आइडलका घुमन्ते प्रतियोगी गणेशको मिहिनेत काम लागेन, टप ३० पनि परेनन्

आइडलका घुमन्ते प्रतियोगी गणेशको मिहिनेत काम लागेन, टप ३० पनि परेनन्

काठमाडौँ : नेपाल आइडलको सिजन ४ का एक प्रतियोगी सम्झौँ त जो जहाँ-जहाँ अडिसन भयो त्यही-त्यही पुगे। नेपालगन्ज , विराटनगर, पोखरा अनि काठमाडौँ।

आइडलमा छानिन उनले बहिनीको बिहे पनि छाडेका थिए। उनी बल्ल-बल्ल काठमाडौँमा छानिएका थिए। उनी हुन् गणेश सुवेदी।

यति मिहेनत गरेर बल्ल-बल्ल आइडलमा छानिएका उनको यात्रा भने त्यति लामो हुन सकेन। उनी टप ३० मा पनि अटाएनन्। उनी तेस्रो चरणमै बाहिरिए।

उनी अडिसन राउन्डमै आइडलका दर्शकमाझ परिचित भइसकेका थिए। स्वर राम्रै थियो। रियालिटी शोमा दर्शकको कौतुहलता बढाउन ड्रामा हुनु के नै नौलो भयो र।

त्यसैले सुवेदीलाई हरेक ठाउँको अडिसनमा मौका दिनुमा यही ड्रामाको राम्रै भूमिका झैँ देखिएको थियो। पोखरामा नछानिएका उनी काठमाडौँमा पक्कै छानिने लख फेल भएन। तर उनी निकै अगाडि बढ्ने लख भने मिलेन। टप ३० मै अटाएनन्।

तर वाइल्ड कार्ड इन्ट्रीको अप्सन त अझै छ नै। कतै वाइल्ड कार्डका लागि अहिले देखि नै सुबेदीलाई तयार पारिएको त हैन ? किनकि बिदाइ एपिसोडमा पनि उनी कार्यक्रममा हाइलाइटै भएका जो थिए।

बिहीबार चैँ टप ३० मध्यले प्रस्तुति दिए टप १२ मा पर्न। पियानो राउन्ड भनिएको यो पार गर्नसके बल्ल रियल प्रतिस्पर्धा प्रारम्भ हुन्छ आइडलको। केही प्रतियोगीले टप १२ मा पर्ने लक्षण देखाएका छन्। केही प्रस्तुति शुक्रवार हुन्छ। अनि शुक्रवारै छानिनेछन् यो सिजनको टप १२ आइडलका प्रतियोगी।

पुष २२, २०७८ बिहीबार २२:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।