कांग्रेस संस्थापनइतर किन चाहँदैन चुनावी गठबन्धन ?

कांग्रेस संस्थापनइतर किन चाहँदैन चुनावी गठबन्धन ?

काठमाडौँ : गठबन्धन गरेर राष्ट्रिय सभा निर्वाचनमा होमिएको नेपाली कांग्रेसभित्र स्थानीय तह ,प्रदेश र सङ्घीय तहमा एक्लै लड्ने कि गठबन्धन गरेर चुनावमा जाने भन्नेमा मतभेद देखिएको छ। पार्टीको संस्थापनपक्ष आगामी तीनै तहको निर्वाचन गठबन्धन बनाएर जानुपर्ने पक्षमा देखिएको छ भने संस्थापनइतर पक्ष भने एक्लै निर्वाचनमा जानुपर्ने पक्षमा छ।

पार्टी सभापति शेरबहादुर देउवा आम निर्वाचनसम्म गठबन्धन गरेरै जानुपर्ने पक्षमा छन्। माओवादी केन्द्रको पुस ११ गतेको उद्घाटन सत्रमै उनले प्रस्ताव राखेका थिए। उनले पार्टीको बैठकहरूमा समेत अहिले सरकारमा रहेका दलहरू मिलेरै निर्वाचनमा जानुपर्ने धारणा राख्ने गरेका छन्। उनी मात्रै हैन उनी निकट नेताहरूको बोली पनि उही छ।

तर पार्टीभित्रको अर्को समूह भने गठबन्धन मिलेर लड्ने चुनाव राष्ट्रिय सभा नै अन्त्य हुने दाबी गरिरहेका छन्। यसमा विशेष पार्टीभित्रको संस्थापनइतर समूह सक्रिय देखिन्छन्। उपसभापति धनराज गुरुङ ,महामन्त्री गगन थापा खुल्लै रूपमा गठबन्धनको विपक्षमा देखिन्छन्। उनीहरूले राष्ट्रिय सभाको आगामी निर्वाचन नै सत्तामा रहेका दलहरूको अन्तिम गठबन्धन हुने दाबी गरिरहेका छन्।

गठबन्धन गरेर जाँदा पार्टीको एकल बहुमत आउन नसक्ने र बहुमतका लागि पार्टी एक्लै चुनावमा जानुपर्ने उनीहरूको मत देखिन्छ। संस्थापन समूह भने अहिलेको गठबन्धनलाई आगामी निर्वाचनसम्म कायम राख्न सके एकल बहुमत नआए पनि गठबन्धनको बहुमत आएर एमालेलाई सरकार बनाउनबाट रोक्ने रणनीतिमा देखिन्छन्।

गठबन्धन बाहिर गए माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबिच गठबन्धन बन्दा आफूहरू कमजोर हुने हो कि भन्ने शङ्का समेत देखिन्छ। कांग्रेस संस्थापनमा। अर्को आफ्नो नेतृत्वमा सरकार बनाउन माधव नेपाल समूहले लगाएको गुण तिर्न पनि देउवा उनीहरूलाई एक निर्वाचनमा सम्मानजनक उपस्थिति दिलाउन इच्छुक देखिन्छन्।

एमाले विभाजित भएर बनेको एकीकृत समाजवादी केपी ओली एमाले अध्यक्ष रहेसम्म सहकार्य हुन कठिन देखिए पनि माओवादी केन्द्रले कहिले रणनीति बदल्छ एकिन हुन्न। उसले आफू अनुकूल दलहरूसँग सहकार्य गर्ने र सहकार्य तोड्ने गर्दै आएको छ। गत निर्वाचनमा एमालेसँगको सहकार्य तोडेर कांग्रेससंग मिलेर सरकार चलाएको माओवादीले स्थानीय तहमा कांग्रेससँग सहकार्य गरेको थियो। तर प्रदेश र सङ्घमा भने एमालेसँग सहकार्य गर्यो। संस्थापनइतर समूहले  प्रचण्डको यही अस्थिर राजनीतिक स्वभावलाई उदाहरणका रूपमा लिएर भर नभएकाले आगामी सरकार एक्लैले बनाउने गरी निर्वाचन जानुपर्ने पक्षमा देखिएका छन्।

कांग्रेस सह महामन्त्री महालक्ष्मी उपाध्याय डीना गठबन्धन निरन्तर होस् भन्ने पक्षमा देखिइन्। संविधानको रक्षार्थ कांग्रेसलाई सहयोग गर्दै अहिलेको गठबन्धन बनेकाले संविधानको रक्षाका लागि गठबन्धनलाई निरन्तरता दिनुपर्ने उनको तर्क छ। उनले गठबन्धन नभए कार्यगत एकता हुनसक्ने बताउँछिन्।

