हिजोका कुरामा अभिनेता प्रशान्त : २० हजारमा मोटरसाइकल आउने जमानामा एउटै शोबाट ६ हजार
काठमाडौं, यट्खा बहालमा जन्मिएका प्रशान्त त्यहीँको नेवारी कला, संस्कृति र जात्राको सेरोफेरोमा हुर्किए। बसन्तपुर नजिकको यट्खा बहाल उनको सात पुस्ते बराजु धनसिंह ताम्राकारले बनाएका थिए।
अहिलेको यट्खा बहालको तत्कालीन नाम भने भाष्कर कृति महाबिहार थियो। त्यो बहालभित्र अहिले पनि ६० प्रतिशत ताम्राकारकै पुस्ता बस्छन्। अहिले बालुवाटारमा बसोबास गरिरहेका प्रशान्तको पुर्ख्यौली घर अझै त्यही छ।
उनका बाजे-बराजुहरु ल्हासाका व्यापारी थिए। बाजेका बुबा बेखारत्न ताम्राकार भने ल्हासा र लद्दाखमा ४५ वर्ष बसेका थिए। त्यहाँ बेखारत्न बुद्य धर्ममा समर्पित भएर लागे। नेपालमा रिम्पुछें गुरुहरु नेपाल आउँदा नेपाली र नेपाल भाषामा अनुवादकका रुपमा काम गर्थे उनी। गुरुको तिब्बेतियन भाषाका प्रवचनहरुलाई बेखारत्न अनुवाद गरेर नेपालीहरुलाई बुझाउँथे।
प्रशान्तका बाजे पूर्णरत्न ताम्राकार भने अलि फरक पेशामा संलग्न भए। कला-संस्कृतिप्रति बढी चाख राख्ने उनी फोटोग्राफरका रुपमा परिचित भए। पूर्णरत्न दरबारमा फोटो खिच्न जाने गर्थे। त्यतिबेला नेपालका १० जना फोटोग्राफरमध्ये उनी एक थिए।
प्रशान्तमा व्यापार, व्यवसाय, धर्म, कर्मदेखि फोटोग्राफरसम्मको प्रभाव रह्यो। त्यसमा पनि उनी बाजेबाट बढी प्रभावित देखिन्छन्।
उनका बाजे आफैं धागो काटेर कपडा निकाल्थे र आफैं काटेर डिजाइन गरी कोट बनाएर लगाउँथे। बाजेसँग उनले साढे ६ वर्ष मात्रै बिताउन पाए। तर उनलाई बाजेको हात समाएर घुम्न गएको, १ पैसा लिन बाजेको खुट्टा समाएर बसेको अझै सम्झना छ।
उनी बज्यैको सबैभन्दा प्यारो सन्तान थिए। सानैदेखि बज्यैसँग सुत्ने, बज्यैकै कथा सुनेर हुर्केका प्रशान्तले अन्तिम समयसम्म पनि बज्यैकै आसपासमा बिताए।
उनका बुबा भने परिवारमै सबैभन्दा बढी पढेका व्यक्ति। एमकम एलएलबीसम्म पढेर अंग्रेजी गाइडको काम पनि गर्ने र एकाउन्टेनका रुपमा काम पनि गर्थे।
त्यतिखेर काठमाडौंमा अंग्रेजी बोल्नेहरु निकै कम थिए। त्यही भएर पनि उनका बुबा धेरै नै व्यस्त हुन्थे। त्यतिबेला गाइडको काम पनि धेरै पाउँथे र एकाउन्टेनको रुपमा पनि धेरै ठाउँमा व्यस्त नै हुन्थे। तर प्रशान्त भने पढाइमा भन्दा आर्ट एण्ड क्राफ्ट र खेलकुदमा बढी रुचि राख्थे।
प्रशान्तको बाल्यकाल काठमाडौंको बहाल, चोक र मठ मन्दिरको अगाडि नै बित्यो। कम बोल्ने, शान्त स्वभाव र साथीहरुको प्यारो थिए प्रशान्त। साथीहरु भनेपछि हुरुक्कै हुने उनको स्वभाव थियो। साथै टोलका बुढाबुढी र बच्चाहरु पनि उनका प्रिय साथीहरु नै थिए।
ऐतिहासिक, पुरातात्विक कुराहरुमा उनको सधैं चासो रहन्थ्यो। दरबारतिर घुम्न जाँदा उनी त्यो काल, त्यो समय कस्तो थियो होला कल्पना गरेर घण्टौं बसिरहन्थे।
