सुर्खेत सभाहल हस्तान्तरण, बिजनेस गरेर आफै पालिन मन्त्री झाँक्रीले दिइन निर्देशन
सुर्खेत : कर्णाली प्रदेशकै ठुलो सभाहल वीरेन्द्रनगर नगरपालिकालाई हस्तान्तरण भएको छ। सहरी विकास मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाई सुर्खेतले निर्माण गरेको भवन सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नगरपालिकालाई हस्तान्तरण गरेकी हुन्।
कार्यक्रममा सहरी विकास मन्त्री झाँक्रीले यति ठुलो लगानीमा निर्माण गरिएको सभाहलको दिगोपनाको विषयमा ध्यान दिनुपर्ने बताइन।उनले यो हल नगरपालिकालाई हस्तान्तरण गरेर दायित्वबाट पन्छिन भने नखोजिएको बताइन्। उनले हलले बिजनेस गर्ने र यहाँ कार्यरत कर्मचारी पालिन सक्ने गरी काम गर्न निर्देशन दिइन।
यस्तै वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदीले सभाहलको दोस्रो चरणको कामको लागि तत्काल प्रक्रिया अघि बढाइदिन मन्त्री झाँक्रीलाई आग्रह गरे।
प्रदेशको राजधानी वीरेन्द्रनगर-६ मा निर्माण भएको सभाहलको क्षेत्रफल २५ हजार २८९ दशमलव १६ वर्गमिटर अर्थात् ५० रोपनी रहेको छ।
सभाहल निर्माणका लागि २६ करोड ९१ लाख ९५ हजार २६४ रुपैयाँ विनियोजन गरिएको थियो। २०७६ चैत्र २३ गतेभित्र निर्माण सम्पन्न गर्ने सम्झौता गरेको समानान्तर-चक्रेश्वरी शिवशक्ति जेभि काठमाडौँले तोकिएको अवधिमा काम सम्पन्न गर्न सकेको थिएन।
कोरोना भाइरसका कारण काम प्रभावित भएकोले २०७८ भदौ २३ गते सम्म म्याद थपिएको र सोही अवधिमा सभाहलको पहिलो चरणको कार्य सम्पन्न भएको सङ्घीय आयोजना कार्यान्वयन इकाईका आयोजना प्रमुख अमरबहादुर थापाले बताए।
सभाहलको क्षेत्र ३ दशमलव १९२ वर्गमिटर र टोटल फ्लोर एरिया ७ दशमलव ४२९ वर्ममिटरमा रहेको छ। चार सय पेरिमिटर बराबरको कम्पाउन्ड वाल निर्माण गरिएको छ भने एक मुख्य प्रवेशद्वार र दुई वटा सहायक प्रवेशद्वार निर्माण गरिएको छ।
सभाहल परिसरमा ११० वटा सवारी पार्किङ गर्न सकिने व्यवस्था गरिएको छ। सभाहलको पूर्व पट्टिको भागलाई व्यापारी प्रयोजनका लागि खाली छोडिएको छ।
पुष २२, २०७८ बिहीबार २०:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।