आफूलाई परिवर्तनकारी भन्ने लेखक-निर्देशकको काम देखेर कन्पारो तात्छ : सहारा शर्मा
सहाराले त्यस्तै कलात्मक प्रयोग नेपाली फिल्ममा खोजिन् तर पाइनन्। अहिले भने उनी नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारहरूको हावा खुवाइरहेकी छन्। हालै उनको 'एक मुठ्ठी बादल' फिल्मको स्क्रिप्टले भारतको रोट्रेडम ल्याब अवार्ड हात पार्यो। फिल्म भने बन्न बाँकी नै छ।
सन् २०१३ मा 'चेजिङ रेन्बो' नामको नेपाली फिल्म बनाएकी सहारा अमेरिकाको न्युयोर्कमा बस्छिन्। नेपाली फिल्म यतिबेला आँधीमा रुमलिएको जहाज भएको बताउने सहारा शर्मासँग उकेराकर्मी पुष्पा थपलियाले गरेको कुराकानीको सम्पादित अंश:
देश बाहिरबाट नेपाली फिल्म कस्तो देखिरहनुभएको छ?
म प्रायः विषयवस्तुलाई महिलाको दृष्टिकोणले हेर्छु। आफूलाई परिवर्तनकारी भन्ने नयाँ फिल्मका लेखक-निर्देशक देखेर कन्पारो तात्छ। उनीहरू हामीले महिलावादी कुरा पस्केका छौँ भनेर झनै महिलालाई तल पारिरहेका छन्।
इन्टेन्सन खराब हैन होला तर परिणाम खराब आइरहेको छ। कथा राम्रो होला तर प्रस्तुति राम्रो छैन। उदाहरणका लागि 'जायरा' फिल्म हेरौँ न।
महिलालाई बहादुर देखाउन त्यति धेरै दुःख दिनुपर्छ र? उसको बलात्कार गर्नै पर्छ? आँखा अगाडि बीभत्स तरिकाले आफन्त मार्नै पर्छ? चरम रूपमा महिलालाई दुःख दिएपछि मात्रै उनीहरू बहादुर बन्ने हुन्? सबैले राम्रो भनेको 'आमा' फिल्मको ताल पनि उस्तै छ। बहादुर देखाउन हिरोइनले कपाल काट्नै पर्छ?
महिलालाई बिचरा बनाएर पैसा कमाउन मिल्दैन भन्ने मेरो बुझाइ हो। नेपालमा मात्रै हैन, विश्वभर नै कन्टेन्टको कुरा गर्दा महिलाको आँसु बिकाएर फिल्म नारीप्रधान बनेको छ भनेर हल्ला गर्ने चलन छ।
पहिलेको तुलनामा केही त राम्रो भइरहेको होला नि?
पुरानो फिल्म र अहिलेको फिल्म तुलना गर्नै मिल्दैन। पास्टलाई हामीले धन्यवाद दिनुपर्छ किनभने उहाँहरूले जस्तो फिल्म बनाए पनि त्यो समयमा फिल्म बन्नु ठुलो कुरा थियो। पुरानो पुस्तालाई यी कुराहरू थाहा थिएन।
पहिलेका महिला हामीहरू जत्तिको सचेत थिएनन्। जस्तै: हामी अहिले फोन प्रयोग गर्छौँ, गाडी चलाउँछौँ। यी सबै कुरा पुरुषको सजिलोका लागि बनाइएका सामान हुन्। अब हाम्रा लागि पनि फोन, गाडी चाहियो। हामीलाई सहज हुने गरेर बनाउनुपर्यो भन्ने नै हाम्रो माग हो।
लेखक, निर्देशकलाई एउटै आग्रह- कमसेकम नारीवादी फिल्म बनाउँछौँ भने एउटी महिलालाई एसिस्टेन्ट बनाऊ। उसको दृष्टिकोणबाट कथा बुझ। नारीप्रधान चलचित्र भनेर नारीलाई असहज नबनाइदेऊ।
लेखक तथा निर्देशकले जिम्मेवारी बोध गर्नुपर्यो भन्न खोजेको हो?
हो। यतिबेला नेपाली फिल्म मात्रै हैन, सबैतिर फिल्मका लेखक तथा निर्देशक गैरजिम्मेवार बनिरहेका छन्। उनीहरू कथाले मागेको भन्दै आइटम गीतमा महिलाको शरीर देखाइरहेका छन्। राम्रो शरीर भनेको दुब्लो हुनपर्छ भन्नेजस्ता दृश्यले कति किशोरीहरू भोकै सुतिरहेका होलान्। गोरो छाला मात्रै राम्रो भनिदिएर कति किशोरीहरू आफूलाई नराम्री सोचिरहेका होलान्, उनीहरूको आत्मविश्वास गुमिरहेको होला।
यसको जिम्मेवारी कसले लिन्छ? महिला भनेका त पुरुषको प्रेमिका, श्रीमानको श्रीमती, घरधन्दा गर्ने आमा मात्रै रहेछन् भन्ने सोचले धेरै किशोरीहरू आफ्नो सपना कोपिलामै निमोठ्न बाध्य भएका होलान्? फिल्म बनाउनेहरूले यस्ता कुराको जिम्मेवारी लिनै पर्छ।
महिलाले बनाएका नेपाली फिल्ममा पनि महिलाको दृष्टिकोण छैन भन्छन् नि?