टोल-टोलका डबलीहरुमा नाटकहरु प्रदर्शन हुने सुइँको पाउनासाथ उनी पुगिहाल्थे। जात्राहरुमा उनी सक्रियताका साथ सहभागी हुन्थे। शिवरात्रिमा डोरी थापेर पैसा उठाउनेदेखि इन्द्रजात्रामा ला छकु व्यका सम्य बजी भन्दै समय बजी माग्नसम्म पुग्थे प्रशान्त।
टेलिभिजन नभएको त्यो युगमा मनोरञ्जनको साधन नै डबली नाटक, नृत्य र जात्रा पर्वहरु नै हुन्थे। त्यसको उनी पारखी। कहिलेकाहीँ रातभरि नै कार्यक्रम हेरिरहन्थे। उनी घरमा हुँदा रेडियो चाहिं ठूलो स्वरमा बजाएर खुब सुन्थे। बाल कार्यक्रम, नाटक, गीतहरु सुन्थे। थोरै अल इन्दिया रेडियो पनि टिप्थ्यो। प्रशान्त माइकल चन्दको अंग्रेजी कार्यक्रमको ठूलो फ्यान थिए।
स्कुल पढ्दादेखि उनी राम्रो खेल्ने व्यक्तिमा पर्थे। अग्लो कद भएर पनि होला उनी हरेक खेलमा अब्बलै हुन्थे। ब्याडमिन्टेन, बास्केट बल, ह्याण्ड बल, सफ्ट टेनिस, फुटबल, गल्फ, क्रिकेट सबैमा उनको राम्रो पकड थियो। उनी सफ्ट टेनिस, ह्याण्ड बल र बास्कटे बलका राष्ट्रिय खेलाडी समेत थिए।
प्रशान्तको खेलप्रतिको रुचि टोलका साथीहरुसँग खेल्दा-खेल्दै बढ्यो। चोक ठूलो भएकोले साथीहरु मिलेर फुटबल खेल्ने, ह्वांग्रा खेल्ने, डण्डी-बियो खेल्ने, साइकलको पांग्रा खेल्ने गर्दथे। त्यसमा पनि आफ्नो खेल्ने साधन आफैं बनाएर खेल्नुपर्ने समय थियो। अलि ठूलो हुँदै गएपछि फुटबल खेल्न टुँडिखेल पुग्थे।
खेलमा मस्त रहेका प्रशान्तलाई साथी तथा आफन्तहरु तिमी राम्रो छौं, हिरो बन्नुपर्छ भन्थे। तर उनलाई त्यतातिर खासै रुचि थिएन। तर सानैदेखि हजुरबुबाको जस्तै ड्रेस सेन्स भने उनमा थियो।
आफूसँग जे-जस्तो पहिरन छ, त्यसमा मिक्स म्याच गरी लगाउँथे। पहिलेदेखि कसैको फलो चाहिं नगर्ने उनको बानी थियो। आफ्नै खाले स्टाइलमा उनी रमाउँथे। आफैं टेलरिङमा गएर आफ्नै किसिमले डिजाइन गर्न लगाउँथे।
विस्तारै रेडिमेड लुगाहरु आउन थालेपछि उनलाई अझै रमाइलो लाग्यो। कपडाको पाइन्ट लगाउने प्रशान्त डेनिमको पाइन्ट लगाउन पाउँदा दंगै परे। साथै माइकल ज्याक्सन, बबमार्ली, मेटालिकाको क्यासेट सुन्न थालेपछि उनमा फेसन सेन्स अझै बढ्दै गयो।
बिकम पढ्दै गर्दा उनी ग्ल्यामर क्षेत्रमा प्रवेश गरे। सन् १९९१ मा मोडल वान्टेड विज्ञापन बुबामार्फत पाएपछि आवेदन दिएका थिए। त्यतिबेला घरको फोनमा छानिएको खबर आउने बताएपछि दिनभरि टेलिफोन अगाडि बसेर कुरेर बस्थे।
प्रशान्त सम्झन्छन्, 'छानिएपछि मलाई हिमालयन होटलमा बोलाइयो। टेबुल-टेबुलमा डिजाइनरहरु थिए। डिजाइनरले जसलाई छान्यो त्यसले मोडलका लागि ड्रेस डिजाइन गर्नुपर्ने रहेछ। मलाई भने सबै डिजाइनरले छानेछन्।'
