' म कामी हुँ' भन्ने निरुताले विश्वकर्मा नलेखी किन सिंह लेख्छिन् ?
कतिपयले लेख्ने बेलामा विश्वकर्मा नलेखेर सिंह लेख्ने पछि चैँ सान्त्वना पाउन विश्वकर्मा हुँ भन्ने भनेर पनि आलोचना गरे। अर्को एक कार्यक्रममा उनले भइरहेका विवादबारे बोल्दै आफूले थर नढाँटेको र आफू सिंह नै भएको बताएकी छिन्।
कान्तिपुर टेलिभिजनको सुमनसँग कार्यक्रममा उनले आफ्नो पुर्खाले नै सिंह लेख्ने गरेकाले आफ्नो पनि थर सिंह भएको तर आफू विश्वकर्मा भएकोबारे कहिल्यै नढाँटेको बताएकी थिइन्।
'मेरो हजुरबाले सिंह नै लेख्नुभयो। बुबाले पनि सिंहले नै लेख्नुभयो। मेरो थर पनि सिंह नै हो। तर कसैले सिंह भनेको ठकुरी हो भनेर सोध्दा मैले गर्वका साथ हैन म विश्वकर्मा हुँ भनेकै छु,' उनले भनिन्।
विभेदको डरले आफ्नो वास्तविकता नलुकाएको अनि अहिले सान्त्वना पाउनका लागि आफू कुन समुदायको हो भनेर सार्वजनिक नगरेको उनको तर्क थियो। उनले अहिलेसम्म आफ्नो जात खुलाउनुपर्ने अवस्था नआएकाले सार्वजनिक कार्यक्रममा नभनेको र डान्स च्याम्पियनमा एक प्रतियोगीको प्रस्तुतिपछि आफूले विना कुनै योजना आफ्नो समुदाय खुलाएको उनले बताएकी थिइन्।
दर्पण छाँयाबाट नेपाली रजतपटमा प्रवेश गरेकी निरुताले डान्स च्याम्पियनमा जजहुँदा निकै गाह्रो भएको पनि स्वीकार गरिन्। कार्यक्रम हेर्दा सजिलै होला भन्ने लागेको तर गाह्रो काम भएको उनले खुलाइन्। पछिल्लो समय भारतको मुम्बईमा बस्दै आएकी उनी यही कार्यक्रममा जजको रूपमा काम गर्न नेपाल फर्किएकी हुन्। उनी भारत दार्जिलिङकी नेपाली भाषी हुन्।
पुष २१, २०७८ बुधबार २०:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।