स्वाभाविक हो। त्यसैले त आलोचना सहित इन्करेज गर्नुपर्छ फिल्म क्षेत्रमा महिलालाई भनेको नि। कत्ति पनि सोचाइ नै नभएको मानिसले केही सोचेर फिल्म बनाउने आँट गर्नु ठुलो कुरा हो। काम गरेपछि नै त फर्केर हेर्दा कहाँ गल्ती भएछ भनेर थाहा पाउने हो। यहाँ त सुरु गर्न पाएको छैन महिला 'भएर पनि' भन्ने कुरा आइहाल्छ। हामी यो बिर्सिन्छौँ कि पहिलो पटक पाइला सार्दा जो पनि लड्छ। तर ऊ लडेपछि नै हो फेरि उठेर हिँड्न सक्ने।
हामी यही समाजमा छौँ। अधिकार त माग्यो तर महिला भएर महिलाकै फिल्ममा ठुलो स्वरले किन अधिकार मागेन भनेर हेर्छौँ। बोल्न नदिएकाहरू बोले भन्ने तरिकाले हेर्दैनौँ। यो चाहिनेभन्दा धेरै अपेक्षा राख्नेहरूको पनि कमजोरी हो।
'छक्का पञ्जा' फिल्ममा निर्देशक दिपाश्री निरौलाले गरेको कामलाई म सलाम गर्छु। महिला निर्देशकले फिल्म बनाउने आँट गर्न सकेका छैनन्, उहाँले आँट गर्नुभयो। आफूले बनाएको फिल्ममा महिलालाई कुन रूपमा उभ्याएँ, कहाँ उभ्याएँ भन्ने कुरा उहाँले अब हेर्ने हो। गल्ती भएको ठाउँमा आगामी काममा सुधार्दै लैजाने हो।
त्यसो भए महिलालाई फिल्म मेकरले नबुझेकै हुन् त?
सबै कुरा फिल्म मेकरलाई मात्रै दोष लगाउन मिल्दैन। सबैका हातमा सामाजिक सञ्जाल, मिडिया लगायतका माध्यम छन्। आफूलाई मन लागेको दृष्टिकोण महिलाले पनि लेख्नुपर्यो। विचार बनाउनुपर्यो।
जसरी सहज हुन्छ आफ्नो कुरा दुनियाँलाई सुनाऊ। राम्रो लागेको कुरालाई राम्रो भन। नराम्रो लागेको कुरामा विरोध जनाउ। कमसेकम आफूलाई माया गर। आफूलाई समय देऊ। आफूलाई चिन।
अहिले सामाजिक सञ्जालमा कमेन्टहरू पढ्दा दिक्क लाग्छ। भर्खरका बहिनीहरू पुरै भिडिरहेको देख्छु। प्रियङ्का कार्कीले बेबी बम्प देखाओस् या गर्भावस्थामा स्विमिङ सुट लगाओस्, त्यो हाम्रो सरोकारको कुरा हैन नि। ऊ सेलिब्रेटीका साथै एक व्यक्ति पनि हो। अर्काको प्रोफाइलमा घुसेर संस्कृति बिगारेको भन्दै गाली दिने हैन। सबैको रुचि फरक हुनसक्छ, तिमीलाई मन पर्दैन नगर। अर्कोलाई मन पर्छ गर्न देऊ, किन विरोध गर्छौ।
मलाई धेरैले बहस गर्दा सकेनन् भने महिला भएर महिलाको खुट्टा तान्छन् भनेर तर्क पेस गर्छन्। पाँच वटा सिटमध्ये एक सिट महिलाका लागि छुट्टाइएको हुन्छ। महिला पनि पाँचै जना छन्। एउटाले सिट पायो भनेपछि चार जना त बाहिरिन्छन्। अनि चार जना मिलेर सिटमा बस्नेको कमजोरी देखाउन थाल्छन्। यो खुट्टा तानेको भन्दा पनि आफूलाई जोगाएको हो।
अर्को, सासू र बुहारी झगडा गर्छन्। ससुरा-बुहारी झगडा गरेको त देखिँदैन नि भन्छन्। सासूलाई घर बाहिरको काम देऊ र ससुरा-बुहारीलाई भात-भान्साको काम लगाएर हेर न, झगडा पर्छ कि पर्दैन। (हाँस्दै) यस्ता कुरामा म अलि उग्र भएर नै प्रस्तुत हुन्छ।
नेपाली फिल्ममा महिलाको भविष्य कस्तो देख्नुभएको छ?
अहिलेसम्म हाम्रा महिलालाई फिल्ममा देखाउने तरिकामा केही परिवर्तन आउन सकेको छैन। तर खुसीको कुरा, हाम्रा अडियन्स क्लाइमेक्स चित्त बुझेन भनेर तर्क गर्न सक्ने भएका छन्। अडियन्स सचेत हुनु भनेको लेखकलाई च्यालेन्ज हो। फिल्मको दृष्टिकोण बदलिनु हो।
पुष २४, २०७८ शनिबार ०९:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।