‘हिजोका दिनमा स्थानीय निर्वाचन प्रक्रियामा गठबन्धन थिएन। चितवनमा माओवादी केन्द्रसँग गठबन्धन भयो अन्य जिल्ला भएन। एमाले र माओवादी, एमाले र कांग्रेसले पनि स्थानीय तहमा गठबन्धन गरेका उदाहरण अघिल्लो स्थानीय चुनावमा छ,’ उपाध्यायले भनिन्।

इतरपक्ष भने कांग्रेस एक्लै जितको लागि योग्य रहेकाले एक्ले आम निर्वाचनमा होमिनुपर्ने बताउँछ। बुधवारको महाधिवेशनको समीक्षात्मक बैठकको निष्कर्ष कुनै पनि हालतमा गठबन्धन गरेर चुनावमा जान नहुने थियो।

‘चुनावसम्म सरकार गठबन्धनको तर चुनावमा कांग्रेस एक्लै लड्नुपर्छ भन्ने बैठकको मुख्य निष्कर्ष हो,’ समीक्षात्मक बैठकपछि एक नेताले उकेरासँग भने। एमाले पनि विभाजित भएको र अन्य दलहरूको बलियो जनमत नभएकाले कांग्रेस एक्लै चुनावमा जानुपर्ने उनीहरूको जोड छ।

‘आफ्नो खुट्टामा विश्वास नलागेर वैशाखी टेकेर दौडन खोजियो भने पहिलो त परै जाओस् तेस्रो हुन पनि गाह्रो हुन्छ। कांग्रेसले यो कुरा राम्ररी बुझेको छ,’ कांग्रेस उपसभापति धनराज गुरुङले भने।

‘एमसीसीबारे वर्तमान गठबन्धनको समान धारणा बन्यो र पास भएर गयो भने आगामी चुनावसम्म गठबन्धन बन्ने सम्भावना बढी हुन्छ, यदि एमसीसीको बारेमा सरकार वा गठबन्धनको दृष्टिकोण विभाजित रह्यो भने त्यो सम्भावना त्यसै पनि कमजोर हुन्छ,’

महामन्त्री थापा कांग्रेस महाधिवेशन अघिदेखि कांग्रेस एक्ले चुनावमा जानुपर्ने पक्षमा छन्। ‘राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धन भयो। निर्वाचनका लागि यो अन्तिम गठबन्धन हो। अब कांग्रेस चुनावमा गठबन्धन गरेर जाने पक्षमा छैन। एक्लै चुनाव लडेर बहुमत ल्याउने अनि देशको पहिलो पार्टी बन्ने हो,’ बुधवारको शेखर कोइराला पक्षीय समीक्षात्मक सम्बोधनका क्रममा थापाले भनेका थिए।

विश्लेषकहरूको मत अलि भिन्न देखिन्छ गठबन्धनको आयु सम्बन्धमा। एमसिसीबारे गठबन्धनका दलहरूबिच एक मत छैन। मुख्य  माओवादी केन्द्र र एकीकृत समाजवादीमा ठुलै भिन्नता छ एमसिसीलाई लिएर। राष्ट्रिय जनमोर्चा समेत विपक्षमा छ। जसपा सफ्ट देखिन्छ भने कांग्रेस पारित गर्नुपर्ने पक्षमा छ।

राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले चुनावमा गठबन्धन बन्ने या नबन्ने राजनीतिक जोड घटाउमा भन्दा पनि अमेरिकी सहयोग परियोजनामा निर्भर रहेको बताउँछन्।

‘एमसीसीबारे वर्तमान गठबन्धनको समान धारणा बन्यो र पास भएर गयो भने आगामी चुनावसम्म गठबन्धन बन्ने सम्भावना बढी हुन्छ, यदि एमसीसीको बारेमा सरकार वा गठबन्धनको दृष्टिकोण विभाजित रह्यो भने त्यो सम्भावना त्यसै पनि कमजोर हुन्छ,’ उनले भने।

वाग्लेले कांग्रेसभित्र फरक मत देखिए पनि अहिले नै उसले बनाउने चुनावी रणनीतिबारे टिप्पणी गर्ने समय आई नसकेको बताउँदै भने ‘गठबन्धनसँगै कांग्रेस चुनावमा जाँदा उपयुक्त हुन्छ की एक्लै जाँदा उपयुक्त हुन्छ भनेर टिप्पणी गरिहाल्न अवस्था परिपक्व भैसकेको छैन। पार्टी कसरी अघि बढ्छ भन्ने कुरा पार्टीकै नेताहरूले सोच्ने कुरा भयो।’

पुष २२, २०७८ बिहीबार २०:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।