नयाँ हुन छोडे ओलीका भाषण, जहाँ बोले पनि कुरा एउटै 

नयाँ हुन छोडे ओलीका भाषण, जहाँ बोले पनि कुरा एउटै 

कानुन र विधिविपरित एमालेको सरकार ढालेको, पार्टी फुटाएको सुनाइरहेका छन्। उनी परमादेशबाट वर्तमान सरकार बनेको सुनाउन बिर्सँदैनन्। कुनै भाषणमा नाम लिएरै त कुनैमा नाम नलिई माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट आन्दोलन सखाप पारेको भन्न छुटाउँदैनन् ओली। 

उनले शुक्रबार पार्टीको ६१ जिल्ला अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गरे। दसौँ महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष चुनिने प्रयास सफल बनाउन नसकेका ओलीले सहमतिमै जिल्ला नेतृत्व चयन गर्न आग्रह गरे। ‘हामीले सहमतिमै जोड दिएका छौँ,’ओलीले भने,‘हाम्रा अगाडिका चुनौतीको सामना गर्न र अवसरलाई साकार पार्न सहमतिमै जोड दिएका छौँ।’ 

भर्चुअल उद्घाटन पछि ओली काठमाडौँ र काभ्रेको अधिवेशनमा सम्बोधन गर्न पुगे। करिब चार घण्टामा तीन वटा कार्यक्रममा सम्बोधन गर्दै भ्याएका ओलीसँग नयाँ कुरा भने केही थिएन। सत्तारुढ गठबन्धन र गठबन्धनको सरकारलाई प्रतिगामीको संज्ञा दिँदै आएका ओलीले उही पुरानै कुरा आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर सरकार बनाउने दाबी गरे। 

तर माघ १२ गते हुन लागेको राष्ट्रिय सभा चुनावमा भने एमालेले हार्ने ओलीले सुनाए। ‘१२ गतेको परिणाम हाम्रा लागि प्रतिकूल आउन सक्छ’,ओलीले भने,‘२ जना मान्छे तलमाथि पार्दा हाम्रो मान्छे हार्छ, हिजोको जनमत दुरुपयोग गरेर राष्ट्रिय सभाको परिणाम आउन सक्छ।’ 

काठमाडौँ जिल्ला अधिवेशनको सम्बोधन गर्न मूलपानी क्रिकेट रङ्गशाला पुगेका ओलीले मोनोरेल र मेट्रोरेलको सपना सुनाउन भने बिर्सिए। मेलम्ची खानेपानी आयोजनालाई उनले कार्यकर्ताको मन जित्ने हतियार बनाए। एमालेका सरकार नभएको भए मेलम्चीको पानी काठमाडौँमा नआउने सुनाए ओलीले। ‘उनीहरूलाई पैसा कहाँबाट आउँछ भन्ने पिर छ कहाँबाट आउँछ पानी?’उनले भने। 

वर्तमान सरकारलाई पन्चमुखी भनेका ओलीले सत्ता गठबन्धनको काम एमालेलाई गाली गरेर बस्ने भएको आरोप लगाए। ४१ महिना सरकार सञ्चालन गरेका ओलीले वर्तमान सरकार गठन भएको ६ महिनासम्म निर्मला पन्त हत्या प्रकरणमा के हेरेर बसेको भन्दै प्रश्न पनि गरे। 

उनले कांग्रेस महाधिवेशनमा चुच्चे नक्सा प्रयोग नभएर बुच्चे नक्सा प्रयोग गरेको प्रसङ्ग पनि उठाए। ‘कांग्रेसले महाधिवेशनमा कसको इसारामा बुच्चे नक्सा प्रयोग गर्यो? आफैँले पास गरेको नक्सा प्रयोग गर्न कांग्रेसले किन चाहेन? तुइन काटिएर युवा बेपत्ता हुँदा मतलब गर्दैन,’उनले भने ‘परमादेशबाट भेन्टिलेटरमा जडान गरिएको सरकार छ,मन्त्रीले झन्डा हल्लाए भन्दैमा सरकार छ भन्न मिल्दैन।’ ओलीले वर्तमान सरकार पुरै असफल भएको मात्रै होइन राज्यको तीन वटै अङ्ग बरबाद पारेको आरोप लगाए। 

ओलीले आफ्नो भाषणमा नछुटाउने अदालत पनि हो। उनी अदालतको फैसलाका कारण आफू सत्ताबाट बाहिरिनु परेको पीडा पोख्न छोड्दैनन्। ओली भन्छन्, ‘अमेरिकाबाट श्रीमान् इमेल गर्छन्, अरू श्रीमानहरू इमेल वाचन गरिनसक्दै, सुन्न नसक्नुभएपछि खोस खोस भनेर च्यातेर फाल्छन्। अदालतमा प्रधानन्यायाधीश छिर्न दिँदैनन्, वरिष्ठ कानुन व्यवसायी अदालतमा नै हानाहान गर्छन्, न्यायाधीशहरू हडताल गर्छन्, इजलास बहिष्कार गर्छन्, सरकार यस्तो, अदालत यस्तो, संसद् यस्तो छ।’

मूलपानीमा पञ्चमुखी सरकार रहेको र पाँच तिर फर्किएको बताएका ओलीले काभ्रे पुगेर भने, ‘एक अलच्छिन पसे त बरबाद हुन्छ, ५÷५ वटा अलच्छिन एक ठाउँमा भएपछि के हुन्छ ! मन्त्री भेटिएला कि भनेर मान्छे तर्केर हिँड्ने अवस्था छ।’ 

तीन वटै सम्बोधनमा एउटै भाषण गरेका ओलीले आफूहरूसँग जनताको साथ रहेकाले आगामी निर्वाचनमार्फत पहिलो राजनीतिक दल बनेर सरकार बनाउने बताए। ‘हामीलाई जनताको कवच प्राप्त छ’, उनले भने, ‘हामी चुनावको प्रतीक्षामा छौँ। त्यसपछि हामी शक्तिशाली भएर सरकार बनाउने छौँ।’  

पुष २३, २०७८ शुक्रबार २१:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।