सो कार्यक्रम हाउस अफ राजकर्णिकारबाट वीरेन्द्र राजकर्णिकारले आयोजना गरेको हिमालय एक्स्पोको फेसन शोको लागि थियो। जुन नेपालकै पहिलो फेसन शो पनि हो।
सो कार्यक्रममा मोडललाई र्याम्पमा उतार्नका लागि कोरियोग्राफर नर्बेबाट आएका थिए। त्यतिबेलासम्म नेपालमा कोरियोग्राफर थिएनन्। नर्बेजियन कोरियोग्राफर म्यागीले प्रशान्तलाई र्याम्पमा हिँड्न सिकाए।
बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म लगातार महिनौं दिन प्रशिक्षण दिएर फेसन शोमा हिँडेको अनुभव सुनाउँदै प्रशान्त भन्छन्, 'मैले म्यागीसँग नजिकबाट धेरै कुरा सिकें र उनलाई सहयोग पनि गरें।' त्यो फेसन शोपछि नेपालमा वर्षको एक/दुई वटा फेसन शोहरु आयोजना हुन थाले।
प्रशान्तले त्यतिबेला एउटा फेसन शोमा हिँड्दा ६ हजारसम्म पारिश्रमिक पाउँथे, जुन बेला २० हजारमा त मोटरसाइकल नै आउँथ्यो।
त्यतिबेला प्रशान्त एकाउन्टेनका रुपमा बुबाका विभिन्न ग्राहककहाँ पनि काम गर्थे। जहाँ १३ घण्टा काम गरेवापत उनी ८ हजार मुस्किलले कमाउँथे।
त्यही समयतिर भारतमा ग्राभिएरा सुटिङ कम्पनीले प्रतियोगिता गरेको थियो। जसका ब्राण्ड एम्बेसडर सलमान खान थिए। १५ हजारभन्दा बढीले आवेदन दिएकोमा प्रशान्त छानिए। त्यहाँ गएर उनले धेरै अनुभव बटुले।
त्यहाँबाट फर्केपछि उनमा जोश-जाँगर झन् बढ्यो। सन् १९९५ मा हिडेन ट्रेजरमार्फत म्यान हन्ट इन्टरनेसनल नेपालमा भाग लिएर पहिलो पटक अन्तर्राष्ट्रिय शोमा भाग लिन सिंगापुर पुगे।
सिंगापुरबाट फर्केपछि प्रशान्तले आफैंले इभेन्ट म्यानेजमेन्ट कम्पनी खोले। र, आफैंले फेसन शोहरु आयोजन गर्न थाले।
प्रशान्तलाई सन् १९९८ देखि नै चलचित्रका लागि अफरहरु आउन थाले तर त्यतिबेला फेसन दुनियाँमै उनले आफ्नो करिअरको खाका बनाएर अघि बढिरहे।
दुई सयभन्दा बढी फेसन शोहरुमा कोरियोग्राफरको रुपमा काम गरिसकेका प्रशान्त ताम्राकारले हजारौं मोडललाई र्या म्पमा उतारिसकेका छन्।
आफूलाई अहिलेका चर्चित मोडलहरुले गुरु र आइकनको रुपमा हेरेको देख्दा उनी दंग पर्छन्।
अचेल चलचित्र क्षेत्रमा पनि व्यस्त रहेका प्रशान्तले केही भोजपुरी र साउथ इन्डियन चलचित्रमा समेत अभिनय गरिसकेका छन्। अन्तर्राष्ट्रिय प्रोजेक्टहरुबाट समेत अफर आइरहेको प्रशान्त बताउँछन्।
एकाउन्टेन, खेलाडी, मोडल, कोरियोग्राफर, इभेन्ट म्यानेजर हुँदै कलाकारको रुपमा परिचित प्रशान्त ताम्राकार आफूले भित्र्याएका कुराहरु अहिलेका कोरियोग्राफरले फलो गरिरहेकोमा नै आफ्नो सफलता ठान्छन्।
बसन्तपुर दरबार स्क्वायरमा टोलाएर इतिहास कल्पिरहने रहने बालक प्रशान्तले अहिले मोडलिङको दुनियाँमा नेपालको इतिहास कोरिसकेको छ।
थप हिजोका कुरा
पुष २२, २०७८ बिहीबार १८:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।