विधान विपरीत कांग्रेस केन्द्रीय सदस्य भएका विनोद चौधरी विरुद्ध आयोगमा उजुरी

विधान विपरीत कांग्रेस  केन्द्रीय सदस्य भएका विनोद चौधरी विरुद्ध आयोगमा उजुरी

पार्टीको विधानमा सदस्य भएको १० वर्ष नपुगी केन्द्रीय सदस्यको उम्मेदवार नै हुन नपाउने भए पनि कांग्रेसको केन्द्रीय निर्वाचन समितिले चौधरीको उम्मेदवारी सदर गरेको थियो।

दाबी विरोधको समयमा कसैले उजुरी नदिएको भन्दै समितिले चौधरी निर्वाचित भएपछि मान्यता दिएपछि सिरहा क्षेत्र ३ का महासमिति सदस्य सुभाषचन्द्र यादवले बुधवार आयोगमा उजुरी दिएका हुन्।

उनले उजुरीमा उनको पद खारेज गरेर आफूलाई निर्वाचित गर्न माग गरेका छन्। चौधरी मधेसी कोटाबाट केन्द्रीय सदस्य बनेका हुन्। मत परिणाम आउनु अगाडि नै उकेराले चौधरीको उम्मेदवारी नै विधान विपरीत रहेको सार्वजनिक गरेको थियो।

कांग्रेसको विधान, २०१७ को परिच्छेद ७ दफा २१(८) मा १० वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएको महाधिवेशन प्रतिनिधिबाट ४ महिला सहित ९ जना मधेसी केन्द्रीय सदस्य रहने व्यवस्था छ।

चौधरी एमाले छाडेर २०७४ मा कांग्रेस प्रवेश गरेका थिए। केन्द्रीय सदस्य मधेसी (खुल्ला) मा उजुरीकर्ता यादव छैँठौ भएका थिए। 

पुष २१, २०७८ बुधबार २२:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।