको कार्यक्रम केवल जन्ती मात्रै जस्तै भो।

मनोरञ्जनको ह्याङओभर
कार्यक्रम आयोजकले मनोरञ्जनात्मक अवार्ड बढी आयोजना गरेकोले हो वा सम्पर्क र सम्बन्ध नै त्यही क्षेत्रको भएर हो नाम मिडिया अवार्ड भए पनि सहभागी र कार्यक्रम शैली फिल्मी अवार्ड झैँ थियो। कार्यक्रमका सहभागी, विषयगत पुरस्कार दिन मञ्चमा गएका अतिथि, मनोरञ्जनका कार्यक्रम सबै फिल्मी अवार्डकैझैँ थियो।

चलचित्र निर्माता सङ्घ, चलचित्र निर्माता, चलचित्र वितरक मञ्चमा थिए पुरस्कार दिन। मिडिया क्षेत्रका प्रतिनिधि थिएनन् भन्दा हुन्छ। मिडियाबारे केही विवेचना थिएन। मुन्द्रेको प्रहसन अनि शुष्मा कार्कीको डान्स।

तल फ्लोरमा पनि मिडियाकर्मीभन्दा चलचित्रकर्मी नै बढी। कार्यक्रम सञ्चालक डिसीको उटपट्याङ शैली। उनी कहिले ओएसआरले युट्युबमा सात करोड लगानी गरेको भन्दै सोध्छन्' यहाँ ट्याक्स अफिसका त कोही छैन नि ?' त कहिले  मञ्च राम्रो बनाएको रहिछ बिहानै पैसा दिनु भन्छन्।कार्यक्रम फ्ल्पहुँदाको फ्रस्टेसन आयोजकमा कस्तो थियो देखिएन तर त्यसको छनक डिसीमा भने देखिएको थियो। 

पुष २४, २०७८ शनिबार २२:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।