बुटवलमा एमालेको विरासत भत्काउन मध्यरातमा मतदाता नामावली विवरण भराउँदै कांग्रेस

बुटवलमा एमालेको विरासत भत्काउन मध्यरातमा मतदाता नामावली विवरण भराउँदै कांग्रेस

तत्कालीन पिठौली गाविसका कुमार गुरौ र रम्भा गाउँपालिका दिल बहादुर सुनारले पनि बसाइसराइको कागजात विना इलाका प्रशासन कार्यालय बुटवलबाट फोटो सहितको मतदाता नामावली फारम भरेका छन्। 

शुक्रबार राति साढे १० बजे इलाका प्रशासन कार्यालयमा उकेराकर्मी पुग्दा उल्लेखित व्यक्तिको विवरण फाराम भर्ने काम भइरहेको थियो। बसाइसराइको कागजपत्र विनै सिधै मतदाता नामावली फारम भराउने इलाका प्रशासन कार्यालयमा नेकपा एमालेले तालाबन्दी गरेपछि प्रहरीको रोहवरमा भरिएका फारम, ल्यापटपलाई एकै ठाउँ राखिएकाे छ।

आइतबार सर्वदलीय छलफल गर्ने सहमतिपछि मुल गेटमा लागेकाे तालाबन्दी खुलेकाे छ। तर, मतदाता नामावली फारम राखिएकाे काेठामा भने ताला लगाइएकाे छ। एमालेले रित नपुर्याइ  भरिएका सम्पूर्ण फारमको विवरण ईन्ट्रीबाट हटाउन माग गरेको छ। 

१ सय ५० भन्दा बढी नागरिकलाई नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका वडा नम्बर १९ का वडा अध्यक्ष टिकाराम पाण्डेको नेतृत्वमा बसाइसराइ विनै मतदाता नामावलीमा फारम भर्न लगाएको एमालेले आरोप लगाएको छ। 

गृह प्रशासनको ठाडो निर्देशनमा सत्ता  र शक्तिको दुरुपयोग गरी मध्यरातसम्म कांग्रेस निकट मतदातालाई बुटवलमा मतदान गर्न पाउने गरी विवरण सङ्कलन गरिएको एमाले बुटवल उपमहानगर कमिटीका पूर्व अध्यक्ष बाबुराम पन्थीले बताए।

नागरिकता प्रमाणपत्र बाहेक अन्य कागजात नभएका रुपन्देही बाहिरका मतदातालाई थप्ने योजनामा सत्तारुढ दलका नेताहरूले मध्यरातमा उक्त काम गरेको एमाले रुपन्देहीका नेता राजेन्द्र ढकालले बताए। फोटो सहितको मतदाता नामावली सङ्कलन गरिरहेकी कर्मचारी बिपना अर्यालले भने प्रशासनकै आग्रहमा रातिसम्म विवरण भरेको बताइन।

मध्यरातमा मतदाता नामावली सङ्कलनको खास अर्थ

बुटवल उपमहानगरपालिका एमालेको पकट रहेको पालिका हो। रुपन्देहीको क्षेत्र नम्बर २ मा पर्ने बुटवलबाट एमाले उपाध्यक्ष विष्णु पौडेल निर्वाचित सांसद हुन्। बुटवलबाट एमालेलाई पराजित गर्ने कांग्रेसले आफ्ना मतदातालाई अन्यत्र बुटवलमा विवरण सार्न लगाएको एमालेको आरोप छ। 

स्थानीय तहको निर्वाचनमा बुटवल उपमहानगरपालिकाको नगर प्रमुखमा निर्वाचित शिवराज सुवेदी र माओवादी कांग्रेस गठबन्धनबाट उम्मेदवार बनेका खेलराज पाण्डेको मतान्तर जम्मा २ हजार ३ सय ९५ मत रहेको छ।

यही मतलाई ध्यानमा राखेर कांग्रेसले करिब ३ हजार नयाँ मतदाता थप गर्ने योजना अनुसार रित नपुगेका व्यक्तिको मतदाता विवरण बुटवलमा सारेको आरोप एमालेले लगाएको छ।

विजयी भएका शिवराज सुवेदीले २३ हजार २ सय ४९ मत पाएका थिए भने नेपाली काग्रेस र माओवादी केन्द्रको संयुक्त गठबन्धनका साझा उम्मेदवार बनेका नेपाली काग्रेसका खेलराज पाण्डेले २० हजार ८ सय ५४ मत प्राप्त गरेका थिए।

बुटवल उपमहानगरपालिकाको चुनावमा मुख्य प्रतिस्पर्धी एमाले र कांग्रेस नै हुन। २०४९ मा कांग्रेसले मेयर उपमेयर सहित १२ वटा वडा जितेको थियो। त्यतिखेर तत्कालीन बुटवल नगरमा एमाले ३ वटा वडामा मात्रै विजयी भएको थियो।

त्यसपछि एमालेले २०५४ मा उक्त नजिता उल्टाएको थियो। ०५४ सालको निर्वाचनमा एमालेले मेयर र उपमेयरसहित १२ वटा वडामा विजय हासिल गरेको थियो। त्यतिखेर २ वडा मात्रै कांग्रेसले जितेको थियो। एक वडा भने स्वतन्त्र उम्मेदवारले जितेका थिए।

पुष २४, २०७८ शनिबार ११:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।