अवरोधै अवरोधले अलपत्र बुटवलको तिनाउ दानव कोरिडोर 

अवरोधै अवरोधले अलपत्र बुटवलको तिनाउ दानव कोरिडोर 

बुटवल : बुटवलको तिनाउ दानव कोरिडोर निर्माणमा फेरि विवाद बल्झिएको छ। घरजग्गा व्यवस्थापनको विवादले कोरिडोर निर्माणको काम अलपत्र पर्ने अवस्थामा पुगेको छ। 

२०७७ मंसिर १० मा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गरेको ८ दिनमै स्थानीयले आफूहरूलाई कुनै व्यवस्थापन नगरी कोरिडोरको काम थाल्न लागिएको भन्दै विरोध जनाएका थिए। 

अहिले फेरि सङ्घर्ष समितिले कोरिडोर क्षेत्र भित्र पर्ने घरधनीलाई व्यवस्थापन गर्न भन्दै आन्दोलन जारी राखेको छ। 

आफ्नो जग्गा मिचेको भन्दै नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक लिमिटेड र स्थानीय टेक बहादुर श्रेष्ठले उच्च अदालत तुलसीपुरबाट स्टे अर्डर जारी गराएका छन्। अदालतबाट अर्को आदेश नआएपछि कोरिडोर निर्माणको काम ठप्प भएको छ। 

तिनाउ दानव कोरिडोर पीडित सङ्घर्ष समितिका अध्यक्ष आत्मराम रानाले गरिब जनताको गासवाँसको व्यवस्था विना कोरिडोर निर्माण गर्न नदिने बताए। 

शिलान्यासको समयमा बुटवल उपमहानगरका मेयर शिवराज सुवेदीले घरधनीलाई खाली जग्गामा व्यवस्थापन गर्ने तयारी अन्तिम चरणमा पुगेको र कोरिडोर क्षेत्रका जनतालाई व्यवस्थापन गरेरै छाड्ने प्रतिबद्धता जनाएका थिए। तर प्रतिबद्धता अनुसार काम नभएकाले सङ्घर्ष गर्नुपरेको रानाले बताए।

सरकारी तथ्याङ्क अनुसार कोरिडोर क्षेत्रमा बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका तथा सैनामैना नगरपालिकाका ७०५ घर टहरा व्यवस्थापन गर्नुपर्ने छ। तर स्थानीयले भने कोरिडोर क्षेत्रमा १५ सय बढी घर टहरा भएको बताएका छन्।

सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकारी सागर पन्थीले स्थानीय तहले व्यवस्था गर्नुपर्ने भए पनि अहिलेसम्म नगरेकाले काममा अवरोध आएको बताए। सडकले अधिकांश सुकुम्वासी बस्तीको क्षेत्र ओगट्ने भएकाले उक्त बस्ती व्यवस्थापन गर्नुपर्ने जिम्मा स्थानीय तहले आफै लिए पनि व्यवस्थापन नगरेको उनले बताए।

कोरिडोरको पहिलो चरणमा ५० किलोमिटर सडकको डीपीआर तयार भएको छ। ०७७ असोजमा ठेक्का स्वीकृत भएको उक्त काम तिनाउतर्फ बुटवल उपमहानगर बसपार्क पछाडिको जिरो प्वाइन्टबाट तिलोत्तमा नगरपालिकाको मगर घाटसम्म र दानवपट्टि बेलबासको झोलुङ्गे पुलदेखि नयाँ गाउँको पुलसम्म काम भइरहेको छ। 

तिनाउ कोरिडोर निर्माणमा ५२ करोड ४६ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ। कोरिडोरको किराँतेश्वर मैनाचुली अविसा जेबिलेसँग ३६ महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ। 

त्यस्तै दानव कोरिडोर निर्माणका लागि १९ करोड ४२ लाख रुपैयाँमा २७ महिनामा सक्ने गरी लामा बानियाँ जेबीले ठेक्का सम्झौता गरेको छ। 

निर्माण सम्झौताअनुसार २२ मिटर चौडाइको सडक क्षेत्रमध्ये किनारतर्फको १० मिटर ग्रिनरी अर्थात् रूख रोपेर हरियाली बनाइने र बाँकीमा १२ मिटरमा सडक संरचना हुने इन्जिनियर पन्थीले बताए।

अहिले सम्म दानव कोरिडोर तर्फको २५ प्रतिशत मात्र काम सम्पन्न भएको छ। स्थानीय टेक बहादुर थापाले निर्माण कम्पनी लामा बानियाँ जेबीलाई समेत विपक्षी बनाएर मुद्दा राखेपछि अहिले भने काम रोकिएको लामा बानियाँ जेभिका प्रोजेक्ट म्यानेजर अनिल गौतमले बताए।

कम्पनीले बुटवल–१४ मा तटबन्ध बनाउने, नाली खन्ने, सबवेस तथा ह्युम पाइप बिछ्याउने काम गरे पनि फुटपाथ र ग्रीनरीको काम बाँकी छ। वडा नम्बर १२ र १३ का केही स्थानमा मात्रै काम गर्न पाइएको गौतमले बताए। वडा नम्बर ११ मा काम सुरु नै गर्न नपाई स्थानीयको अवरोध भएको उनले बताए। स्थानीयको अवरोध र अदालतको स्टे अर्डरका कारण काम रोकिएको उनको भनाई छ।

बुटवल उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले कोरिडोर क्षेत्रमा पर्ने बस्तीलाई व्यवस्थापन गर्नका लागि काम भइरहेको बताए।

पुष २२, २०७८ बिहीबार २१:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।